ad ad

समाज


अख्तियार प्रमुख भन्छन् : यातायात र भन्सारमा घुस लेनदेन बढ्यो, विदेशमा डिल हुन थाल्यो

अख्तियार प्रमुख भन्छन् : यातायात र भन्सारमा घुस लेनदेन बढ्यो, विदेशमा डिल हुन थाल्यो

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८० मंगलबार १७:३१, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले देशबाहिर गएर पनि घुस लेनदेन हुन थालेको बताएका छन्। 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मंगलबार राखेको छलफलका क्रममा प्रमुख आयुक्त राईले विदेशमासमेत पुगेर घुस लेनदेन हुने गरेको बताएका हुन्। 

भ्रष्टाचारको छानबिनका लागि विदेशबाट समेत सूचना ल्याउनुपर्ने बताउँदै उनले त्यसका लागि द्विपक्षीय र बहुपक्षीय सम्झौता आवश्यक रहेको बताएका थिए। त्यसपछि समितिले यसबारेमा सरकारलाई निर्देशन पनि दिएको छ।

प्रमुख आयुक्त राईले भ्रष्टाचारको डिल विदेशमा हुन थालेकाले सूचना पाउनै मुस्किल भएको पनि बताएका छन्। 

उनले अदालतको आदेशमा स्टिङ अपरेसन रोकिँदा यातायात र भन्सार कार्यालयहरूमा घुस लेनदेन बढ्दै गएको बताए। 

‘स्टिङ अपरेसनमा अदालतले रोक लगायो। त्यसपछि यातायात र भन्सारमा घुस लिने क्रम बढ्यो’, उनले भने, ‘अहिले यी कार्यालयमा सिधै सेवाग्राहीबाट घुस लिनेभन्दा अन्य व्यक्तिबाट बुझ्ने गरेको पाएका छौँ।’ 

सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा राईले भ्रष्टाचार हुनै नदिने उपायका लागि सरकारले आफ्ना संयन्त्रहरूलाई त्यहीअनुसार परिचालन गर्न सक्नुपर्ने बताए। 

बैठकमा राईले टेरामक्स खरिद प्रकरणमा भएको भ्रष्टाचार प्रकरणमा मुद्दा चलाउने अन्तिम तयारी भएको बताए। उनले वाइडबडी जहाज खरिदसहितका प्रकरणमा पनि अनुसन्धान जारी रहेको उल्लेख गरे।

उनले सरकारी निकायमा कानुनसम्मत काम नभएको बताउँदै भ्रष्टाचार रोकेर सुशासन कायम गर्न सरकार सञ्चालहरू नै अझै सक्रिय हुनपर्नेमा जोड दिएका छन्। 

राईले भ्रष्टाचारमा कमी ल्याउन अख्तियारको कार्यक्षेत्र बढाइदिन पनि सांसद्हरूलाई आग्रह गरे। 

धेरै बदमासीबारेमा अख्तियारले हेर्नै नसक्ने अवस्था रहेको पनि उनले बताए। उजुरी आए पनि अख्तियारले हेर्न नमिल्ने बाध्यता रहेको  बताउँदै त्यसका लागि कार्यक्षेत्र बढाइदिन सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। 

राईले भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्नुपर्ने सुझाव आफूहरूले दिएको बताए। तर संशोधन विधेयक संसद्‍मा अड्किएको उनले उल्लेख गरे।

राईले मन्त्रिपरिषद्का निर्णय कुनलाई नीतिगत मान्ने र कुनलाई नमान्ने कुरामा कानुनबाटै परिभाषित गर्नु जरुरी रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .