समाज


रवि जोडिएको सूर्यदर्शन सहकारीका पीडितले प्रधानमन्त्रीलाई दिएको उजुरीमा के छ?

रवि जोडिएको सूर्यदर्शन सहकारीका पीडितले प्रधानमन्त्रीलाई दिएको उजुरीमा के छ?

नेपालखबर
चैत ६, २०८० मंगलबार १५:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुगेका बेला चैत ४ गते त्यहाँस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले भेटेरै आफ्ना गुनासा राखे।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमबाट बाहिरिने क्रममा उनीहरूले प्रधानमन्त्रीलाई भेटेका थिए।

जीबी राई सञ्चालक रहेको सूर्यदर्शन सहकारीमा आफ्नो रकम डुबेको गुनासो गर्दै बचतकर्ताहरूले फिर्ता गराउन भूमिका खेल्न प्रधानमन्त्रीसँग माग गरेका छन्। यो सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिँदै आएको छ। संसदमा विपक्षी दल कांग्रेसले हिनामिनामा जोडिएका व्यक्ति गृहमन्त्री बन्दा निष्पक्ष छानबिन नहुने भन्दै राजीनामा मागिरहेको छ।

सूर्यदर्शनका पीडितहरूले मौखिक रूपमा गृहमन्त्री रवि लामिछाने पनि यो प्रकरणमा जोडिएकाले चाँडो छानबिन गर्न माग गरेका थिए। तर, ज्ञापनपत्रमा भने रविको नाम किटान गरिएको छैन। बरु सरकारी शक्तिको संरक्षणमा अभियुक्त रहेको हुनसक्ने आशंका भने गरिएको छ।

उक्त ज्ञापनपत्रको पूर्ण व्यहोरा यसप्रकार छ–

उपर्युक्त सम्बन्धमा यस संस्थामा १८ हजार ७ सयभन्दा बढी बचत सदस्य रहेका छन्। सूर्यदर्शन सहकारीको वासलातमा १ अर्ब ५५ करोड (कारोबार) रहेको छ। सोही रकम हिनामिना भएको खुल्न आएको छ। सहकारीमा समस्या देखापरे यता आजको मितिमा १ वर्ष ८ महिना बितिसक्दा पनि संस्थाको तर्फबाट कुनै पनि बचतकर्तालाई रकम फिर्ता गरिएको छैन।

आफ्नो कार्यक्षेत्रभन्दा बाहिर नेपालका विभिन्न ठाउँबाट पोखरामा आएर ऐन कानुनविपरीत सहकारी सञ्चालन गरी पोखराको १ अर्ब ५५ करोड हिनामिना गरी पोखरेली जनतालाई रुवाई उनीहरू यसै राज्यभित्र यत्रतत्र हिँडडुल गरिरहेका छन्।

यतिका लामो समयसम्म पनि हाम्रो पीरमर्का र मागप्रति उचित सुनुवाइ भएको छैन। तर सरकार मौन र व्यस्त छ। हाम्रो पीडा जस्ताको त्यस्तै छ। यस संस्थासँग जोडिएका पीडित पोखरेली जनताको घरमा चुलो बलेको छैन। छोराछोरीको फिस तिर्न नसक्दा परीक्षाबाट वञ्चित हुनुपरेको छ। परिवारमा कलह र सम्बन्ध विच्छेदजस्ता समस्याको सामना गर्नुपरेको छ।

कतिपय पीडितहरू बिरामी हुँदा उपचार खर्चको अभावका कारण मृत्युको मुखमा पुग्नुभएको छ। यही सहकारीका कारण पैसाको अभाव र चिन्ताले बिरामी परी हस्पिटलमा मृत्यु भएका बचतकर्ताले दाहसंस्कार र काजकिरियाका लागिसमेत पैसा नहुँदा हामीबीचबाट सय–पचास रुपैयाँ उठाएर दाहसंस्कार र काजकिरिया गर्नुपरेको छ।

पीडित जनताको अवस्था सामान्य छैन। हामीसँग यस्ता उदाहरणहरू धेरै छन्, जो अहिले पनि विभिन्न हस्पिटलमा धेरै रोगहरूसँग लडिरहनुभएको छ। विडम्बना, उहाँहरूको रकम सूर्यदर्शन सहकारीसँग छ, रकम फिर्ता भएको छैन। अब पैसाबिना उपचार कसरी सम्भव छ र?

बाटोमा मकै पोलेर बेचेर जम्मा गरिएको बचत, बाटोको छेउमा चनाचटपट बेचेर जम्मा गरिएको रकम, आफ्नै छोराछोरीको खाजा र अरू इच्छाहरूलाई मारेर जम्मा गरिएको बचत दुरुपयोग गरी ढुक्कसँग बस्नेलाई कारबाही गरी पीडितको बचत फिर्ता या सुरक्षित गर्नको लागि यो देशमा कानुन कहिले बनाउनुहुन्छ? हामीलाई यो देशमा सरकार छ र न्याय पाइन्छ भन्ने कुराको अनुभूति नहुँदा हामीले आफ्नै तबरले यसै सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूसँगै समन्वय गरेर समस्याको समाधान गरौँ न त भनेर पनि १ वर्षसम्म गरिएको प्रयास पनि विफल रह्यो। केही उपाय लागेन।

उनीहरूको झुट र ठगीको खेती झनै मौलाउँदै गयो। हामी पीडितलाई विश्वासघात गरियो। अब के यो समस्या समाधानको लागि कुनै पोखरेली जनताले कुन मूल्य चुकाउनुपर्ने हो? हामीलाई बताइदिनुपर्‍यो। होइन भने छिटोभन्दा छिटो कुनै नीति नियम, विधिविधान र ऐन कानुन बनाएर प्रभावकारी ढंगले यस समस्याबाट हामीलाई उन्मुक्ति दिलाई दिनुपर्‍यो।

उपचारको लागि पैसाको अभावमा हस्पिटलमा छटपटाइरहेका बिरामीका ती आशा र भरोसा, पैसाको अभावले भोक र प्यासमा छटपटाइरहेका ती बालबालिका र परिवारको आशा भरोसा, पैसाको अभावमा पठनपाठनको शुल्क नहुँदा वञ्चित हुनुपरेको त्यो उज्ज्वल भविष्यले हरपल तपाईँसँग प्रश्न गरिरहेछन्। यो देशको अभिभावकबाट हाम्रो पीडामा मल्हम लगाएको अनुभूति कहिले हुन्छ?

आजभन्दा ९ महिनाअगाडि मिति २०८० साउन २१ बाट यस संस्थाका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा संगठित ठगी अपराधउपर जाहेरी दर्ता भएको थियो। त्यसबखत १ हजार ३७ जना निक्षेपकर्ताबाट १ अर्ब १२ करोड रूपैयाँ बिगो थियो।

तर अझै पनि सयौँ जनाको करोडौँ रुपैयाँ बिगोबराबरको जाहेरी आउन बाँकी छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले १९ जनाको पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको ८/९ महिना बितिसक्दा पनि हालसम्म ५ जनाभन्दा बढी पक्राउ गर्न सकेको छैन।

हाम्रो संकोच हरदिन बढिरहँदा, हामीले सकेको सहयोग प्रहरी प्रसासनलाई गरिरहँदा, विभिन्न पीडामा पीडित मरिरहँदा, पीडित बचतकर्ताको घरमा रुवाबासी चलिरहँदा पनि बाँकी पक्राउ पुर्जी जारी भएका अभियुक्तहरूलाई अझैसम्म हाम्रो प्रहरी प्रशासनले प्रकाउ गर्न नसक्दा हामी हाम्रो राज्य र सरकारलाई कुन लाचारीको संज्ञा दिऊँ? या हाम्रो कुनै सरकारी शक्तिको संरक्षणमा त अभियुक्तहरू सुरक्षित बसिरहेका छैनन्?

एक जना जीबी राई भन्ने व्यक्ति यस सूर्यदर्शन सहकारीका सञ्चालकले सिंगो राज्यको सञ्चार माध्यमलाई नै उथलपुथल बनाइरहेका छन्। यिनै जीबी राई भन्ने नाम यस राज्य व्यवस्थाको चुनौती बनेको छ। कहाँ छन् जीबी राई? किन हामो राज्य, सरकार, प्रहरी प्रशासनले डिफ्युजन नोटिस हुँदै रेड नोटिससम्म पुग्दा पनि प्रकाउ गरी ल्याउन सकिराखेको छैन? जीबी राईलाई छिटोभन्दा छिटो प्रकाउ गरी कहिले ल्याइदिनुहुन्छ?

हुन त हाम्रो प्रहरी प्रशासनले जीबी हाम्रै निगरानीमा छन्, मलेसियामा छन्, सिंगापुरमा छन्, अब हामी ल्याउँछौँ भनेको पनि महिनौँ दिन बित्यो। तर अब यो सुन्न नपरोस् जीबी राई त पाकिस्तानमा पुगेछन् भनेर।

जहाँ छन्, जे-जसरी हुन्छ, जीबी राईलाई ल्याएर हजारौं पीडितको समस्याको समाधान गरिदिनुपर्‍यो, पक्राउ परेका अभियुक्तहरू पनि पीडितको समस्या सम्बोधन गर्नुको साटो, समाधान गराउनुको साटो, बचतकर्ताको बचत फिर्ता नै नगरी, बिनाकुनै कार्ययोजना, बिनाकुनै कार्यविधि नै आफू कसरी बाहिर आउने भन्ने कुरामा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता र ठूलाठालालाई प्रयोग गरी सधैँ सल्बलाउन व्यस्त छन्।

यस विषयमा हामी सम्पूर्ण बचतकर्तामाझ हरपल शंका र विरोध उत्पन्न भइरहेको छ। हामीमाझ विगतका यस्ता नजिरहरू धेरै छन्। एक–दुई जना यस्ता सहकारी सञ्चालकले सिंगो राज्य, सरकार, प्रहरी प्रशासनलाई लल्कारेर देशको प्रशासनिक प्रणालीलाई चुनौती दिएको अवस्था छ।

सूर्यदर्शन सहकारी समस्यामा परेयता, यस संस्थाले हामीलाई पीडित बनाएयता, यिनै सञ्चालकले सहकारीमा गरेको दुरुपयोग र ठगीका कारण हामी पीडित घरमा चुलो नजलेयता, यस देशमा तीन–चारपटक सरकार बदलिए। तर, हामी पीडितको पीडा बदलिएन।

सहकारी समस्याबाट हामी साधारण जनतालाई न्याय दिलाउन, हाम्रो बचत फिर्ता गराउन अझै कतिपटक सरकार बदलिनुपर्ने हो र? राज्य–सरकारको कुनकुन पदमा कोको विराजमान हुनुपर्ने हो? यो कुरा हामीले बुझ्न सकेका छैनौँ।

यस देशमा पछिल्लो समयमा सहकारीमा समस्या देखापरेको करिब २ वर्ष बितिसकेको छ। तर, हालसम्म पनि यो राज्यले कुनै पनि नीति निर्माण गरी हामी पीडितलाई राहत र यी सहकारीका ठगलाई कारबाही गर्ने गरको कुनै उदाहरण नै पेस गर्न सकेको छैन।

यो पोखरा, यो कास्की जिल्ला तपाईँको आफ्नै जिल्ला हो। तपाईँको जन्म जिल्ला, तपाईँको उदय जिल्ला हो। यही भूमिबाट तपाईँको सुरुवात भएको होजस्तो हामीलाई लाग्छ। हामी तपाईँलाई हाम्रै जिल्लावासी सम्झन्छौँ। तपाईँ एक असाधारण व्यक्तित्व हुनुहुन्छ।

आज यसै ठाउँका पोखरेली जनता पीडित बनेका छन्। हजारौँ जनताको ओठको हाँसो र खुसी लुटिएको छ। ती खुसी, हाँसो कहिले फिर्ता दिलाइदिनुहुन्छ? यिनै यस्ता सहकारीका कारण अबका केही समयपछि हाम्रो देशको शैक्षिक स्तर खस्कनेछ। विदेश पलायन हुने क्रम बढ्नेछ। राज्यसँग निमुखा जनताको आशा भरोसा उठ्नेछ। यसलाई रोक्न तपाईँले एउटा नीति निर्माण गरी प्रभावकारी रूपमा सहकारीबाट पीडित भएका बचतकर्ताको बचत फिर्ता गराइदिनुपर्‍यो।

वर्तमान परिप्रेक्ष्यमा तपाईँ तथा तपाईँको पार्टीले राज्य सत्ताको बागडोर समालिरहेको छ। नेपालको राजनीतिकमा तपाईँ बारम्बार सत्तापक्षमा हुनुहुन्छ। यो अवस्थामा पनि हामी पीडितले न्याय पाएनौँ भने कालान्तरमा पनि हामी पीडित नै रहिरहनेछौँ। त्यसैले हामी पीडितको संरक्षण र हाम्रो पीडाको समाधानको लागि तपाईँको दायित्वभित्र पोखरेली पीडा पर्नुपर्ने होजस्तो हामीलाई लाग्छ।

हामी अनुरोध गर्दछौँ, यसबारेमा यहाँको गम्भीर ध्यानाकर्षण हुनुपर्‍यो। हामी पोखरेली जनतालाई आफ्नै ठानेर यस समस्याबाट छुटकारा दिलाउन अहम् भूमिका खेल्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ। त्यसैले प्रधानमन्त्रीज्यूले यस विषयलाई साधारणरूपमा नलिई सम्पूर्ण कस्केली–पोखरेली जनताको पीडा भएको आभास गरी सम्पूर्ण पीडितले न्याय पाउने गरी दोषीलाई कारबाही गरी पीडितको बचत फिर्ता गराइदिनुहुनेछ भन्ने आशा र विश्वासका साथ सम्पूर्ण पीडित बचतकर्ताहरूको तर्फबाट हार्दिक अनुरोधका साथ यसको प्रतिउत्तरको आशा राख्दै यो निवेदन पेस गर्दछौँ।

निवेदक
संयोजक
सूर्यदर्शन बचत संघर्ष समिति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .