ad ad

समाज


विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : छानबिन समितिको म्याद एक दिन थपियो

विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : छानबिन समितिको म्याद एक दिन थपियो

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८० सोमबार १९:११, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिको म्याद एक दिनलाई थपिएको छ।

यही माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिको म्याद नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य रहेका छन्।

गत शुक्रबार भएको घटनापछि गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गरिएको बताएका थिए।

भट्टराईका अनुसार समितिको म्याद मंगलबारसम्मलाई थपिएको हो। तीनका लागि गठित समितिले छानबिन अन्तिम चरणमा पुर्‍याए पनि संकलित प्रमाणहरूको विश्लेषण गर्न एक दिन म्याद थपिएको भट्टराईले बताए। 

 घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर काममा छन्। 

उता उक्त घटनामा संलग्न प्रहरीहरूलाई भने अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट अन्यत्र सारिएको छ। आइतबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीसँगको झडपमा देखिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको बताएका थिए।

आइतबार मात्रै विभिन्न दल निकट पाँच कर्मचारी संगठनका नेताहरू प्रहरीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई दबाब दिन पुगेका थिए। तर गृहमन्त्री श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आएपछि आवश्यक कारबाही अघि बढाउने तर अहिले नै निलम्बन गर्न नसकिने जवाफ दिएका थिए। 

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले चेकजाँच गर्दा कुटाकुट भएको थियो। 

 त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए। मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए। यता प्रहरीले भने ड्युटीमा खटिउका जवान रवि रञ्जन गुप्तालाई मोक्तानले आक्रमण गरेपछि अवस्था बिग्रिएको बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .