ad ad

समाज


बाँदर लड्ने गलकोटको सहश्रधारा झरनामा मान्छेको चिप्लेटी!

बाँदर लड्ने गलकोटको सहश्रधारा झरनामा मान्छेको चिप्लेटी!

वाशुदेव मिश्र
असार १५, २०७६ आइतबार १६:४,

‘ऊ त्यो मौवाको रुख छ नि, त्यसकै उताको भीरमाँ ग ’र म घाँस झार्थेँ’, बागलुङको दक्षिणी भेकमा पर्ने गलकोटका ७७ वर्षीय रुकबहादर खत्रीले गाउँको माथिल्लो भागमा रहेको भीरको फेदबाट इसारा लगाउँदा छङ्गाछुर भीरबाट कोही तल झर्दै थियो।

उनीहरुले टाउकोमा बलियो टोपी,नभिज्ने लुगा र जुत्ता लगाएका थिए। टेक्नको लागि भीर नै थियो भने समात्न डोरी! फरक त्यत्ति थियो, खत्री बाध्यताले बुटा समात्दै भीर उक्लन्थेँ र खुट्टा दह्राे पार्दै ओर्लन्थे।

ती नयाँ मान्छे भने डोरीको भरपर्दै झरनामा चिप्लेटी खेल्दै थि। संयोग कस्तो भने,रुकबहादुरले आफू बाँदरजस्तै भीर चढेको सम्झँदै गर्दा त्यहाँ साँच्चिकै एक हुल बाँदर च्याँ–च्याँ र चुँ–चुँ गर्दै थिए।

गलकोट–३ मा पर्ने अग्लो छहरालाई रैथानेहरु ‘सहश्रधारा’ भन्छन्। हिउँदमा पनि नसुक्ने भरनाको पानी खाने र नखाने रैथानेहरुले झरनामै चिप्लेटी खेल्ने सपना भने कहिल्यै देखेनन्। भाग्यमानी रुकबहादुरजस्तै स्थानीय चन्द्रबहादुर कुँवरले मध्य असारमा बाँदर लड्ने झरनामा मान्छेले नै चिप्लेटी खेलेको देखेर भने,‘हामीलाई यस्तो पनि होला भन्ने के थाहा?’

गाँउलेले चिप्लेटीकै रुपमा बुझे पनि बाँदरजस्तै झर्नासँगै झर्ने खेललाई ‘क्यानोइङ’ भनिन्छ। भीरको छाँगामा डोरीको सहायताले झुण्डिदै,हाम्फाल्दै, अडिदै,चिप्लिँदै तल झर्ने यो कलालाई ‘क्यानोइङ’ भनिन्छ। झरना नै झरनाको देशमा यो साहशिक खेल भित्रिएको भने धेरै भएको छैन। विदेशबाट नेपाल भित्रिएको यो खेल नेपालका झरना सुहाउँदा भने पक्कै छन्।

c2

त्यसैले पछिल्लो समयमा देशका विभिन्न भागमा यो खेलको सुरुवात गरिएको छ। र, पछिल्लो पटक बागलुङको गलकोट नगरपालिका–३ मा पर्ने सहश्रधारामा यो खेलको सफल परीक्षण गरिएको छ।

गलकोट नगरपालिकाकै पहलमा सहश्रधारामा क्यानोइङको सफल परीक्षण भएको हो। पहिला तर्साउने, अहिले डलर कमाउने! गलकोटको अनकण्टार ठाउँ हो, सहश्रधारा। हुँदै नभएको भूतको डरले रैथानेहरु त्यहाँ जानै डराउने।

गाउँबाट गलकोट नगरपालिका बन्यो। सहश्रधारा भएको वडामा वीरजंग भण्डारी चुनिए। जिउँदो बाघ समात्ने जोस बोेकेका उनले झरनामा चिप्लेटी खेलिने खेलबारे सुनेकै थिए। उनले आफ्नै ठाउँको झरनामा साहशिक खेलको सम्भावना देखे। केही जानेबुझेका मान्छे ल्याएर देखाए पनि। झरनामा ‘क्यानोइङ’ चल्छ भन्ने भयो।

मेयर भरत शर्मा गैह्रे र उपप्रमुख रेणुका काउचा मगरले सोझै हुन्छ भने। क्यानोनिङ खेल्न मिल्ने संरचना बनाउन केही बजेट पनि हालियो। झरनाबाट झर्ने ठाउँसम्म पुग्ने बाटो बनाइयो। झरनाको तल पोखरी पनि बन्यो। पोखराबाट आएको टोलीले परीक्षणको रुपमा चिप्लेटी खेले।

अघिल्लो वर्ष थालिएको कामलाई यो वर्ष पनि निरन्तरता दिइयो। उपप्रमख काउचा मगरसहित वडाध्यक्ष भण्डारीसहितको टोलीले झरनामा चिप्लेटी खेले। केही स्थानीयहरुले पनि मुटु दह्रो बनाए।

c3

२ सय ८० फिट अग्लो छहरामा डोरीको सहायताले रमाइलो लिए। नगरपालिकाको सहकार्यमा सहश्रधारा क्यानोनिङ पर्यटन प्रवद्र्धन केन्द्रले शनिबार दोस्रो पटक आयोजना गरेको कार्यक्रममा करिब २० जनाले झरनाको पानीको लोप्पा खाने अवसर पाए। केन्द्रका संयोजक गगन कुँवरका अनुसार अब यो झरनामा हिँउद बर्खा दुबै मौषममा व्यावसायिक क्यानोइङ संचालन गर्ने लक्ष्य राखिएको छ।

गलकोटका मेयर गैरेले पनि सहश्रधारालाई पर्यटक भित्र्याउने गतिलो गन्तव्य बन्न लागेकोले दिर्घकालीन सोचका साथ काम गरिने प्रतिवद्धता व्यक्त गरे। उनले क्यानोनिङ गर्ने ठाउँसम्म जाने बाटो पक्की बनाउने र सो ठाउँमा बढीभन्दा बढी पर्यटक लैजाने योजना पनि सुनाए।

सो ठाउँमा पुग्न ३ सय मिटर पदमार्ग र पौडी पोखरी बनाउने योजना पनि सुनाए। अभियानलाई डिभिजन वन कार्यालयले पनि सहायोग गरेको छ । आगामी वर्ष ११ लाख रुपैयाँको पूर्वाधार निर्माणमा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाईसकेको वडाध्यक्ष भण्डारीले बताए। उक्त रकमले फुलवारी र रिर्सोट बनाउन लगानी गरेको हो।

नगरपालिकाले गलकोट क्षेत्रको अग्लो घुम्टे पुग्ने पदमार्ग, सिद्धबराह र भैरव मन्दिर जिर्णाेद्वार गर्ने, ऐतिहासिक दरवारको संरक्षण, राम्चेढुंगामा प्याराग्लाइडिङ र कला/संस्कृतिको संरक्षणमा समेत लगानी गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .