समाज


सबै धर्मको मूल लक्ष्य मानव कल्याण : राष्ट्रपति

सबै धर्मको मूल लक्ष्य मानव कल्याण : राष्ट्रपति

नेपालखबर
बैशाख ९, २०८१ आइतबार ११:३८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्मले जस्तै संघीय लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको बताएका छन्।

उनले भगवान् महावीरको २६२३औं जन्मोत्सवका अवसरमा नेपाल जैन परिषद्‌द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन्। 

उनले सबै धर्मको मूल लक्ष्य भनेको अधिकतम मानव जातिको कल्याण भएको पनि बताए। 

राष्ट्रपति पौडेलले धर्मको लक्ष्य सुख, शान्ति, प्रगति, अनुशासन, सभ्य एवम् सुसंस्कृत समाज र देशको निर्माण भएको पनि बताए। 

‘हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्‌भाव नेपालीको विशिष्ट पहिचान हो, विविधतामा एकता र त्यसकै जगमा सुदृढ राष्ट्रिय एकता हाम्रो नेपाली मौलिकपन हो जो विश्वकै लागि अनुकरणीय छ भन्ने मलाई लाग्छ’, राष्ट्रपति पौडेलले भने। 

उनले धर्म त्यागमा हो, भोगमा होइन भन्दै भावशुद्धि र चरित्र शुद्धि भएन भने आध्यात्मिक उपलब्धि हुन नसक्ने धारणा राखे।

‘जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचार प्रथम प्राथमिकता हो, आज हाम्रो समाज, राजनीति र हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले  पनि त्यही नैतिक मूल्य र सदाचार खोजेको छ’, राष्ट्रपति पौडेलले भने। 

उनले २६२३औं जन्म कल्याणक दिवसको अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा जैन धर्मावलम्बीहरूको प्रतिनिधि संस्था नेपाल जैन परिषद्‌को अग्रसरतामा सदाझैँ भगवान् महावीरको २६२३औं जन्मजयन्तीलाई अहिंसा दिवसका रूपमा मनाउनु सकारात्मक र समय सान्दर्भिक भएको बताए।

‘परिषद्‌ले भगवान् महावीरका सिद्धान्त अहिंसा, अपरिग्रह र अनेकान्त आदि जीवन्त उपदेशहरूको प्रचारप्रसार, संवर्द्धन र प्रवर्द्धनका लागि सरकोकारवाला संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्नु प्रशंसनीय कार्य हो’, उनले भने। 

भगवान् महावीरका सिद्धान्त र विचार आज अझ सान्दर्भिको उल्लेख गर्दै उनले अनेकान्तको अभाव एवं परिग्रहको मानसिकताले संसार आक्रान्त भएका बेला संसारलाई खुसी एवं समृद्ध बनाउन उनका सिद्धान्त समस्या समाधानको उपायमध्ये एक हो भन्ने मलाई लाग्छ भने।

नेपालमा जैन धर्मावलम्बीहरू विभिन्न समुदाय बीचमा मिलेर बसेको बताउँदै राष्ट्रपति पौडेलले जहाँ भए पनि भगवान् महावीरका सिद्धान्तलाई अनुशरण गर्दै धर्म, संस्कृति र समाज सेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल रहेको धारणा व्यक्त गरे।

‘अहिंसा, शान्ति, अनेकान्तवाद, नैतिकता, सद्चरित्र, समभावजस्ता जैन दर्शनको प्रचार गरी यो संस्थाले भविष्यमा अझै प्रभावकारी कार्य गर्ने मैले विश्वास लिएको छु’, उनले भने। 

धर्ममा नैतिकता, प्रामणिकता, प्रतिबद्धता, र सत्यता हुन्छ। त्यसले हामीलाई सुमार्गमा डोर्‍याउन सक्ने धारणा राख्दै उनले विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा भूमिका खेल्नुपर्ने वर्तमानको माग भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .