समाज


पत्नी, छोरी र नातिनीको हत्यापछि काजी विश्वकर्माले ससुरालाई गरेका थिए फोन

पत्नी, छोरी र नातिनीको हत्यापछि काजी विश्वकर्माले ससुरालाई गरेका थिए फोन

घटनास्थल


नेपालखबर
फागुन ९, २०८० बुधबार १२:४२, काठमाडौँ

काठमाडौँको सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी बिकले पत्नी, छोरी र नातिनीको हत्यापछि ससुरालाई फोन गरेर घटनाको जानकारी गराएको खुलेको छ। 

सोलुखुम्बुको दुधकोसी गाउँपालिका घर भई नागार्जुन नगरपालिका- ६ मा डेरा गरी बस्दै आएका बिकले सोलुखुम्बुमै रहेका ससुरा इन्द्रजित श्रेष्ठलाई फोन गरेर घटनाको जानकारी गराएपछि आफूले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ। 

५१ वर्षीय बिकको शव डेरादेखि माथि डाँडाको रुखमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो फेला परेको हो।

प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३९ वर्षीया प्रेमकुमारी श्रेष्ठ र उनीकी ८ वर्षकी छोरी अनिशा तथा २ वर्षकी नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको शव आज बिहान कोठामा फेला परेको थियो।

ती महिलाका पति सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भनिने काजी बिकको पनि शव फेला परेको हो।

‘उनले श्रीमती प्रेमकुमारी भनिने ईश्वरी श्रेष्ठ र छोरी तथा नातिनीको हत्यापछि आफूले आत्महत्या गरेको आशंका छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले भने। उनले कैँची र हम्मरले हानेर उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ। 

घटनास्थलबाट हम्बर र कैँची बरामद भएको प्रहरीले जनाएको छ। 

हत्या गरिएकी ईश्वरीले बिकसँग दोस्रो बिहे गरेकी थिइन्। मारिने ८ वर्षकी छोरी ईश्वरीका पहिलो पति पट्टीकी हुन्। नातिनी पनि पहिलो पतितिरका छोराकी छोरी भएको खुलेको छ। 

बिकले हत्याअघि पत्नीको पहिलो पति पट्टीका छोरा (मारिने नातिनीका बुवा)लाई पसलमा सामान किन्न पठाएका पाइएको छ। छोरालाई सामान किन्न पठाएपछि उनले तीन जनाको हत्या गरेका हुन्। 

हत्यापछि उनले साेलुमा बस्दै आएका ससुरा र सामान किन्न जाने साैतेलाे छोरालाई पनि फोन गरेर ‘मैले तेरी आमा, बहिनी र छोरीको हत्या गरेँ। अब म पनि मर्दैछु’ भन्ने जानकारी गराएका पाइएकाे छ।

हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीको भनाई छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .