समाज


मटिहानीका आगलागी पीडितको गुनासो : प्रदेश र संघ सरकारले बेवास्ता गरे

बास र भोजनकै समस्या
मटिहानीका आगलागी पीडितको गुनासो : प्रदेश र संघ सरकारले बेवास्ता गरे

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १६:१६, काठमाडौँ

महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागीबाट पीडित स्थानीयहरूले नागरिहरूप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

उनीहरूले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडो भन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए। नागरिकहरू आगलागीबाट पीडित बन्दापनि प्रदेश र संघ सरकारले कुनैपनि राहतको घोषणा नगर्नु दुःखको कुरा भएको बताए।

गत बुधवार महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए। मध्यान्ह १२ बजे सल्केको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो।

आगलागीबाट घरबारविहीन भएकाहरू त्रिपालमुनि रात काट्न बाध्य छन्। उनीहरू गर्मी समयमा घरभित्रै बस्नुपर्ने बेलामा घाममा बस्नुपरेको र यसले अन्य रोगको जोखिम बढाउनेमा चिन्तित छन्। साथै प्रदेश र संघ सरकारले आगलागी पीडितका लागि राहत घोषणा नगर्दा राज्य छ भन्ने महशुस गर्न नसकेको बताए।

आगलागी भएको बस्तीमा अवलोकन एवं निरीक्षणका लागि पुगेका नेपाली कांग्रेससा सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघीय सरकारले चाँडो भन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा बेखबर भएको बताए। उनले जनताको दुःखमा सरकार बेखबर हुनु दुःखद् कुरा भएको बताए। उनले प्रदेश र संघ सरकारले कुनै राहत घोषणा नगरेको बताए।

आगलागी पीडित फूलदेवी पासवानले आगोका कारण सबै जलेर नष्ट भएको र लगाउने कपडा र खानेकुरा केही नरहेको बताइन्। उनले आगलागी कारण आफूले पालिरहेको गाई मरेको र अन्य केही नबचेको बताइन्।

त्यस्तै अर्का आगलागी पीडित मोहम्मद शेखले गर्मीको समयमा त्रिपाल टाँगेर बस्नुपरेको र यसले बालबालिकाहरूमा रोगको जोखिम बढाउने बताए। उनले खानेकुराहरूको पनि अभाव हुँदै गएको र सरकारले चासो नदेखाएको गुनासो गरे।

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागी भएको दिनदेखि नै पीडित परिवारलाई राहत उपलब्ध गराउन लागिपरेको बताए।

उनले नगरपालिकाले चिउरा, चिनी, त्रिपाल, बाल्टिन र जग उपलब्ध गराएको बताए। उनले बाल्टिन र जग नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको र बिस्कुट र आँटा लगायतका खानेकुराहरू वितरण गरिरहेको बताए।

पीडितलाई तत्काल पर्ने हरेक किसिमका सहयोग उपलब्ध गराइरहेको बताए। चामल, दाल र पैसा उपलब्ध गराइने पनि बताए। प्रदेश र संघ सरकारलाई राहतको प्याकेजका लागि सहयोग गर्न पत्राचार गरिएको बताए।

उनले पीडितलाई बास र भोजनको समस्या सबैभन्दा ठूलो रहेको बताए। प्रदेश र संघ सरकारसँग समन्वय भइहरेको र सोहीअनुसारको व्यवस्थापन भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .