पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो।
देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ।
विगत वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको छ । अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ। रासस
66
Shares

प्रतिक्रिया