समाज


प्रहरीको आन्तरिक प्रतिवेदनः कैलाली र बालाजु काण्ड दोहोरिन नदिन बालकुमारीमा बल प्रयोग

१२४ सेल अश्रुग्यास, १८ राउन्ड आवाज मात्र आउने फायर र २० राउन्ड गोलीसहित हवाई फायर
प्रहरीको आन्तरिक प्रतिवेदनः कैलाली र बालाजु काण्ड दोहोरिन नदिन बालकुमारीमा बल प्रयोग

नेपालखबर
पुस १५, २०८० आइतबार ७:३४, काठमाडौँ

ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन पार्टी प्यालेसमा सत्तारूढ नेकपा एकीकृत समाजवादीको बैठक तीन दिनदेखि चलिरहेको थियो। अन्तिम दिनको बैठक चलिरहेकै अवस्थामा बिहान १२ बजेतिर सोही पार्टीका नेता एवं भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको झण्डावाल गाडी हुइँकिँदै चक्रपथ प्रवेश गर्‍यो।

करिब ५० मिटरको दूरी मात्र के पार गरेको थियो, प्रदर्शनरत युवाहरूको समूहले निशाना बनाइहाल्यो।

समूहले गाडी रोक्यो। पांग्राको हावा फुस्कायो। हावा फुस्काउन्जेल मन्त्री ज्वालालाई अंगरक्षकले गाडीबाट बाहिर निकालिसकेका थिए। केही युवाले मन्त्रीमाथि नै आक्रमण गर्नुपर्छ भनेर उत्तेजक आवाज निकाले। केहीले मन्त्रीलाई धकेल्न थाले। एकजनाले त खुँडाले हान् भनेको पनि सुनिन्थ्यो।

मन्त्री ज्वाला भन्दै थिए– तपाईंहरूको समस्या मेरो मन्त्रालयसँग सम्बन्धित होइन, मलाई किन रोक्नुहुन्छ?

अंगरक्षकले मन्त्रीलाई जसोतसो त्यहाँबाट निकालेर पार्टीको बैठकस्थलतिरै फर्काए।

मन्त्रीको ज्यान जोगियो। गाडीमा भिडले आगो लगाइदियो।

मन्त्रीको गाडी सँगसँगैजसो गरी पूर्वप्रधानमन्त्री झलनाथ खनालको गाडी पनि त्यही सडकको सर्भिस ट्रयाक भएर गएको थियो। तर त्यसमा झण्डा थिएन।

मन्त्री ज्वालाको गाडीमा झण्डा देखेपछि भिडले तारो बनाएको थियो।

कसरी भयो गोलीकाण्ड?

त्यो भिड बिहान ७ बजेदेखि नै नजिकैको ईपीएस कार्यालयमा जम्मा भएको थियो।

त्यहाँ उपस्थित भएकाहरू २५०० देखि ३००० को संख्यामा थिए। प्रहरीकै भाषामा उनीहरू, ‘नेतृत्वविहीन, अत्यन्तै उच्छृंखल, २० देखि ३० वर्ष उमेर समूहका, आवेदन फाराम भर्न नपाइने भन्ने मानसिकताले गर्दा बिहानैदेखि ईपीएस कार्यालयसँग रिसईबी साँध्ने मनसायले भेला भएका’ थिए।

बिहान ७ देखि साढे ११ बजेसम्म भिडलाई संयमसाथ सम्झाईबुझाई गरेको प्रहरीको भनाइ छ।

ग्वार्कोस्थित ईपीएस कार्यालयमा भेला भएको भिडलाई प्रहरीले नै लखेट्दै बालकुमारीतिर ल्याएको थियो। त्यसो गर्दा प्रहरीले तीनतिरबाट घेरा हालेको थियो। बालकुमारी र बागमती करिडोरलाई प्रदर्शनकारीलाई भाग्न सक्ने गरी खुला छाडिएको थियो।    

भिडलाई करिब ४०० मिटर पर धकेलिसकेपछि प्रहरी अधिकारीहरूले ईपीएस कार्यालय जोगाउन सफल भएको ठानेर राहत महसुस गरेका थिए।

उता नजिककैको पार्टी प्यालेसमा ३ दिनदेखि एकीकृत समाजवादीको बैठक बसिरहेको थियो। त्यसको केही पर ईपीएस कार्यालयमा दिनहुँजसो प्रदर्शन र तनाव चलिरहेको थियो। पार्टी प्यालेसमा संघदेखि प्रदेश तहका मन्त्रीका झण्डावाल गाडी ओहोरदोहोर भइरहेका थिए।

अदालतले ईपीएसमा १८ जना मात्र योग्य हुने आदेश दिएपछि युवा भड्किएका थिए। यो विषय सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरमार्फत् उपल्ला निकायहरूमा पठाइएको पनि थियो।

प्रहरीको रिपोर्टिङअनुसार, करिब साढे ११ बजेतिर भिडबाट ढुंगा हान्न सुरू गरियो। तोडफोड पनि हुन थाल्यो। केही ढुंगा प्रहरीलाई पनि लागे।

यो क्रम १५ मिनेट जति चल्यो। ११.४५ तिरबाट अवस्था सामान्य हुँदै थियो। केही गाडी पनि चल्न थालिसकेका थिए।

ईपीएस कार्यालयबाट करिब २ हजार ५ सय जनाको समूहबाट सुरु भएको प्रदर्शनमा सहभागिता भने बढ्दै गएको थियो। बालकुमारी पुग्दासम्म झण्डै ६ देखि ७ हजारको संख्या पुगिसकेको प्रहरीको भनाइ छ।

जब १२ बजेतिर मन्त्री ज्वाला पार्टी बैठकबाट निस्केर सिंहदरबारतिर हुइँकिए, भिडको निशानामा परिहाले।

प्रहरीले भिड तितरबितर पार्न खोज्दा आकाशे पुल र वरपरबाट ढुंगा बर्सिए।

सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीका १५० र सशस्त्रका १३० गरी २८० जनाको जनशक्ति तैनाथ थियो।

मन्त्रीको गाडी जलाउन थालेपछि भने प्रहरी आक्रामक कारबाहीमा उत्रियो। भिड हटाउन लाठी चार्ज गर्‍यो। ढुंगामुढा हुन थालेपछि अश्रु ग्यास र हवाई फायर सुरु गर्‍यो।

त्यस क्रममा १२४ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीको विवरण छ। त्यस्तै पड्किएको आवाज मात्र आउने गरी १८ राउन्ड हवाई फायर र गोलीसहितको फायर २० राउन्ड खोलिएको छ।

प्रहरीको गोली लागी अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ का वीरेन्द्र शाहको मृत्यु भयो। उनको नाइटोमुनि गोली लागेको छ।

दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको पनि सोही घटनामा मृत्यु भएको छ। तर उनलाई गोली भने लागेको छैन। कुनै खम्बामा ठोकिएर वा अश्रुग्यासको सेल लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ। शुक्रबार जारी विज्ञप्तिमा भने भागदौडमा मृत्यु भएको भनी प्रहरीले उल्लेख गरेको छ। पोस्टमार्टम रिपोर्ट नआई यकिन भन्न नसकिने प्रहरी अधिकारी बताउँछन्।  

मन्त्री ज्वालाले भने प्रहरीले समयमा हस्तक्षेप गर्न नसक्दा ठूलो क्षति भएको प्रतिक्रिया सञ्चार माध्यमलाई दिएका छन्। उनले घटनाको २० मिनेटसम्म पनि प्रहरी नआएको गुनासो गरेका थिए।

प्रहरी अधिकारीहरूका भनाइमा, फिल्डमा खटाइएका कमान्डरले रिपोर्टिङ गरेर थप मद्दत माग्ने र माथिबाट पठाउने अवस्था थिएन। बाटो पूरै जाम भइसकेको थियो।

प्रहरीका भनाइमा १०-१५ मिनेट भिड छिचोल्न नै समय लाग्यो। तर, २० मिनेट नै ढिलो भएकोचाहिँ होइन।  

आदेश कसको?

बालकुमारी तनावमा गोली चलाउने आदेश कसले दियो? यति ठूलो बल प्रयोग आवश्यक थियो कि थिएन? अहिलेको अहं प्रश्न यही हो।

सरकारी निकायमा आफू जिम्मेवारी नलिने र अर्काको थाप्लोमा सम्पूर्ण जिम्मेवारी हाल्ने क्रम चलिरहेको छ।

यसै क्रममा प्रधानमन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले प्रहरी नेतृत्वलाई, प्रहरी नेतृत्वले जिल्ला तहका अधिकारीलाई र ती अधिकारीले अझै तल्लो तहलाई दोषी देखाएर आफू चोखो देखिने प्रयास गरेको देखियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई शनिबार सम्बोधन गर्ने क्रममा अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको भनेका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै फिल्डमा खटिएका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बनको निर्णय गरेका थिए। लम्साल ललितपुर प्रहरीका अपरेसन इन्चार्ज पनि थिए।

ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई पनि निलम्बन गरिएको छ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह तानिएको छ भने प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई हेड्क्वाटर तानिएको छ।    

प्रहरीभित्र यस घटनाको छानबिनका लागि प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको छ।

यसरी हेर्दा फिल्डमा खटिने प्रहरी कर्मचारीमाथि दोष थोपरेर उपल्ला तहमा रहेकाहरूले फेस सेभिङ खोजेको देखिन्छ।

पीएसओले लिएनन् सेक्युरिटी क्लियरेन्स

सामान्यतः भीआईपी आवागमनका क्रममा प्रस्थान गर्नुअघि बाटो र गन्तव्यको सुरक्षा अवस्थाबारे अंगरक्षकले जानकारी लिनुपर्छ। सुरक्षा संयन्त्रले मुख्य मार्गमा कुनै तनाव वा अवरोध भएको र हुन सक्ने देखेमा वैकल्पिक मार्ग सुझाउने गर्छन्। वैकल्पिक मार्ग पनि सहज नभए यात्रा रोक्न लगाउन पनि सक्छन्।

मन्त्री ज्वाला शुक्रबार पार्टी बैठकबाट सिंहदरबारस्थित मन्त्रालय जान लाग्दा भने अंगरक्षकले सेक्युरिटी क्लियरेन्स नलिएको पाइएको छ। उपत्यका प्रहरी स्रोतका अनुसार, अंगरक्षकले सेक्युरिटी क्लियरेसन्स लिएको भए वैकल्पिक मार्गबाट मन्त्रीको सवारी चल्न सक्थ्यो।

ज्यानै जानेसम्मको घटना नहुन सक्थ्यो।

त्यसो त बैठक सुरू हुँदाकै दिन बैठकस्थलमा सुरक्षा दिन खोज्दा एकीकृत समाजवादीका नेताहरूले प्रहरीलाई सुरक्षा नचाहिने भनेका थिए। त्यसैले प्रहरीले तीन दिनदेखि टाढैबाट हेरिरहेको थियो।

आन्तरिक प्रतिवेदनः नत्र बालाजु काण्ड दोहोरिन्थ्यो

फाइल तस्बिर

ललितपुर प्रहरीले उपल्ला निकायलाई दिएको प्रतिवेदनअनुसार, बल प्रयोग गरी परिस्थिति नियन्त्रणमा नलिएको भए बालाजु काण्ड दोहोरिने सम्भावना देखिएको थियो।

बालकुमारीमा बल प्रयोग गर्नुपर्ने कारणबारे उल्लेख गर्दै प्रहरीले अझै ठूलो क्षति हुन सक्ने अवस्था बनेको भए पनि बल प्रयोग गरेर रोकेको भनेको छ।

प्रतिवेदनमा लेखिएको छ– ‘भिडले घटनालाई अराजक बनाई कसरी सरकारको ध्यानाकर्षण गर्न सकिन्छ भन्ने मानसिकतामा बिस्तारै उग्र हुँदै गएको, भिडले प्रहरीमाथि ढुंगामुढा गरी होहल्ला गरेको, ड्युटीमा खटिएका प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गर्दा नेपाल प्रहरीतर्फका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार सशील सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीतर्फका ४ जना सुरक्षाकर्मी घाइते भएपश्चात् आक्रोशित भिड तितरबितर गर्न अश्रुग्याँस प्रहार गरिएको हो।’

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘सोही समयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको सवारी साधन भिडले नियन्त्रणमा लिएर आगजनी गर्न लागेकोले तत्काल प्रहरी पुगेर उद्धार गर्नू भन्ने आदेश आएपछि ईपीएसको कार्यालयको गेटमा खटिएको प्रहरी टोली त्यस स्थानतर्फ जानको लागि सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पार्ने प्रयास गर्दा भिड झन् अराजक भई प्रहरी टोलीमाथि नै ढुंगामुढा गरी आक्रमण गरेकोले प्रहरीले सिलसिलेवार बल प्रयोग गर्न बाध्य भएको हो।’

मन्त्रीको ज्यान जोगाउन पनि बल प्रयोग गरिएको प्रहरीको तर्क छ।

‘सोही समयमा भिडबाट कसैले मन्त्रीको गाडी रहेछ, मन्त्रीलाई गाडीमै राखेर जलाउनुपर्छ भन्दै होहल्ला गरेकोले खटिएका प्रहरी टोली मन्त्रीज्यूको ज्यानको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ सचेत रही मन्त्रीको गाडीलाई घेराबन्दीमा पारेको स्थानसम्म जानका लागि ठूलो संख्यामा रहेका भिडलाई छिचोल्नुपर्ने बाध्यता भएकोले बल प्रयोग गरिएको हो,’ प्रतिवेदनमा लेखिएको छ, ‘ठूलो संख्यामा रहेका भिडलाई छिचोल्ने क्रममा सामान्य बल प्रयोग गर्दा भिड झनै उत्तेजित हुन पुगेको र मन्त्रीको ज्यान जोखिममा पर्ने सम्भावित खतराबाट बचाउनकै लागि बाध्य भएर प्रहरीले हवाई फायर गर्नुपरेको। मन्त्रीको जिउज्यानमा खतरा भइसकेको, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमाथि तोडफोड र आगजनी भइरहेको, समयमै प्रहरीले बल प्रयोग नगरेको भए अत्यन्त ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आएकोले बल प्रयोग गरेको।’

भिडको उमेर, घटनाको प्रकृति, नेतृत्वविहीन भिडले गर्दा समयमै बल प्रयोग नगरेको भए कैलाली र बालाजुमा भएको घटनाको पुनरावृत्ति हुन सक्ने सम्भावनाको कारणले गर्दा प्रहरीले बल प्रयोग गर्न बाध्य भएको प्रस्टीकरण पनि ललितपुर प्रहरीले उपल्ला निकायलाई दिएको छ।

गत वर्ष फागुन १ गते यातायात मजदुरको प्रदर्शनका क्रममा प्रहरीका २ वटा गाडी जलाइएका थिए भने वरपरका पसल तोडफोड र लुटपाट भएका थिए। त्यस क्रममा दुईजना डीएसपी कारबाहीमा परेका थिए।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रदर्शनकारीले नै नियन्त्रणमा लिएर ७ सुरक्षाकर्मीको ज्यान लिएका थिए भने त्यही घटनामा एक दूधे बालकको समेत ज्यान गएको थियो।

प्रहरी प्रतिवेदनको अंश

‘बालाजुमा प्रहरीले कुनै कारबाही नगर्दा ठूलो क्षति भयो र प्रहरी अधिकृत नै कारबाहीमा परे,’ उपत्यकाका एक प्रहरी अधिकृत भन्छन्, ‘बालाजु घटनाबाट डराएको प्रहरी बालकुमारीमा अलि बढी आक्रामक कारबाहीमा उत्रियो। यहाँ कारबाहीमा उत्रिएवापत् कारबाही भोग्नुपर्ने अवस्था आयो।’        

भीआईपी आक्रमणको देशव्यापी जोखिम

‘राज्यमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारीलाई आफ्नो ज्यानको परवाह नगरी तदारुकताकासाथ गरेको कामबाट सृजित घटनाक्रमको परिणामलाई विश्लेषण गर्नका लागि घटना हुनुभन्दा तत्काल अघिको परिस्थिति के थियो भनी हेर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यदि प्रहरीले बल प्रयोग नगरेको भए त्यसबाट सृजित परिणाम अत्यन्तै भयावह हुने निश्चित भएकोले प्रहरीले बल प्रयोग गरेको हो।’ 

राजधानीमै भीआईपीमाथि गरिने यस्ता प्रकारका सांघातिक आक्रमणमा पनि प्रहरीले बल प्रयोग नगरेमा आगामी दिनहरूमा भीआईपीहरूको जिउज्यानको खतरा अझ बढ्ने नजिर कायम हुन सक्ने भएकोले पनि प्रहरीले बल प्रयोग गरेको नेपालखबरले प्राप्त गरेको दस्तावेजमा उल्लेख छ।  

राज्यविहीनताजस्तो परिस्थिति आउन नदिनका लागि शान्ति सुव्यवस्था कायम गर्ने क्रममा कसैप्रति आग्रह पूर्वाग्रह नराखी नागरिकको जिउधनको सुरक्षाको लागि बल प्रयोग गर्नैपर्ने बाध्यता आइलागेको व्यहोरा पनि ललितपुर प्रहरीको प्रस्टीकरणमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .