ad ad

समाज


काठमाडौँमा ११ भारतीयलाई बन्धक बनाएको आरोपमा ८ भारतीय र २ नेपाली पक्राउ

काठमाडौँमा ११ भारतीयलाई बन्धक बनाएको आरोपमा ८ भारतीय र २ नेपाली पक्राउ

पक्राउ परेका व्यक्तिहरू


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १४:५१, काठमाडौँ

काठमाडौँमा ११ जना भारतीय नागरिकलाई बन्धक बनाई राखेको आरोपमा प्रहरीले २ नेपालीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गौशालास्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई बुधबार राति उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई बन्धक बनाएको आरोपमा ८ जना भारतीय नै र २ जना नेपाली नागरिकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।  

गौशालास्थित एक घरमा केही भारतीयले घर भाडामा लिई गैरकानुनी रूपमा भारतीय नागरिकहरूलाई नै बन्धक बनाई राखेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त गौशालाको संयुक्त टोली उक्त घरमा प्रवेश गरी खानतलासी गर्दा ११ भारतीय नागरिकलाई बन्धक बनाई जोखिमपूर्ण अवस्थामा राखिएको पाइएको थियो। उनीहरूलाई अमेरिका लाने आश्वासन दिएर बन्धक बनाइएको पाइएको प्रहरीको दाबी छ। 

उनीहरूलाई सकुशल उद्धार गरी घटनामा संलग्न आरोपमा प्रहरीले भारत मध्यप्रदेश राजगढ, निवानिया स्थायी ठेगाना भएका वर्ष ५८ का इन्दुसिंह यादव, भारत नयाँ दिल्ली ताराचन्द्र कोलोनी, महिपुर स्थायी ठेगाना वर्ष ५४ का अब्दुल रहिम, भारत नयाँ दिल्ली, विष्‍णु गार्डेन, आरजेड–२९० वतन भएका ४२ वर्षीय चरणजित सिंह, भारतकै लुधियाना पञ्‍जाब वतन भएका वर्ष नखुलेका अशोककुमार, भारतको लुधियाना, टिब्बा रोड पन्जाब स्थायी वतन भएका वर्ष ४७ का मनीषकुमार मलहोत्रा, भारतको मध्यप्रदेश राजगढ स्थायी ठेगानाका ३० वर्षीय रवि मेवाडे, भारतको राजस्थान, चुरु वतन भएका वर्ष ४८ का रामचन्द्र शर्मा र भारतको लुधियाना जनकपुरी पन्जाब घर भई हाल काठमाडौँको नरदेवी बस्ने वर्ष ५१ का निपुन गुप्‍तालाई पक्राउ गरेको हो।

साथै सोही आरोपमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५, बिजुली अफिस ठेगाना भएका ५२ वर्षीय मोहम्मद साविर मियाँ र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर, स्थायी ठेगाना भई हाल काठमाडौँको माकलबारी बस्ने  ३० वर्षीय लक्ष्मण गिरीलाई पनि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

साथै उनीहरूको साथबाट पीडितहरूका पासपोर्ट, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, ल्यापटपहरू, नक्कली रबर स्ट्याम्पहरू र कैँची, पेपर कटरलगायत सरसामान पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ। शारीरिक यातना दिन प्रयोग हुने पाइप पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

हेर्नुहोस् बरामद सामान-

पक्राउ परेका व्यक्तिहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .