ad ad

समाज


बुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु

बुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु

नेपालखबर
फागुन ५, २०७६ सोमबार १:५८,

केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ। 

‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन्, ‘त्यही दिन (बुधबार) चाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार बुधबार दिउँसो मौसम देशभर सामान्य बदली हुनेछ भने देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि मौसम तथा वर्षाको सम्भावना दिउँसोको जस्तै रहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने माैसमविद् नगरकाेटीले बताइन्। 

यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक/दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आजको सम्भावित वर्षाचाहिँ नेपालको स्थानीय वायुबाट विकसित प्रणालीको प्रभावले हुने हो।

अहिले बिहान काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगका केही स्थान र तराईमा पनि समान्य तुवाँलो लागेको छ। तर यो घाम लागेसँगै क्रमशः हटेर जाने मौसमविद्ले बताएका छन्।

सोमबार बिहान पौने ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ। दिउँसो अधिकतम तापक्रम २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् नगरकोटीले बताइन्।

केही दिनयता देशभर तापक्रम बढेको छ र जाडो घटेको छ। 

यो फेब्रुअरी महिना सकिएपछि औपचारिक रूपमा विन्टर अर्थात् हिउँदयाम सकिने र मार्चबाट प्रि-मनसुन सुरु हुने मौसमविद्को भनाइ छ।

प्रि-मनुसुन सुरु हुने बेला तापक्रम दिनप्रतिदिन बढ्दै जाने मौसमविद् बताउँछन्।

के हो पश्चिमी वायु?
बोलीचालीमा पश्चिमी वायु भनिए पनि खासमा भित्रिने भनेको पश्चिमी वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो। जसको प्रभावको मात्राअनुसार वर्षा तथा हिमपात हुने गर्छ।

माैसमविद्का अनुसार पश्चिमी वायु त हिउँद यामभर चलिहेरकै हुन्छ। त्यसको प्रभाव घटीबढीको कुरा मात्रै हो। 

जब त्यसबाट पश्चिमी न्यून चापीय प्रणाली विकास हुन्छ र नेपाल प्रवेश गर्छ तब बोलीचालीमा पश्चिमी वायु भित्रिएकाे भन्छाैँ। याे वायु भू-मध्य सागरबाट प्रवेश गर्छ। 

पश्चिमी न्यून चापीय प्रणाली जहिले देशकाे पश्चिमबाटै प्रवेश गर्छ र क्रमश: सर्दै पूर्वबाट बाहिरिन्छ। 

मनसुन अर्थात् वर्षायाम लागेपछि भने पश्चिमी वायु चल्न बन्द हुन्छ र पूर्वी वायु आउन सुरु हुन्छ। जुन वायु पूर्व दिशाबाट भित्रिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .