समाज


सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति तिर्नुपर्ने

सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति तिर्नुपर्ने

नेपालखबर
पुस २५, २०८० बुधबार १६:४८, काठमाडौँ

जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र  पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ।

यही पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएका थिए। 

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो।

पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ। 

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ।

गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो।

यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो। पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको  थियो।

सजाय निर्धारणको फैसला सुनाइँदै। तस्बिर : सरोज बैजुउता सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो।

सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। 

२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन्।

त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। 

१८ वर्ष नपुगेकी नाबालिगमाथि करणी गरेको कसूरमा त्यसबेला सन्दीपलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग उनीमाथि थियो।

उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ। सोही आधारमा त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो। 

आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन्। उनको जाहेरी सन्दीप विदेशमा रहेकाले गौशाल प्रहरी वृत्तमा दिएकी थिइन्। 

त्यसबेला उनले काठमाडौंबाट नगरकोट लगेर, त्यहाँबाट फर्काएपछि सिनामंगलको होटलमा रातभर राखेर बलात्कार गरेको बयान दिएकी थिइन्।

प्रहरीले पनि २०७९ भदौ ५ गते राति एक होटलको ३०५ नम्बर कोठामा सन्दीपले बलात्कार गरेको अभियोग पत्र सरकारी वकिलमार्फत दर्ता गराएको थियो।

बलात्कार भएको जाहेरी दर्ता गरेपछि प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरेको थियो। 

जाहेरीपछि प्रहरीले सन्दीपलाई वेस्टइन्डिजबाट अमेरिका हुँदै आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो।

जाहेरी पर्दा विदेशमा रहेका सन्दीप २०७९ असोज २० गते नेपाल फर्किएका थिए। उनलाई त्रिभुवन विमानस्थलबाटै हत्कडी लगाए हिरासतमा लिइएको थियो। 

फैसलाबारे जानकारी दिइँदै

त्यसपछि असोज १८ गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालत पाटनले २०७९ पुस २८ गते धरौटीमा छाड्न आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा छाड्न आदेश दिए पनि विदेश जान प्रतिवन्ध लगाएको थियो। उच्चको आदेशअनुसार उनी २०७९ पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका थिए।

उच्चको उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सन्दीपले धरौटी घटाउन र विदेश जान लागेको प्रतिबन्ध हटाउन माग गरेका थिए। 

पीडित पक्षले भने सन्दीपलाई थुनामै फर्काउन माग गरेको थियो। तर सर्वोच्चले सन्दीलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध सर्तसहित हटाइदिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले प्रतिबन्ध हटाएसँगै सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते सर्वोच्च अदालतले यो मुद्दा तत्काल टुंग्याउनसमेत जिल्ला अदालतलाई आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .