काठमाडौंको टुँडिखेलमा आयोजित माघे संक्रान्ति तथा माघी महोत्सव समारोहमा अत्यधिक भिड हुँदा च्यापिएर ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टुँडिखेल मैदानमा थारु जाति र मगर जातिहरूको माघी मेलाको भिडभाडमा च्यापिएर ११ जना घाइते भएका हुन्।
परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार माघी महोत्सवस्थलमा प्रवेश गर्ने गेटमा अत्यधिक भिड हुँदा मानिसहरू च्यापिएका हुन्।
ढुंगेलले उनीहरू सबै घाइतेको अहिले वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारमा भइरहेको बताएका छन्।
घाइतेहरू
खोटाङको हलेशी तुवाचुङ नगरपालिका-१० घर भई ललितपुर पाटन ढोका बस्ने १२ वर्षीया त्रिसना मगर घाइते भएकी छन्।
उनको टाउकोमा चोट लागेको छ। अहिले बोल्न सक्ने अवस्थामा उनको उपचार भइरहेको छ।
सिन्धुपालचोक घर भई हाल ललितपुरको चामुण्डा बस्ने १२ वर्षीया अन्जना तामाङ पनि घाइते भएकी छन्। बोल्न सक्ने अवस्था रहेकी उनको निधारमा चोट लागेको छ।
धादिङको गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई काठमाडौंको फुटुङ बस्ने १९ वर्षीया रेजिना घलेको निधार र मुखमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेकी प्रहरीले जनाएको छ।
धनकुटा घर भई हाल ललितपुरको चाखुपाट बस्ने १६ वर्षीया निकिता मगर पनि घाइते भएकी छन्। उनको अनुहारमा चोट लागेको छ। प्रहरीले उनी बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ।
बर्दियाको राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३० वर्षीया रेखा चौधरीको पेटमा चोट लागेको छ। उनको पनि अवस्था बोल्न सक्नेछ।
प्युठानको खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौंको फुटुङ बस्ने १६ वर्षीया अनिसा केसीको दाहिने हातमा चोट लागेको छ।
कैलालीको भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने २५ वर्षीया कल्पना चौधरीको टाउकोमा लागेको छ।
सुनसरीको धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल बनस्थली बस्ने २२ वर्षीया मन्दिरा बस्नेतको बायाँ खुट्टा र कानमा चोट लागेको छ।
ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने ४० वर्षीया मिना थापा भिडमा च्यापिएर बेहोस भएकी छन्। उनलाई पनि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
कैलालीको घोडाघोडी गाउँपालिका घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीया रिजा रेस्मी मगरको पनि निधार र पेटमा चोट लागेको छ।
रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवा पृथ्वी बुढामगरको बायाँ खुट्टामा चोट लागेको छ। उनको पनि अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
Shares
प्रतिक्रिया