ad ad

समाज


रक्षामन्त्रीले पृतनापतिहरूसँग भने : धार्मिक र सामाजिक सद्भाव बिथोल्न खोज्नेबाट सुरक्षा चुनौती बढ्यो

रक्षामन्त्रीले पृतनापतिहरूसँग भने : धार्मिक र सामाजिक सद्भाव बिथोल्न खोज्नेबाट सुरक्षा चुनौती बढ्यो

तस्बिर : नेपाली सेना


नेपालखबर
फागुन १६, २०८० बुधबार १९:२१, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताएका छन्। 

नेपाली सेनाको आयोजनामा बुधबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले भू-राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थितिलगायतले सुरक्षा वातावरणमा चुनौती थपेको बताए।

खड्काले आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहको धार्मिक र सामाजिक सद्भाव विथोल्ने एवम् साम्प्रदायिक गतिविधिको सूक्ष्म विश्लेषण गर्दै सुरक्षा चुनौतीको सामना गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।

राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीबारे छलफल गरी त्यसको सामना गर्ने उपाय पहिल्याउन बैठक उपयोगी हुने विश्वास उनले बताए।

नेपाली सेनाले विभिन्न परिस्थितिमा सीमित स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको उनले उल्लेख गरे।

रक्षामन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको स्मरण गरे। 

जाजरकोट भूकम्पलगत्तै खोज, उद्धार एवम् राहत कार्यमा सेनाले प्रदर्शन गरेको सक्रियताको आफू स्वयम् साक्षी रहेको खड्काले बताए। 

सेनालाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्दै उच्च व्यावसायिकता कायम राख्न सरकार र आफ्ना तर्फबाट पूर्ण प्रतिबद्धता खड्काले जनाए।

रक्षामन्त्री खड्काले नेपाली जनताको तीव्र विकासको अपेक्षा पूरा गर्न राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेस द्रुतमार्गलगायत विकटका बस्ती जोड्ने सडक आयोजनाको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताए। 

जटिल भू–बनोट भएका दुर्गम इलाकामा विकास निर्माणका थप जिम्मेवारी नेपाली सेनालाई प्राप्त हुनसक्ने उनले बताए। 

उपप्रधानमन्त्री खड्काले निर्धारित लागत तथा समयसीमाभित्रै यस्ता आयोजना सम्पन्न गर्नेतर्फ सम्बद्ध सबै पक्ष संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गरे।

संविधानप्रदत्त एवं राज्यले आवश्यक ठानेका अन्य जिम्मेवारीको निर्वाहमा नेपाली सेना सदैव अब्बल रहिआएको खड्काले बताए। 

उनले शान्ति स्थापनार्थ खटिने राष्ट्रको शीर्ष स्थानमा रहेको नेपाल र नेपाली सैनिकको प्रशंसाबाट सिङ्गो मुलुक गौरवान्वित भएको बताए। 

उनले नेपाली सेनालाई सबल र समयानुकुल बनाई राख्न आवश्यक कानूनी प्रावधानको तर्जुमा तथा विद्यमान कानुनी प्रावधानलाई अद्यावधिक गर्नेतर्फ प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए।

प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका कार्यसँगै पर्यावरण संरक्षण, विपद् प्रतिकार्य, विकास-निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौती सामना गर्न तयारी अवस्थामा रहनुपर्ने बताए।

प्रधान सेनापति शर्माले परम्परागत र अपरम्परागत खतराद्वारा सिर्जित सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेकाले त्यहीअनुरुप तयारी अवस्थामा रहन एवम् राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयमा छलफल गर्न बैठक फलदायी हुने विश्वास जनाए।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको  विश्लेषण गर्दै प्रधानसेनापतिले नेपालभन्दा धेरै टाढा भइरहेका रुस-युक्रेन, इजरायल-हमास युद्धलगायत गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्बित गरेको बताए।

बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता थियो। 

बैठकमा सहभागीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवम् सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .