ad ad

समाज


२० महिनादेखि कठिन जिन्दगी बाँचिरहेकी गौशाला २६ भन्छिन्– न्यायको लडाइँमा थाके पनि हार मानेको छैन

२० महिनादेखि कठिन जिन्दगी बाँचिरहेकी गौशाला २६ भन्छिन्– न्यायको लडाइँमा थाके पनि हार मानेको छैन

गीता चिमोरिया
जेठ १०, २०८१ बिहिबार १९:१६, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि हामीले गौशाला २६ लाई भेट्न चाह्यौँ। काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणीको कसुरमा सन्दीपविरुद्ध तोकेको ८ वर्षको जेल सजाय उच्च अदालतले उल्टाइदिएपछि गौशाला २६ के सोचिरहेकी होलिन्? उनले उच्चको फैसलालाई कसरी लिएकी छिन्? अब उनी न्याय माग्दै सर्वोच्च जान्छिन् कि जान्नन् होला? हाम्रा जिज्ञासा यस्तै थिए। 

हाम्रो आग्रहअनुसार उनी भेटका लागि तयार भइन्। फैसलापछिका केही दिन बित्दै थिए। ललितपुरको कुपण्डोलमा साधारण पहिरनमा उनी हाम्रो अघिल्तिर प्रकट भइन्। कटराइजको प्यान्ट र कुर्ता लगाएकी, स्कार्फले अनुहारसहित पूरै टाउको ढाकेकी, मुखमा मास्क लगाएकी किशोरी। ‘म नै हो गौशाला २६’ अनुसन्धान अधिकृतले दिएको आफ्नो छद्म नामसहित हामीलाई हेर्दै सानो स्वरमा उनी बोलिन्। 

औपचारिक कुराकानीमा प्रवेश गर्नुअघि हामीबीच सामान्य परिचय आदानप्रदान भयो। हामीले पनि आफ्नो परिचय दियौँ। नाम, थर र ठेगाना बतायौँ। उनले पनि आफ्नो वास्तविक परिचय दिइन्। त्यतिन्जेलसम्म उनले टाउकोबाट स्कार्फ र मास्क हटाइसकेकी थिइन्। 

आजभन्दा करिब १९ वर्षअघि वीरगञ्जमा गरिब ब्राम्हण परिवारमा उनको जन्म भएको रहेछ। झण्डै डेढ घण्टाको बसाइमा उनले आफ्नो बाल्यकालदेखि आजसम्मका सम्पूर्ण घटना हामीलाई सुनाइन्। 

आफू ६–७ वर्षकै हुँदा बुवाआमाबीच भएको सम्बन्धविच्छेद, त्यसपछि सौतेनी आमासँग केही वर्ष सँगै बस्दाका दुःख, काठमाडौँमा उच्च शिक्षा पढ्दाका संघर्षमय दिनहरु सम्झिइन्। आफूले अति नै आदर र सम्मानपूर्वक हेर्ने गरेका सेलेब्रिटी खेलाडीबाट किशोराअवस्थामा भोग्नु परेको यौन हिंसा र त्यसविरुद्ध आफूले गरेको विद्रोह र कानुनी लडाइँको बेलिबिस्तार लगाइन्। यसबीचमा उनी पटकपटक भक्कानिइन्, रोइन्, आँसु पुछिन्। यो बसाइमा धेरैपटक हामी सबै एकसाथ भावविह्वल भयौँ। 

गएको २० महिनादेखि गौशाला–२६ जिन्दगीको कठिन समय बाँचिरहेकी छिन्। मानसिक स्वास्थ्य बिग्रिएको छ, हरेक दिन औषधि खान्छिन्।

‘कतिबेला प्यानिक अट्याक आउँछ थाहै हुँदैन। कहिले हिँड्दाहिँड्दै ढल्छु। मेरो मेन्टल हेल्थ एकदमै खराब भएको छ,’ कुराकानीको सुरुवातमै उनले आफ्नो कमजोर शारीरिक तथा मानसिक स्वास्थ्यको संकेत गरिन्। 

फैसला सुनेपछि छुट्यो जाँच
चरम आर्थिक संकट र पारिवारिक विग्रहबीच हुर्किएकी गौशालाको जीवनमा २०७९ भदौको पहिलो साता सोच्दै नसोचेको घटना भयो। त्यही घटनामा न्यायका लागि झन्डै दुई वर्षदेखि लडिरहेकी छिन्, उनी। 

बलात्कारको मुद्दामा दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले गएको पुसमा सन्दीप लामिछानेलाई आठ वर्षको जेल सजाय तोकेको थियो। तर, जिल्ला अदालतको त्यो फैसला उल्ट्याएर उच्च अदालत पाटनले यही जेठ २ गते लामिछानेलाई सफाइ दिने निर्णय सुनाएको छ।

विगत लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गौशाला–२६ ले आफ्नो ‘लिगल टिम’ मार्फत् यो फैसलाबारे थाहा पाइन्।

स्नातक तह पहिलो सेमेस्टरको जाँच दिइरहेकी गौशालाले फैसलाबारे थाहा पाएपछि जाँचलाई निरन्तरता दिन सकिनन्। त्यसपछि उनको कलेज जानसक्ने अवस्था रहेन। बाँकी परीक्षा त्यसै छुट्यो।  

उच्च अदालतको यो फैसलालाई उनले सहज रुपमा लिन सकेकी छैनन्। न्यायको लडाइँमा थप पीडा हुने खालको फैसला उच्च अदालतबाट आउँछ भन्ने उनले सोचेकी पनि थिइनन्। गम्भीर र संवेदनशील विषयलाई न्यायालय र न्यायाधीशहरूले अत्यन्तै हल्का रुपमा लिएर सन्दीपलाई सफाइ दिएको उनको ठम्याइ छ। 

हुन त कानुनी लडाँइको यो २० महिनामा गौशालाले थुप्रै बलमिच्याइँ सहेकी छन्। उच्च अदालतले सन्दीपलाई सफाइ दिए पनि पूर्णपाठ नआइसकेकाले के आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दियो, भन्न सक्ने अवस्था छैन। तर, उच्चको अहिलेको फैसला त्यही बल मिच्याइँको अर्को शृंखला हो जस्तो लाग्छ उनलाई।

आफूमाथि भएको जबर्जस्ती करणीको उजुरी लिएर उनी पहिलोपटक गौशाला प्रहरी कार्यालयमा जाँदा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। 

त्यसअघि उनले सन्दीप लामिछानेले गरेको जबर्जस्ती करणीको घटना आफूनिकटका केही साथीलाई सुनाइन्। त्यसविरुद्ध आफू प्रहरीमा जान चाहेको बताइन्। 

तर, उनका साथीहरुले ‘यस्तो केसमा तँ जित्दिनस्, बेकारमा टेन्सन नगर’ भनेर हतोत्साहित बनाउने प्रयास गरे। ‘प्रहरीले अनुसन्धान नै ठिकसँग गर्दैन। तैँले धेरै अप्ठ्यारो अवस्था बेहोर्नुपर्छ। प्रहरीमा नजा। जे भयो, सकियो। चुप लागेर बस्’ भन्नेहरु धेरै थिए। 

केहीले उनलाई भने, ‘मलाई सन्दीप लामिछानेले जबर्जस्ती करणी गर्‍यो भनेर तैँले प्रहरीलाई सुनाइस् भने ‘नानी तिमी सानै छौ, कुरा बुझ्दिनौ, पानी पुरी, चटपटे खाएर घर जाऊ’ भन्दै प्रहरीले कुरै नसुनी फर्कादिन्छ।’

तर, उनले हिम्मत गरिन्। सन्दीपले आफूमाथि गरेको अपराध, त्यसले आफ्नो मनमा पारेको चोटलाई लुकाएर, दबाएर राख्न चाहिनन्। लामिछानेविरुद्ध प्रहरीमा उजुरी गर्ने निष्कर्षमा पुगिन्।

उनको उजुरी दर्ता भएपछि क्यानले लामिछानेलाई निलम्बन गर्‍यो। तर, लामिछाने तुरुन्तै नेपाल नफर्किएपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गर्‍यो। त्यसपछि लामिछाने नेपाल फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै लामिछाने पक्राउ पर्दा उनले न्यायको लडाइँमा थोरै भए पनि आफ्नो जित भएको महसुस गरिन्।

काठमाडौँ जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो। जिल्लाको आदेशविरुद्ध लामिछाने उच्चमा पुनरावेदन गर्न गए। उच्चले २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गर्‍यो। विदेश जान नपाउने, काठमाडौँ उपत्यका छोड्न परे प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्पर्क गर्न नपाउने लगायतका सर्त राखेर उच्चले यो फैसला गरेको थियो। 

उच्चको यो फैसलापछि महान्याधिवक्ताको कार्यालय लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च पुग्यो। लामिछानेले पनि क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दिए। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै लामिछानेलाई विदेश जाने अनुमति दियो। 

न्यायको सिद्धान्तले कुनै पनि व्यक्ति कुनै पद, पेसा वा पावरमा हुँदैमा विशेष व्यवस्था गर्ने छुट दिँदैन। तर, न्यायाधीशहरू प्रधान र चुडालले लामिछानेलाई त्यो व्यवस्था गरिदिए। मुद्दाको विवाद बलात्कार भएको हो कि होइन भन्ने थियो। तर, धेरैजसो न्यायाधीशले किशोरीको जन्म मितिसम्बन्धी कागज मगाउँदै मुद्दा पन्छाउँदै गए। 

कतिपयले समय हुँदाहुँदै पनि हेर्न नभ्याइने भने। कतिपयले बहसै सुनिसकेपछि पनि हेर्न नभ्याइने भनेर पन्छाए। अनि कतिपयले सरकारी वकिललाई स्थगित गर्न समेत लगाए। लामिछानेको निवेदनको आधारमा महिनौँ पेसी नतोकी तारेख लम्ब्याइयो। अदालतले अन्य अभियुक्तलाई नदिने विशेष सुविधा लामिछानेलाई दिँदै गयो। 

गौशाला २६ प्रश्न गर्छिन्, ‘के मजस्तो पैसा र पावर नहुनेहरू पीडित भएको मुद्दामा अदालतले सबैलाई यस्तै गर्छ? कि न्याय माग्न जाने हरेक पीडितसँग टन्न पैसा हुनुपर्ने हो? पैसा र पहुँच भए मात्रै यो राज्यमा न्याय पाइने हो?’ 

जाहेरी दिने समयमा न्याय प्रक्रिया र न्यायालयबारे धेरै नबुझेकी गौशालाले यसबीचमा धेरै कुरा थाहा पाइन्। कानुनी लडाइँको बाटो कति कठिन छ भन्ने बुझिन्, भोगिन्। धम्की र प्रलोभनहरू सहिन्। न्यायको यो लडाइँ लड्दै गर्दा उनको मनबाट न्यायालयप्रतिको सम्मान विस्तारै घट्दै गएको छ। न्यायालयप्रति प्रश्नहरू बढ्न थालेका छन्।

खण्डित परिवार, कष्टकर बाल्यकाल
आम बालबालिकाले बाँचेको भन्दा निकै फरक थियो गौशाला २६ को बाल्यकाल। कक्षा तीनसम्म काठमाडौँमा पढेकी उनी पारिवारिक समस्याले गर्दा त्यसपछि गाउँमा गएर पढ्न थालिन्। 

नुवाकोटको दुर्गम गाउँ। त्यही गाउँको एउटा सरकारी स्कुल, जहाँ विद्यार्थीका लागि आवश्यक आधारभूत सुविधासमेत उपलब्ध थिएनन्। पढ्नका लागि उनले गाउँमै संघर्ष गरिन्। 

‘अक्करे भीरको बाटो हुँदै स्कुल जानुपर्थ्यो। स्कुल जाँदा खुट्टो खुस्कियो भने भीरबाट खसेर ज्यान जान सक्थ्यो,’ बाल्यकालमा आफूले भोगेका संघर्षका दिन सम्झिँदै उनी बोलिन्।

आफूलाई चाहिएको केही सामान किन्नपर्दा गाउँमा एउटा किराना पसलसमेत थिएन। ४०–४५ मिनेट हिँडेपछि बल्ल पसल भएको ठाउँमा पुगिन्थ्यो। तर, यी सबै प्रतिकूलताका बाबजुद सानैदेखि उनी पढ्नमा अब्बल थिइन्। उनी कतिपय दिन भोकै विद्यालय गइन्। तर, पढाइलाई कमजोर बन्न दिइनन्। जसको कारण पढाइमा कहिल्यै उनले पछाडि फर्केर हेर्नुपरेन। 

काठमाडौँमा तीन कक्षासम्म पढेर गाउँ गएकी उनी कक्षा टपेर पाँचमा भर्ना भइन्। पढाइमा मेधावी भएकै कारण कहिल्यै उनले स्कुलमा फिस तिर्नु परेन। उल्टै पुरस्कारहरू जितेर ल्याउँथिन्। पढाइमा मात्रै होइन, अतिरिक्त क्रियाकलापमासमेत उत्तिकै सक्रिय थिइन् उनी। 

कक्षा ६ मा पढ्दै गर्दा बुवाआमा छुट्टिए। उनका बुवाआमाको विवाहलाई घर, मावल कतैबाट पनि स्वीकारिएको थिएन। पतिसँग सम्बन्ध विच्छेदपछि आमाले घर छाडिन्। ८–१० वर्ष उमेरका उनी र उनका दाजु टुहुरा जस्ता भए। 

त्यसको केही दिनमै बुवाले अर्को विवाह गरे। कान्छी आमा (सौतनी आमा) घरमा भित्रिइन्। कक्षा ८ पढ्दासम्म बुवा र सौतेनी आमासँग जसोतसो बसिन्। कान्छी आमासँगको सम्बन्ध राम्रो हुन छाड्यो।

‘म स्कुल जाने बेला भएपछि कहिले जुत्ता लुकाइदिने, कहिले स्कुलका ड्रेस लुकाइदिने गर्नुहुन्थ्यो,’ उनले कलिलै अवस्थामा सौतेनी आमाबाट भोगेको दुःखको बेलिविस्तार लगाइन्। 

त्यसपछि कान्छीआमासँग बस्न नसकिने निष्कर्षमा उनी पुगिन्। दाजुलाई घरमै छाडेर उनी आफ्नी आमासँग पोखरा गइन्। 

‘बुवासँग सम्बन्धविच्छेद गरेपछि आमा पोखरा नजिकैको कुनै गाउँमा काम गरेर बस्न थाल्नु भएको थियो,’ उनले भनिन्, ‘म पनि आमासँगै बस्न थालेँ।’ 

कक्षा ९ र १० उनले कास्की जिल्लामै पढिन्। आमा गाउँको कुनै एउटा घरमा काम गर्थिन्। उनले पनि घरको काममा आमालाई सघाउँदै पढिन्। एसईईसम्मको पढाइ यसैगरी सकियो। राम्रो नम्बर ल्याएर उनले एसईई उत्तीर्ण गरिन्। 

सीए पढ्ने सपनामा भाँडा माझ्दै पढ्दै
त्यसपछि थप पढ्का लागि काठमाडौँ आइन्। उनले पढेर चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने सपना बुनेकी थिइन्। पढाइ राम्रो भएकै कारण उनले काठमाडौँको नाम चलेकै प्राइभेट कलेजमा भर्ना पाइन्। सुरुको केही समय काठमाडौँमा एकजना आफन्तको घरमा बसिन्। घरको काम सघाउने सर्तमा त्यहाँ बस्न पाएकी थिइन्। तर, त्यहाँ पनि लामो समय बस्ने वातावरण भएन। 

त्यसपछि उनी गर्ल्स होस्टलमा बस्न थालिन्। होस्टेलको शुल्क तिर्ने पैसा थिएन। तर, उनलाई जसरी पनि उच्च शिक्षा पढ्नु थियो। त्यहीबेला होस्टेलमा एकजना काम गर्ने सहयोगी चाहिएको कुरा होस्टेल सञ्चालकले गरे। खाना पकाउने, भाँडा माझ्ने काम गरे निःशुल्क बस्न पाउने भनेपछि उनी होस्टलको काममा सघाउँदै त्यहीँ बसेर पढ्न तयार भइन्। 

उनी साँझबिहान होस्टेलमा काम गर्थिन् र दिउँसो पढ्न जान्थिन्। भाँडा माझ्ने र अन्य सफाइको काम सक्दा राति अबेला भइसकेको हुन्थ्यो। होस्टलको काम र पढाइले थाकेको शरीरले आराम खोज्थ्यो। तर, उनको कलिलो मस्तिष्कमा ‘मैले पढेर केही गर्नुछ’ भन्ने परेको थियो। निद्रा लागे पनि उनी त्यसपछि पनि पढ्न बस्थिन्, मध्यराति। 

होस्टेलमा सुरुमा १४–१५ जना मात्रै विद्यार्थी थिए। पछि होस्टलमा विद्यार्थीको संख्या बढ्दै गयो। २८–३० जनाजति विद्यार्थी भए। कामको प्रेसर बढ्यो। आफ्नै उमेरका, आफूसँगै पढ्ने साथीहरुले खाएका भाँडा माझ्दै, उनीहरुलाई खाना बनाउने काम गर्दै कलेज गइरहिन्।

यसबीचमा उनी बिरामी परिन्। होस्टलमा धेरै जनाका भाँडा माझ्न र खाना पकाउन नसक्ने भएपछि उनले बाहिर काम खोजिन्। एउटा कम्प्युटर इन्स्टिट्युटमा काम पाइन्। काम गर्दै पढ्न थालिन्। जीवनले अर्को लय समात्यो। दुःख, सुख जिन्दगी चल्दै थियो। बुवा र सौतेनी आमाकहाँ आउजाउ थिएन। तर, टाढै भए पनि आफूलाई औधी माया गर्ने आमा थिइन्। आमाले उनका हरेक पीडामा शब्दको मल्हम लगाइदिन्थिन्। 

‘सेटल्ड लाइफ होइन, न्याय चाहियो’
उनको जिन्दगीमा संघर्ष त पहिल्यैदेखि थियो। तर फरक यत्ति हो, पहिले आफ्नो कमजोर आर्थिक अवस्थासँग मात्रै जुध्नु पर्थ्यो। पारिवारिक बेमेलको यातना मात्रै भोग्नु पथ्र्यो। तर अहिले उनले भीडसँग जुध्नु परेको छ। न्यायको लागि आवाज उठाउँदा उल्टै लाञ्छना सहनु परेको छ।

‘यहाँ हरेक मान्छेलाई म पीडित हुँ भनेर स्पष्टीकरण दिँदै हिँड्न त सकिँदैन नि,’ उनी भन्छिन्, ‘जहाँ भन्नुपर्ने हो, त्यहाँ मैले भनेकी छु। बयान दिएकी छु। भएका प्रमाणहरू पेस गरेको छु। मेरो लिगल टिमले गर्नुपर्ने काम गरिरहेको छ। न्याय दिने व्यक्तिहरूले पनि त सोच्नुहोला नि!’  

बन्द इजलासमा न्यायाधीशले सन्दीपलाई सामाजिक सञ्जालमार्फत् आफ्नो पक्षमा क्याम्पेन नगर्न भनेका थिए। तर, अदालतले जे जे नगर्नु भनेको थियो, त्यो परिधिभित्र सन्दीप बसेनन्। 

‘अपराधी आफ्नो पक्षमा क्याम्पेन गरिरहँदा पनि अदालत केही भन्दैन। एउटा जमात अरु केही नसोची उसको पछि दौडिएको छ,’ उनी प्रश्न गर्छिन्, ‘खेलाडी, सेलेब्रिटी हुनेबित्तिकै उसले जे जे गर्न पनि पाउने हो? जस्तासुकै अपराध गरे पनि उसलाई छुट हुने हो?’ 

यसबीचमा पनि सन्दीपले आफूलाई मुद्दा फिर्ता लिन फकाएको, धम्क्याएका धेरै म्यासेज आफूसँग सुरक्षित रहेको उनले बताइन्। 

यस बीचमा कहिले मुद्दा फिर्ता लिए ‘सेटल लाइफ’ बनाइदिने प्रलोभन सन्दीपले उनलाई दिए। कहिले विदेश पढ्न जान पाउँछेस् भन्ने अफर गरे। परिवारलाई आर्थिक सहयोग गर्ने प्रस्ताव ल्याए। आमालाई फोन गरेर फकाए, धम्क्याए। अदालतमा जाहेरी दिएपछि उनलाई यस्ता थुप्रै खालका प्रलोभन र धम्की आए। 

‘कहिले इमोसनल ब्ल्याकमेल, कहिले थ्रेट!’ उनी भन्छिन्।

पैसाको लागि फसाएको भन्नेहरूलाई गौशालाको प्रश्न छ, ‘यदि म पैसाको लागि यसो गर्थें भनेँ किन उसका सबै प्रलोभन अस्वीकार गरेर न्यायका लागि लडिरहन्थेँ?’ 

उनलाई घर वा व्यवस्थित जीवन चाहिएको छैन। उनलाई न्याय चाहिएको छ। 

‘म सुखै सुखमा हुर्केको मान्छे होइन। मेरो वास्तविक धरातल मैले भुलेकी छैन। म कहाँबाट आएको भन्ने थाहा छ। मेरो परिवारको अवस्था, मेरो हुर्काइ, मेरो सामाजिक, आर्थिक अवस्थासँग म जानकार छु,’ उनी अगाडि भन्छिन्, ‘मविरुद्ध अपराध गर्नेका विभिन्न अवस्थासँग पनि म जानकार छु। त्यो जति नै शक्तिशाली, सेलेब्रिटी र सम्पत्तिवाल भए पनि त्यो व्यक्ति अपराधी हो, यसले ममाथि अपराध गर्‍यो भनेर बोल्नु नै मेरो जित हो जस्तो लाग्छ।’

तर, उच्च अदालतको फैसलापछि उनलाई लाग्न थालेको छ, ‘जसको आवाज चर्को छ, उसकै आवाज त सुनिँदो रहेछ।’

फेरि उनी आफैँलाई सम्झाउँछिन्, ‘चर्को बोल्दैमा असत्य कुरो सत्यमा बदलिँदैन। भीडले भन्दैमा गलत कुरा सही हुँदैन। त्यही भएर म पछाडि हट्न हुँदैन।’ 

‘यो घटनामा त पीडित जीवित नै छ। म जीवित नै छु नि। म अहिले पनि तपाईंहरुसँग यसरी बोल्नसक्ने अवस्थामा छु। न्यायालय धाइरहेकी छु। कतिपय त्यस्ता घटना पनि छन्, जसमा पीडितको शरीर नै मारिएको पनि छ। मारेर फालिएको छ नि,’ उनले थपिन्।

‘भीडमा गएर चिच्याउन मन छ– मै हो गौशाला २६!’
जेठको यो चर्को घाममा पनि उनी पूरै अनुहार छोप्ने गरेर स्कार्फ र मास्क लगाएर कोठा बाहिर निस्किन्छिन्।  

‘हेर्नुस् त, आफूमाथि भएको अपराधको विरुद्धमा बोल्दा उल्टै लुकेर हिँड्नु परेको छ। अनुहार ढाकेर हिँड्नु परेको छ। अपराधी आफ्नो पक्षमा क्याम्पेन गरिरहेको छ। कस्तो खालको समाज हो यो?’ उनी प्रश्न गर्छिन्। 

अनुहार पाछ्ने त्यो स्कार्फ जतिबेलै लगाएर हिँड्न मन छैन उनलाई। गौशाला २६ भनेको को हो? उसलाई किन लुकाएको भन्नेहरु पनि धेरैछन्। त्यसो भन्नेहरूको भीडमा गएर ठूलो स्वरले चिच्याएर उनलाई भन्न मन छ, ‘मै हो गौशाला २६, मै हो अपराधको विरुद्धमा बोल्ने किशोरी, मै हो पैसा र पावरको बलमा अन्यायको उत्सव मनाउनेहरूलाई कारबाही हुनुपर्छ भन्ने मान्छे।’ 

उनको प्रश्न छ, ‘के मेरो सुरक्षाको ग्यारेन्टी यो समाजले, यो राज्यले गरिदिन सक्छ?’ 

पटकपटक ज्यानको धम्की व्यहोरेकी उनी त्यो भीडमा सार्वजनिक भए अवस्था कस्तो होला? कल्पना गर्नसमेत सक्दिनन्। अझै केही समय यसरी नै लड्नु छ उनलाई। तर उनी सधैँ आफ्नो परिचय लुकाएर बस्न भने चाहँदिनन्। 

उनको पनि आफ्नै नाम छ, आफ्नै परिचय र सपनाहरु छन्। ‘एक दिन पक्कै म आफ्नो पुरानो परिचयमा फर्कन पाउँछु। पक्कै फर्कन सक्छु। सर्वोच्चबाट न्याय पनि पाउँछु कि,’ दृढ संकल्पसहित उनले आशाको स्वर बोलिन्।

अहिले भने उनलाई आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नु छ। विगत केही समयदेखि उनी सामाजिक सञ्जालमा छैनन्। सामाजिक सञ्जाल चलाउँदिनन्।

‘अहिले मलाई कसैको विचारसँग सहमत वा असहमत हुनु छैन। कसैलाई स्पष्टीकरण दिनु पनि मैले जरुरी ठानेको छैन। भीडसँग जुध्न जानु पनि छैन,’ उनी भन्छिन्, ‘अब मैले जतिसक्दो धेरै मेरो मानसिक स्वास्थ्यमा ध्यान दिनु छ। यस बीचमा मेरो मेन्टल हेल्थ तहसनहस नै भएको छ। त्यसलाई मैले पुरानै अवस्थामा फर्काउनु छ। त्यसपछि जीवनको लय समात्नु छ। अर्को भनेको मलाई अब आफ्नो पढाईमा केन्द्रित हुनु छ।’

निकै बौद्धिक ढंगले आफ्ना कुरा राख्न सक्ने उनी पढाइमा पनि अब्बल छिन्। कक्षा १२ उत्तीर्ण गर्दा उनले पाएको अंकले नै त्यो पुष्टि गरिसकेको छ। 

मानसिक स्वास्थ्य राम्रो भयो भने आफूलाई राम्रोसँग अगाडि बढाउन सकिन्छ भन्ने उनलाई लागेको छ। 

‘हार्ने छुट छैन’
कतिपय मान्छे प्रश्न गर्छन्, ‘घटनालगत्तै किन उजुरी नदिएको?’ 

उनी भन्छिन्, ‘जो मान्छे यस्तो अपराधबाट पीडित भएको छ, उसले मात्रै बुझ्न सक्छ त्यो बेला शारीरिक/मानसिक अवस्था कस्तो हुन्छ भनेर। हिंसामा नपरेकाले त्यो अवस्थालाई बुझ्न सक्दैनन्। महसुस गर्न सक्दैनन्। किन ढिलो उजुरी दिएको भन्नेलाई म अहिले यत्ति मात्रै भन्छु।’ 

घटनाको केही दिनसम्म उनले आफूमाथि भएको यौन हिंसाको कुरा कसलाई भन्ने, के गर्ने भनेर निर्णय गर्नै सकिनन्। केही दिनपछि कक्षा १२ मा कानुन पढ्ने आफ्नो साथीलाई सुनाइन्। साथी मार्फत् कानुन पढाउने शिक्षकको नम्बर पाइन् र सल्लाह गरिन्। 

‘एकजना साथी यस्तो पीडामा परेको छ, पीडक अलि पावरफुल छ’ भनेर पीडकको नाम नभनीकन अरु केही साथीसँग पनि सल्लाह गरिन्। पीडक शक्तिशाली भएको कुरा सुनेपछि साथीले पनि न्याय पाउन कठिन हुने कुरा सुनाए। यस्तैमा केही दिनहरु बिते। ननिदाई रातहरु बिते।

मनको चैन हराउँदै गएपछि उनलाई लाग्यो, ‘पीडक शक्तिशाली छ भनेर म नबोली बसेँ भने भोली यस्तै अपराधबाट अर्को कोही पीडित हुन्छ। त्यो बेला उसले न्याय माग्यो भने म पश्चातापमा पर्छु। आफूमाथि अत्याचार हुँदा म किन बोलिनँ भनेर मलाई ग्लानि हुन्छ। आफूमाथि भएको बलात्कारविरुद्ध उजुरी नगरे पश्चाताप हुने उनलाई लाग्यो। 

‘त्यो पश्चातापले मलाई जुनसुकै निर्णय गर्नसक्ने पनि बनाउन सक्थ्यो। त्यसपछि नबोलेर हार्नुभन्दा न्यायका लागि आवाज उठाउँछु भन्ने निष्कर्षमा म पुगेको हुँ,’ उनले भनिन्।

यस्तो सोच आएपछि उनले आफूमाथि भएको अपराधविरुद्ध लड्ने निर्णय गरिन् र जाहेरी लिएर गौशाला प्रहरीमा पुगिन्। 

‘यो मुद्दा कहिल्यै पनि मैले व्यक्तिगत जितको लागि लडेको होइन। यो मुद्दा एकदमै महत्वपूर्ण रुपमा लड्नुपर्ने मुद्दा थियो। जसले समाजमा धेरै किसिमको सन्देश दिन सक्थ्यो। त्यो सन्देश दिनु नै मैले यो मुद्दा लड्नुको उद्देश्य थियो। मैले एउटा तहसम्म त्यो पूरा गरेकी छु जस्तो लाग्छ,’ आत्मविश्वाससहित उनी बोलिन्। 

गौशाला २६ को यो मुद्दा केही समयपछि अब सर्वोच्च अदालत पुग्ने छ। उनलाई आशा छ, सर्वोच्च अदालतले पक्कै न्याय दिन्छ। 

‘यो मुद्दामा पीडित हार्नु भनेको सिङ्गो समाज हार्नु हो। न्याय प्रक्रिया हार्नु हो। न्यायका लागि बोल्नेहरू हार्नु हो। आवाज मसिनो हुनेहरू हार्नु हो। पैसा र पावर नभएकाहरू हार्नु हो। अपराधीले जित्नु हो,’ उनी भन्छिन्, ‘त्यसैले मैले न्यायका लागि लड्न छोड्नु हुँदैन। पछि हट्ने विकल्प मलाई छैन। त्यो माइन्डसेटले मुद्दा दर्ता गरेको पनि होइन।’ 

अपराध विरुद्ध आवाज उठाउँदा उनीमाथि यो समाजले, भीडले थुप्रै लाञ्छनाहरू लगाएका छन्। धम्क्याइएको छ, प्रलोभन देखाएको छ। तर, उनी डगमगाएकी छैनन्।

‘मलाई निरुत्साहित गर्न हरसम्भव प्रयास भएका छन्। यी सबैखाले हर्कतबाट म थाकेको छु तर, हार मानेको छैन,’ उनले भनिन्, ‘मलाई हार्ने छुट नै छैन। अन्तिम समयसम्म न्यायका लागि लडिरहन्छु। मैले मजस्तै अरु, जो यसरी आवाज उठाउन सकिरहेका छैनन्, उनीहरूको खातिर पनि लड्नु छ।’ 

यो कठिन लडाइँ लड्दै गर्दा अब गौशालाको सपना बदलिएको छ। उनी अब सीए बन्न चाहन्नन्। राम्रो विश्वविद्यालयमा कानुन पढेर अपराधको विरुद्धमा लड्न चाहन्छिन्। बोल्न नसक्नेहरूको लागि आवाज उठाउन चाहन्छिन्। भविष्यमा उनी पीडितलाई न्याय दिने ठाउँमा पुग्न चाहन्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .