ad ad

समाज


कहाँ छन् प्रहरीले सिन्धुली आश्रममा नभेट्टाएका बमजन?

कहाँ छन् प्रहरीले सिन्धुली आश्रममा नभेट्टाएका बमजन?

यज्ञराज जोशी
माघ २४, २०७६ शुक्रबार ७:५७,

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा रामबहादुर बमजनविरुद्ध बाल यौन दुर्व्यवहारको आरोपमा मुद्दा पर्यो। मुद्दा परेलगत्तै कार्यालयले बमजनविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी माग्यो।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी प्रतिकसिंह राठौंरका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारेमा रहेको आश्रममा बमजन रहेको सुचनाका आधारमा बिहीबार साँझ नै सिन्धुली प्रहरीलाई पक्राउ पुर्जी पठाइएको थियो।

शुक्रबार बिहानै ६ बजे सिन्धुली प्रहरीको टोली आश्रममा बमजनलाई पक्राउ गर्न पुग्यो। प्रहरी आफ्ना गुरुलाई पक्राउ गर्न आएको सुचना पाएपछि बमजनसम्बद्ध बोधी धर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङ १५ मिनेटमै त्यहाँ पुगेका थिए।

सिन्धुलीका स्थानीय बासिन्दा समेत रहेका घिसिङका अनुसार ३ वटा ट्रक र बाँकी भ्यानहरु गरी ८–९ वटा साधनमा पुलिसहरु आश्रममा पुगेका थिए।

‘म आश्रम पुग्दा ८–९ वटा गाडीहरुमा आएका प्रहरीले सर्च (खोजी) गरिरहेका थिए। खोजी गरिरहेका बेला मलाई पनि आश्रममा पस्न दिएको थिएनन्,’ घिसिङले नेपालखबरसँग भने।

बिहान ११ बजे नेपालखबरले सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख रञ्जु सिग्देलसँग सम्पर्क गर्दासमेत प्रहरीको सर्च अभियान जारी थियो। प्रहरीले आश्रम पुरै खोजी गर्दा समेत बमजन फेला नपरेपछि त्यस वरपरको क्षेत्रमा समेत खोजी गरिएको तर बमजन कतै फेला नपरेको एसपी सिग्देलले बताइन्।

‘जहाँ उनी छन् भन्ने सूचना पाइएको थियो, प्रहरी टोली पुग्दा उनी त्यहाँ भेटिएनन्,’ एसपी सिग्देलले भनिन्, ‘बमजन नभेट्टिएपछि आश्रमका एकजना गुरुलाई सोधपुछका लागि प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।’

सिग्देलले पक्राउ परेकाको नाम भने आफूलाई जानकारी नभएको र टोली फर्केपछि मात्रै जानकारी हुने बताइन। घिसिङका अनुसार बमजनका शिष्य ज्ञानबहादुर बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘दिउँसो छोडिदिने गरि सोधपुछका लागि लगिएको प्रहरीले भनेको छ,’ घिसिङले भने।

बमजम फेला नपरेपछि ६–७ जना प्रहरी आश्रममै रहेको र बाँकी भने ज्ञानबहादुरलाई लिएर फर्किएको घिसिङले बताए। उनले आफूहरुको आस्थाको धरोहर आश्रममा बिहानै फिल्मी शैलीमा प्रहरी प्रवेश गरेकोमा दुख लागेको भएपनि प्रहरीको अनुसन्धानलाई सघाउने बताए।

कहाँ छन् बमजन?
बाल यौनदुर्व्यवहारका आधारमा पक्राउ गर्न लागिएका बमजनमाथि बलात्कार, हत्या, व्यक्ति बेपत्ताजस्ता आरोप लगाइएको छ। तर, उनका अनुयायी भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।

आश्रममा रहेको सुचनाका आधारमा ठूलो संख्यामा प्रहरी परिचालन गरेपनि बमजम भने त्यहाँ भेटिएनन्। सिन्धुलीकी एसपी सिग्देल भन्छिन्, ‘कसरी फरार भएको भन्ने? प्रहरी पुग्दा उनी त्यहाँ रहेनछन्, खोजी जारी छ।’

बमजनसम्बद्ध बोधी धर्म श्रवण संघका केन्द्रीय सदस्य घिसिङका अनुसार उनीहरु जस्ता साधारण शिष्यलाई बमजनले ५–६ महिनामा मात्रै दर्शन दिन्छन्। तर, पक्राउ परेका जस्ता महागुरुसँग भने बमजनको सम्पर्क भइरहन्छ।

‘हामीले गत असारमा नै गुरु(बमजन) महाध्यानमा जानुभयो भन्ने जानकारी गराइसकेका थियौं,’ घिसिङले भने, ‘गुरु आश्रममा बस्नुहुन्न तर सिन्धुलीमै जंगलमा हुनुहुन्छ। कहाँ हुनुहुन्छ थाहा भएन।’

प्रहरी आएपछि आश्रमबाट फरार भएको कुरो वाहियात भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .