समाज


साना हतियारको खतराबारे एसिया–प्रशान्त क्षेत्रको तीन दिने सम्मेलन

साना हतियारको खतराबारे एसिया–प्रशान्त क्षेत्रको तीन दिने सम्मेलन

नेपालखबर
माघ ९, २०८० मंगलबार १९:३८, काठमाडौँ

अवैध साना हतियारको खतरालाई सम्बोधन गर्न एसिया–प्रशान्त क्षेत्रका राष्ट्रको तीनदिने सम्मेलन काठमाडौँमा आजदेखि सुरु भएको छ।
 
साना तथा हलुका हतियारको अवैध व्यापार रोक्न र उन्मूलन गर्न संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको चौथो समीक्षा सम्मेलनका लागि आयोजित क्षेत्रीय तयारी बैठकमा ‘युनाइटेड नेशन प्रोग्राम अफ एक्सन’ (युएन पिओए)का सबै पक्ष र यसको ‘इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्ट’का बारेमा तीनदिनसम्म छलफल हुनेछ।
 
सम्मेलनमा भाग लिन चौथो समीक्षा सम्मेलनका मनोनित अध्यक्ष कोस्टारिकाका मारिट्जा चान भाल्भेर्डे र निशस्त्रीकरण मामिलाका लागि संयुक्त राष्ट्रसङ्घका उपसचिव एवं उच्च प्रतिनिधि इजुमी नाकामित्सु र एसिया क्षेत्रका २५ भन्दा बढी राष्ट्रका प्रतिनिधि उपस्थित छन्। 
 
संयुक्त राष्ट्रसङ्घको महासभामा सन् २००१ मा स्थापित ‘युएन पिओए’ एक महत्वपूर्ण र राजनीतिक रूपले बाध्यकारी संयन्त्र हो।

यसमा साना हतियारमाथि परिष्कृत राष्ट्रिय नियमावली, भण्डार व्यवस्थापन, आयात तथा निर्यात नियन्त्रण र अन्तर्राष्ट्रिय सहयोगलगायतका उपायलाई अभिवृद्धि गर्न सदस्य राष्ट्रका प्रतिबद्धता सामेल छन्।
 
सन् २००५ मा भएको इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्टको सुरुआतले हतियारको प्रभावकारी अङ्कन गर्ने र अभिलेख राख्ने आवश्यकतामा जोड दिँदै यस संयन्त्रलाई थप सुदृढ गर्नुका साथै र ट्रेसिंग कार्यलाई सहज बनाएको थियो।

यी कदम अवैध हतियारको व्यापारबाट उत्पन्न हुने चुनौतीलाई सम्बोधन गर्ने वैश्विक प्रयासका अभिन्न अंंश हुन् र दिगो विकासका लक्ष्यका उद्देश्यअनुरूप छन्।
 
संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले आवधिक रूपमा न्युयोर्कमा २०८१ असार ३ देखि १४ गतेसम्म हुने चौथो समीक्षा सम्मेलनमा प्रतिबद्धताको प्रगतिसम्बन्धी समीक्षा गरिनेछ।

बैठकका लागि आधार तयार गर्न तयारी समितिको बैठक यही माघ २९ देखि फागुन ४ गतेसम्म बस्नेछ। नेपाल सरकारसँगको सहकार्यमा एसिया तथा प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय केन्द्रले काठमाडौँमा यस तयारी क्षेत्रीय बैठकको आयोजना गरेको हो।
 
क्षेत्र निर्दिष्ट साना हतियार तथा हलुका हतियारसम्बन्धी चुनौती पहिचान गर्न र समीक्षा सम्मेलनका प्राथमिकताबारे छलफल गर्न क्षेत्रीय बैठकले नागरिक समाज संस्थालगायत सहभागी राष्ट्र तथा अन्य सरोकारवालासँग छलफल गर्नेछ।

बैठकले प्रभावकारी राष्ट्रिय नीति तर्जुमा गर्ने, इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्ट प्रारूपमार्फत साना तथा हलुका हतियारको ट्रेसिंग बढाउने र माग तथा आपूर्ति नियन्त्रण गर्न रणनीति पहिचान एवं तर्जुमा गर्नेजस्ता विषयमा विषयगत प्रस्तुति र समूहगत छलफल गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad