ad ad

समाज


प्रधानमन्त्री नगएपछि ‘धरान उत्सवको’ अतिथि बन्न पुगे मेयर बालेन्द्र

प्रधानमन्त्री नगएपछि ‘धरान उत्सवको’ अतिथि बन्न पुगे मेयर बालेन्द्र

नेपालखबर
पुस २०, २०८० शुक्रबार १३:५३, काठमाडौँ

शुक्रबारदेखि सुरू भएको ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अतिथिका  रुपमा पुगेका छन्। 

मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिएका थिए। सुरुदेखि नै सहयोग आदानप्रदान गर्दै आएका धरान र काठमाडौंका मेयर शुक्रबार एकै मञ्चमा देखिएका हुन्। 

धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ। 

यसअघि यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए। तर प्रचण्डको सचिवालयले व्यस्तताका कारण धराउन आउन नसक्ने जवाफ दिएपछि मेयर साम्पाङ आक्रोशित भएका थिए।

धरान उत्सवको प्रमुख अतिथिका रुपमा आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री दाहालले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर हटाइदिएको उनले बताएका थिए। साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको राखेका छन्।  

मेयर राईले पुस १२ गते आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको राखेपछि दलहरू असन्तुष्ट छन्। 

यस्तोमा गत मंगलबार दलका कार्यकर्ताहरू मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर फेरि राख्न उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। 

‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र? कदापि गर्दिनँ!’, उनले भनेका थिए, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो। मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन।’

प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले काठमाडौंका मेयरलाई धरान बोलाएका हुन्। काठमाडौं र धरानका मेयर दुवैजना स्वतन्त्र निर्वाचित हुन्। उनीहरूका कामदेखि भनाइसम्मले सामाजिक सञ्जालमा चर्चा पाउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .