ad ad

समाज


पत्रकार शाक्य र गौतमलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न महासंघको माग

पत्रकार शाक्य र गौतमलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न महासंघको माग

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १४:६, काठमाडौँ

समाचार संकलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि कालीमाटी वृत्तका प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

महासंघका महासचिव रोशन पुरीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर रहेको बताएका छन्।

यही फागुन ९ गते ठगीमा परेकाहरूको पक्षमा काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा दबाब दिने कार्यक्रममा समाचार सङ्कलनका लागि विभाग पुगेका पत्रकारद्वयलाई कालीमाटी प्रहरी वृत्तका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदा पनि दुर्व्यवहार गरेको महासंघले जनाएको छ।

‘समाचार सङ्कलनका क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालीमाटी प्रहरी वृत्त पुर्याएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए। स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो। प्रहरीले गरेको यो हर्कतले संविधान प्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ।

महासंघले घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधान प्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेस विरोधी घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .