ad ad

समाज


जेलभित्रको सेटिङ : केन्द्रीय कारागारबाट जब सविनको नाममा सूर्यबहादुरलाई छाडियो

अदालतको पत्रले खुल्यो रहस्य
जेलभित्रको सेटिङ : केन्द्रीय कारागारबाट जब सविनको नाममा सूर्यबहादुरलाई छाडियो

सूर्यबहादुर तामाङ र सबिन तामाङ (बायाँबाट क्रमश)


उजिर कार्की
जेठ २७, २०८१ आइतबार १९:४२, काठमाडौँ

केन्द्रीय कारागार सुन्धारामा २०८१ वैशाख ९ गते दिउँसो माइकबाट सविन तामाङको नाम पटकपटक बोलावट भयो। 

जेलभित्रकै खाजा घरमा रहेका सविनले भने सुनेको नसुन्यै गरे। तर क्यारिम बोर्ड खेलिरहेका सूर्यबहादुर तामाङ भने ‘मै हुँ सविन तामाङ’ भन्दै बैदारलाई भेट्न पुगे। 

बैदारले उनलाई सविन तामाङको फाइल दिए। त्यही फाइलअनुसार कारागारमा अभिलेख राखेर सूर्यबहादुर तामाङ त्यसै दिन दिउँसो ४ बजेतिर केन्द्रीय कारागारबाट थुनामुक्त भए। 

सूर्यबहादुर छुटेर घर पुगिसक्दा पनि कारागारका प्रहरी र कर्मचारीले पत्तो पाएका थिएनन्। भोलिपल्ट उच्च अदालत, पाटनले सूर्यबहादुरको मुद्दामा पेसी तोकेको जानकारीको पत्र पुग्यो।

त्यसपछि कारागारभित्र खोजी गर्दा सूर्यबहादुर भेटिएनन्। उनी त अघिल्लै दिन छुटिसकेको थाहा भयो।

यस घटनाले केन्द्रीय कारागारमा खैलाबैला नै मच्चियो।

भएको के थियो भने, अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३, साङ्मेका २२ वर्षीय सविन तामाङसँग ४ हजार रुपैयाँ धरौटी माग गरेको थियो। 

सविन ४ हजार धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि केन्द्रीय कारागारमा पुगेका रहेछन्। उनले बुझाउनुपर्ने धरौटी रसुवाको कालिका गाउँपालिका–५ का ३५ वर्षीय सूर्यबहादुरका परिवारले बुझाए। 

धरौटी बुझाएर सविनको नाममै सूर्यबहादुर छुटेका थिए। तर, जेलभित्रको यो सेटिङ कारागारका कर्मचारी र सुरक्षाकर्मीले भने पत्तै पाएनन्।
उनीहरूले कागज मात्रै हेरेर खुरूखुरू छाडिदिए।

सुन्धाराका जेलर कृष्णबहादुर कट्वाल भन्छन्, ‘हाम्रा कर्मचारीले सोध्दा पनि उनले सबै सविनकै विवरण भनेछन्। तीनपुस्ते विवरण नै जस्ताको तस्तै भनेपछि छाडिदिएका रहेछन्। यसमा हाम्रा कर्मचारीको केही दोष छैन।’

सविनको तर्फबाट धरौटी जम्मा भएपछि जिल्ला प्रशासन कार्यालयले थुनामुक्त गर्न सविन तामाङलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई पत्र पठाएको थियो।

कारागार प्रशासन हुँदै उक्त पत्र नेपाल प्रहरीको अनाश्रित गुल्मलाई पत्राचार भयो। गुल्मले आन्तरिक प्रशासनलाई खबर गरेपछि कर्मचारीले माइकिङ गरेर सविन तामाङलाई बोलाएका थिए। 

४ हजार तिर्न नसकेर कारागार पुगेका सविनलाई आफू छुटेपछि धरौटी बुझाइदिने र उनलाई पनि छुटाइदिने आश्वासन दिएका थिए, सूर्यबहादुरले।

तर सविनको नाममा भने आफू छुट्ने गरी उनले कुरा मिलाइसकेका थिए। सूर्यको कुरामा सविन सहमत भएका थिए। 

कारागारबाट बोलाएपछि निस्कने बेलामा सूर्यबहादुरले लुगा पनि सविनकै लगाएर गएका थिए। कारागार छिचोलेर गएका सूर्यलाई जिल्ला प्रशासन कार्यालयले पनि चिन्न सकेन।

सविन नै ठानेर सूर्यलाई पत्नीको जिम्मा लगाइदियो।

अदालतको पत्र पुगेपछि सूर्यको खोजी 
जिल्ला अदालत, काठमाडौँबाट पुर्पक्षका लागि थुनामा रहेका सूर्यबहादुर तामाङले उच्च अदालत, पाटनमा निवेदन दिएका थिए। आफूले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग उनको थियो।

उच्च अदालत, पाटनमा उनको निवेदनको पेसी थियो, २०८१ वैशाख १३ गते। उक्त पेसीको सूचनाका लागि अदालतले वैशाख ९ गते पठाएको पत्र वैशाख १० गते कारागारमा पुग्यो। 

वैशाख १० गते कार्यालय समयपछि पेसीबारे जानकारी गराउन सूर्यबहादुर तामाङको खोजी सुरू भयो।

तर कारागारमा खोजी गर्दा सूर्यबहादुर त अघिल्लै दिन छुटेर गइसकेको अन्य कैदीबन्दीले जानकारी गराए।

त्यसपछि प्रशासनले कसरी छुटे भनेर अनुसन्धान थाल्यो। अनाश्रित गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापालाई घटनाबारे जानकारी गराएर जतिसक्दो चाँडो उनलाई खोजी गर्न भनियो। 

प्रहरीले खोज्दै जाँदा साला नाता पर्ने नुवाकोटको सूर्यगढी गाउँपालिका–३, सिम्ले घर भई हाल काठमाडौँको बानियाँटारमा बस्ने दीपक तामाङको डेरामा फेला परे। 

वैशाख १० गते राति पौने १२ बजे सूर्यबहादुरलाई प्रहरीले फेला पारेर पक्राउ गर्‍यो। त्यसपछि उनलाई कारगार फर्काएर गोलघरमा राखियो। 

सविनकै नाम लिएर सूर्यलाई भेट्थे आफन्त
कारागारबाट बाहिर निस्कँदा मात्रै होइन, कारागारमा बस्दा पनि सविनलाई भेट्न भन्दै सूर्यका आफन्त पुग्थे। तर उनीहरू सविन भन्दै सूर्यलाई नै भेटेर फर्किन्थे। कारागार प्रशासनले यसबारे पनि केही पत्तो पाएन।

सविनलाई २०८० फागुन १४ गते प्रहरी वृत्त, बालाजुले पक्राउ गरेको थियो। अभद्र व्यबहारको मुद्दामा अनुसन्धान सकेर उनलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो।

जिल्ला प्रशासन कार्यालयले २०८० चैत ७ गते सविनसँग ४ हजार रुपैयाँ धरौटी माग गरेको थियो। तर, सविनले प्रशासनलाई मागेको धरौटी बुझाउन सकेनन्। 

त्यसै दिन उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको थियो। 

उनलाई कारागारको भद्र केन्द्रमा राखिएको थियो। कारागारमा बस्ने क्रममा उनको र सूर्यबहादुर तामाङको चिनजान भयो।

सूर्यले आफूलाई जबरजस्ती करणीको कसुरमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए।

सविनले आफूलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटी माग गरेको र उक्त रकम बुझाउन नसक्दा जेलसम्म आइपुगेको सुनाए। 

सोही कारागारको महिला बन्दीगृहमा आपराधिक उपद्रो गर्न नहुने कसुरमा अदालतबाट माग भएको धरौटी बुझाउन नसकेर दिदी नाता पर्ने माया क्षत्री पनि रहेको सुनाए। 

सूर्यबहादुरले दिदीभाइलाई नै छुटाइदिने प्रलोभन देखाए। दुवै जनाको धरौटी आफूले तिरिदिने बताए। सूर्यबहादुरले सविनका तीनपुस्ते विवरण पनि सोधे। 

जेलभित्र बस्दा सविनलाई खाजा पनि खुवाउँथे र बेलाबेला खर्च पनि सूर्यले दिन्थे। 

‘जेलमा मसँग भएको प्रत्येक दिन मेरो धरौटी तिरिदिन्छु। अनि तिमीलाई निकाल्छु र त्यसको केही समयपछि तिम्रो दिदी मायालाई पनि धरौटी तिरेर निकालिदिन्छु। तिमीले मैले भनेको कुरा सुन्नू र गर्नू’, सविनले बयानका क्रममा सूर्यले आफूसँग भनेका कुरा उद्धृत गर्दै बयानमा टिपाएका छन्। 

कारागारमा सविनलाई भेट्न कोही पनि आउँदैनथे। यो कुरा थाहा पाएपछि सूर्यले सविनको नाम लिएर आफ्ना आफन्त आउने र सविन बनेर आफू भेट्न जाने गरेका थिए। कारागारमा यसरी धेरैपटक सूर्यले आफन्तसँग भेटघाट गरिसकेका थिए। 

आफू र दिदी छुट्ने आसमा सूर्यले भनेअनुसार नै सविनले मानिरहेका थिए। 

सविनको ज्याकेटमा यसरी छुटे सूर्य
२०८१ वैशाख ९ गते सूर्यबहादुरका आफन्तले सविनका नाममा खुलेको जिल्ला प्रशासनको धरौटी रकम ४ हजार बुझाइसकेका रहेछन्। 

त्यसपछि छाड्नका लागि कारागार प्रशासनले सविनलाई माइकिङ गरेर बोलाउँदा पनि उनी कारगारभित्रैको होटलमा बसिरहेका थिए। उनले आफ्नो नाम बोलाउँदा पनि वास्ता गरेनन्। 

सुनी मात्रै रहे। किनभने, पहिल्यै उनको नाममा सूर्यबहादुर छुट्ने सहमति भइसकेको थियो।

माइकिङ गरेर बोलाएपछि सूर्यबहादुरले सविनको ज्याकेट मागेर लगाए। त्यसपछि बैदारसँग कारागारको गेटसम्म पुगे। सबै प्रक्रिया पूरा गरेर दिउँसो ४ बजेतिर उनी जेलमुक्त भएका थिए। 

सूर्यबहादुर तामाङलाई जिल्ला अदालत काठमाडौँले २०८० फागुन २४ गते जबर्जस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। उनी त्यसै दिन केन्द्रीय कारागारको भद्रगृहमा पुगेका थिए। 

उनी जेल परेको दुई हप्तापछि सविन तामाङ पुगे। सविनले आफ्नो कुरा सुनाइसकेपछि सूर्यबहादुर पनि आफू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएको र उच्च अदालतबाट धरौटीमा छुट्न अपिल गरिरहेको बताए। 

आफू छुट्न पाए त्यसको केही दिनमा सविनलाई पनि छुटाइदिने आश्वासन दिएका थिए। सूर्यबहादुरलाई उनकी पत्नीले उच्च अदालतबाट धरौटीमा छुट्ने कुरा बताउँथिन्। 

‘मलाई कारागारमा भेट्न आएको समयमा मैले श्रीमतीलाई मेरो धरौटी खुलेपछि मेरो र मसँगै भित्र बस्ने सविनको पनि ४ हजार रुपैयाँ धरौटी तिरिदिनु भनेको थिएँ’, सूर्यबहादुरले बयानमा भनेका छन्। 

त्यस दिन सविनको नाम बोलाउँदा सूर्यबहादुर क्यारिमबोर्ड खेलिरहेका थिए। सविनको नाम लिएर उनी गेटतर्फ अगाडि बढे।

बैदारले पटकपटक बोलाउँदा पनि नआएको भन्दै गाली गर्दै ४ बजेतिर आन्तरिक प्रशासन (कैदी बन्दीहरूकै) तर्फ लगे। बैदारले उनलाई फाइल दिएर बाहिरी गेटका प्रहरी र कारागारका कर्मचारीको जिम्मा लगाए। 

फाइलअनुसार कर्मचारीले गेटमा अभिलेख राखे। त्यसपछि उनलाई कारागार प्रशासनमा लगियो। कारागार प्रशासनका कर्मचारीले उनलाई नाम र मुद्दा सोधे। 

उनले नाम सविन तामाङ र मुद्दा अभद्र व्यवहारको भनेर जवाफ दिए। त्यसपछि उनलाई कारागारकै गाडीमा जिल्ला प्रशासन लगियो। 

उनी जिल्ला प्रशासनबाट श्रीमतीको साथ बानियाँटारस्थित साला नाता पर्ने दीपक तामाङको डेरामा पुगे। 

तर भोलिपल्ट उनलाई खोज्दै प्रहरी डेरामै पुग्यो र पुनः हत्कडी लगायो। यसअघि कारागारमा सामान्य कैदीबन्दीजस्तै बसेका सूर्यबहादुरलाई यसपछि भने कुख्यात अपराधीलाई राख्ने गोलघरमा राखियो। 

अर्कैको मुद्दामा धरौटी बुझाएर छुटेका सूर्यबहादुरलाई १५ दिनपछि उच्च अदालत, पाटनले आफ्नै मुद्दामा धरौटीमा छाड्ने आदेश दियो।

२०८१ वैशाख २५ गते जबरजस्ती करणीको मुद्दामा उच्च अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। 

तर यस मुद्दामा छुटे पनि प्रहरीले अर्कैको नाममा भागेको मुद्दामा त्यसै दिन प्रहरी वृत्त, जनसेवामा उपस्थित गरायो। 

कारागार प्रशासनले सूर्यबहादुर तामाङ र सविन तामाङलाई बन्दी भागे-भगाएको मुद्दामा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ बमोजिम कारबाही गर्न माग गर्दै जनसेवा प्रहरी वृत्त, न्युरोडको जिम्मा लगायो। 

जेठ ६ गते दायर यस मुद्दामा पनि जिल्ला अदालत काठमाडौँले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .