समाज


डेढ महिनापछि हिउँदे वर्षा हुँदै

तीन दिन यी स्थानमा पानी र हिउँ पर्ने सम्भावना
डेढ महिनापछि हिउँदे वर्षा हुँदै

फाइल फोटो : काठमाडौँ


नेपालखबर
माघ १, २०८० सोमबार ७:१८, काठमाडौँ

झन्डै डेढ महिनाको अन्तरालपछि देशका विभिन्न स्थानमा हिउँदे वर्षा हुने भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि कम्तीमा ३ दिनसम्म नेपालका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको हो। 

महाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जानकारी दिए। 

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छाैं’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘आजदेखि ३ दिन अर्थात् बुधबारसम्मै देशका विशेषगरी पहाडी भेगमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना देखिएको छ।’

मौसमविद् पुडासैनीका अनुसार गत डिसेम्बर ५ तारिख (मंसिर १९) यता नेपालका कुनै पनि स्थानमा पानी परेको थिएन। ‘अलि लामै समयको ग्यापपछि हिउँदे वर्षा हुन लागेको हो’, उनले भने। 

आज केही प्रदेशका पहाडी क्षेत्रमा पानी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

तर यस क्रममा कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

महाशाखाको बुलेटिनअनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

तर यस क्रममा राति कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

यसैबीच महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू्भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै तराईका धेरै स्थानमा लागेको हुस्सु/कुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तो छ तीन दिनको मौसम अनुमान-

 माघ १ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ ३ गते (बुधबार)

दिउँसो : कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका थोरै स्थान साथै बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad