ad ad

समाज


मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

फाइल फोटो/किराँत युवती


नेपालखबर
पुस २३, २०८० सोमबार २१:३५, काठमाडौँ

किराँत समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन्।

किराँत समुदायका अगुवाहरुले विधेयकमाथि संशोधन राख्दै माध्यामिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा, परम्परागत शिक्षा र आदिवासी ज्ञान शिक्षाका धारमा पढाइ हुने व्यवस्था गर्नुपर्ने बताए।

बैठकमा बोल्दै किराँत समुदायका अगुवा अमर तुम्वाहाङ लिम्बूले परम्परागत शिक्षा अन्तर्गत संस्कृत धारमा पढाइ हुने विद्यालयका अतिरिक्त गुरुकुल, गुम्बा, मुन्धुम/मुन्दुम/मुक्दुम, आश्रम तथा मदरसा शिक्षा लगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई समावेश गर्नुपर्ने बताए।

उनले शिक्षणको माध्यम भाषा मातृभाषा पनि हुनुपर्ने बताए। उनले गणित, विज्ञान र कम्युटरको शिक्षण अंग्रेजीमा पढाउने बाध्यकारी व्यवस्था गर्नु नहुने पनि बताए।

बैठकमा बोल्दै किराँत राई यायोख्याका कार्यबाहक अध्यक्ष जनक राईले पनि माध्यामिक शिक्षामा पढाइ हुने धारमा मुन्धुम/मुन्दुम/मुक्दुमलाई समावेश गर्नुपर्नेमा जोड दिए।

मातृभाषाको संरक्षण गर्नका लागि बालबालिकाहरुलाई मातृभाषामै शिक्षा दिनुपर्ने बताए। मातृभाषामा पढाउन नसकेको खण्डमा विभिन्न जातजातिका भाषा, संस्कृतिको संरक्षण हुन नसक्ने भन्दै कानून बनाउँदा यसतर्फ ध्यान पुर्याउनुपर्ने बताए।

त्यसैगरी बैठकमा बोल्दै किराँत समन्वय समितिका संयोजक अमृतबहादुर सुनुवारले विद्यालय तहमा मुन्धुम पढाइ हुनुपर्ने बताए। उनले पनि माध्यामिक तहमा आदिवासी शिक्षा सम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताए।

मातृभाषाका लागि शिक्षक दरबन्दीको पनि व्यवस्था हुनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .