ad ad

समाज


वीर अस्पतालको अनुगमनमा जे देखियो...

वीर अस्पतालको अनुगमनमा जे देखियो...

बुधबार वीर अस्पताल अनुगमनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव।


नेपालखबर
जेठ १०, २०८१ बिहिबार ६:४०, काठमाडौँ

चर्कँदो गर्मी र थामिनसक्नुको भीड। औषधिको पुर्जी लिएर वीर अस्पतालको फार्मेसीअगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरीले अनुहारको पसिना पुछ्दै थिइन्। 

‘लाइनमा बसेको एकघण्टा भयो होला, खोइ पालो आउँदैन’, उनले भनिन्, ‘स्वास्थ्य बिमाबाट सुविधा पनि यहाँ नपाएर बाहिर किन्नुपर्ने अवस्था आउँछ।’ एक घण्टा जति लाइनमा बसेपनि उनले औषधि पाइनन्।  उनी मन खिन्न बनाउँदै बाहिरको निजी फार्मेसीतर्फ लागिन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले बुधबार वीर अस्पतालमा अनुगमन गर्दाको दृश्य हो यो। अनुगमनका क्रममा सर्वसाधारणका गुनासा सुन्न उनी त्यहाँ पुगेका थिए। सर्वसाधारणले फार्मेसीमा पसलमा औषधि नभएको पीडा पोख्दै थिए। मन्त्री यादवसामु धेरै सर्वसाधारणले स्वास्थ्य बिमा व्यवस्थित हुन नसकेको गुनासो गरे। 

स्याङ्जाका चिन्तानारायण खनालले पनि मन्त्रीसामु बिमाको भुक्तानी पाउन पाँच दिन लगातार धाएको सुनाए। घन्टौँ लाइन बस्दा पनि अन्तिममा ‘सिस्टम’ बिग्रेको भन्दै घर पठाउने गरेको गुनासो उनले गरे।

उनले भने, ‘प्रशासनमा गएर कराएपछि तुरुन्तै सिस्टम बन्यो र आज औषधि पाइयो, यो त हामीमाथि गरिएको ज्याजति भएन र!’ अस्पतालमा स्वास्थ्य बिमासम्बन्धी कुनै पनि छुट्टै डेस्क छैन। त्यसले गर्दा बिरामीले सहजै प्रक्रियामा आउन कठिन भएको सेवाग्राहीले बताए।

चिन्तानारायणले ८४ वर्षकी आमालाई उपचार गर्न अस्पताल ल्याएका थिए। स्वास्थ्य बिमाको भुक्तानी सहजै नहुँदा उनले वृद्ध आमा बोक्दै भौतारिनु परेको सुनाए। 

अछामबाट उपचारका लागि वीर अस्पताल उपचार गर्न आएका भुवन सिंहले बिहान ८ बजेदेखि टिकट लिएर बसे पनि दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गरे। पालो कुर्दाकुर्दै दिन अस्पतालमै दिन बितेको गुनासो उनले गरे। 

मन्त्री यादवसँग उनले प्रत्यक्ष गुनासो राखे। मन्त्री यादवसँग कुरा राखेपछि उनले आठ घण्टापछि डाक्टरलाई भेट्न पाए।

मन्त्री यादवसँगै सेवाग्राहीको गुनासो सुनिरहेका अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतले सेवाग्राहीका गुनासो सम्बोधनका लागि आफूहरू लागिपरेको बताउँदै आगामी दिनमा अझ सुधार गर्ने प्रतिबद्धता जनाए।

‘विदेशमा डाक्टर भेट्न महिनौँ कुर्नुपर्छ, यहाँ आठ घन्टामै पाउनुभयो’, उनले भने। उपकुलपतिको जवाफ सुनेपछि मन्त्री यादवले सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन निर्देशन दिए। 

त्यसपछि अनुगमन टोली आकस्मिक कक्ष पुग्यो। त्यहाँ एउटै शय्यामा दुई जना बिरामीले उपचार लिइरहेको अवस्था थियो।

सर्लाहीकी शोभा बुढाथोकीले रुँदै मन्त्री यादवसमक्ष गुनासो गरिन्। शय्यामा प्यारलाइसिस भएकी दिदीलाई तुरुन्तै सघन उपचार कक्षको आवश्यकता परेकाले समस्या समाधान गरिदिन उनले अनुरोध गरिन्। 

‘आर्थिक स्थिति बलियो छैन, सर्लाहीबाट काठमाडौँ उपचार गर्न आएको आईसीयू खाली छैन’, उनले भनिन्, ‘महँगो अस्पतालमा जाने अवस्था छैन।’

अस्पतालको सघन उपचार कक्ष, अकस्मिक कक्ष, ओपिडीलगायत सबै क्षेत्रमा मन्त्रीले अनुगमन गर्दा स्थिति नाजुक देखियो। बिरामीको चाप बढ्दै गएपछि एउटा कक्षा सञ्चालन गर्ने कोठा खाली गराएर ओपीडी सञ्चालन गर्न लागिएको उपकुलपति डा बस्नेतले बताए। 

आकस्मिक कक्षमा चार वटा सघन उपचार कक्ष छन्। नर्सिङ जनशक्ति नहुँदा सबै सञ्चालनमा आएका छैनन्। स्वास्थ्य निमयअनुसार एउटा शय्यामा एक नर्स हुनुपर्ने हो। तर जनशक्तिको अभावले आकस्मिक कक्षभर दुई जना नर्सको भरमा धानिनुपरेको आकस्मिक कक्ष प्रमुख डा सुरेश नेपालले बताए। 

उनका अनुसार वीर अस्पतालमा कम्तीमा १२ जना चिकित्सक हुनुपर्छ। तर हाल चार जना चिकित्सकले मात्रै सेवा दिइरहेका छन्। चार जना चिकित्सकले अस्पतालको आठ वटा विभाग हेर्नुपर्ने अर्को बाध्यता छ। त्यस्तै अस्पतालमा बिरामीको चाप बढेर दैनिक दुईदेखि तीन हजार पुगेको छ। जनशक्ति नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा पाउन सम्भव नभएको डा नेपालले बताए। 

वीर अस्पतालको औषधि पसलमा सेवाग्राहीले घन्टौँ लाइन लागेर बस्नुपर्ने, स्वास्थ्य बिमामा तोकिएको औषधि नपाइनेजस्ता समस्या भोगिरहेको बताए। अनुगमनपछि भने उपकुलपतिले स्वास्थ्य बिमाको औषधि व्यवस्थापन छिट्टै हुने बताए।

अस्पतालका उपकुलपति बस्नेतले भने स्वास्थ्य बिमासम्बन्धी औषधि अभाव भएको स्वीकार गर्दै अबको दुई साताभित्र औषधिको पूर्ति गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .