ad ad

समाज


कृष्ण कँडेल र पीडित भनिएकी महिलाले फिर्ता लिए एकअर्काविरुद्धको मुद्दा

कृष्ण कँडेल र पीडित भनिएकी महिलाले फिर्ता लिए एकअर्काविरुद्धको मुद्दा

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १७:२५, काठमाडौँ

लोकगायक एवम् चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यौन दुर्व्यवहार आरोपमा दर्ता भएको मुद्दा फिर्ता गरिएको छ।

काठमाडौं जिल्ला अदालतमा कँडेलविरुद्ध दर्ता गरिएको यौन दुर्व्यवहार आरोपसम्बन्धी मुद्दा पीडित भनिएकी ती महिलाले फिर्ता लिएकी हुन्। 

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने ती महिलाले आफूमाथि पटक–पटक यौन दुर्व्यवहार भएको भन्दै कँडेलविरुद्ध गत फागुन १३ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन्।

पीडित भनिएकी गायिकाले अरु पनि महिलाको कोठामा पुगेर करणीको प्रयास भएको भन्दै हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गरेकी थिइन्। 

तर बुधबार पीडित भनिएकी ती महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन्।

महिलाले मुद्दा दर्ता गराएपछि कँडेलका नाममा अदालतमा उपस्थित हुन २१ दिनको म्याद जारी गरिएको थियो। तर म्याद गुज्रिनुअघि नै मुद्दा फिर्ता गरिएको हो।

महिलाले आफूविरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि अर्को मुद्दा फिर्ता लिएका छन्। 

कँडेलले ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा पनि फिर्ता लिएका हुन्। 

यसअघि ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेल र विरोधमा उत्रिएका कलाकारहरूबीच फागुन १० गते समझदारी भएको थियो। 

‘इन्द्रेणी’बाट निकालिएका भनिएका ६ जनामध्ये ५ कलाकार र सञ्चालक कँडेलबीच सहमति भएको थियो। तर उक्त सहमतिका क्रममा कँडेललाई आरोप लगाएकी ती महिला उपस्थित भएकी थिइनन्।

त्यसबेला दुवै पक्षले एकअर्काविरुद्ध अब कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमतिपत्रमा जनाएका थिए।

निकालिएका भनिएका कलाकारले चाहे इन्द्रेणीमा फर्काउनसमेत कँडेल तयार भएका थिए।

सहमतिको वार्तामा कँडेललाई यौन दुर्व्यवहारको आरोप लगाउने कलाकार भने आएकी थिइनन्। 

त्यसअघि ती महिलासहित ६ जना फेसबुक लाइभमा आएर कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए। 

कँडेलले पनि पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए। उनले आफूलाई आरोप लगाएकी ती महिलाविरुद्ध अदालतमा मानहानीको मुद्दा पनि हालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .