ad ad

समाज


१२ दिने अस्ट्रेलिया भ्रमण सकेर फर्किइन् उपमेयर डंगोल, के भयो उपलब्धि?

१२ दिने अस्ट्रेलिया भ्रमण सकेर फर्किइन् उपमेयर डंगोल, के भयो उपलब्धि?

नेपालखबर
मंसिर २४, २०८० आइतबार १५:२२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएकी छिन्। 

अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन्।

सो क्रममा उनले अस्ट्रेलियास्थित सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरूको भ्रमण गरिन्। स्वदेश फर्किए लगत्तै उनले आफ्नो भ्रमण सकारात्मक भएको जानकारी गराइन्।

डंगोलले भ्रमणका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद विभाग, सामाजिक नीति तथा महिला अन्तर्राष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरेका थिए। 

उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तिकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता र लैंगिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले जानकारी दिइन्। 

भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको उनको भनाइ छ। ‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु बार बारसँग भेट गरी काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भयो,’ उनले भनिन्, ‘उर्जा आवश्यकताको व्यवस्थापन, नेपाल र अस्ट्रेलियाबिच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रर्वद्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माण्बारे पनि आवश्यक साझेदारी गर्ने बारे छलफल भयो।’ 

भ्रमणका क्रममा मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रमका सन्र्दभमा सम्भावित साझेदारी र समन्वय गर्न अस्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको थियो।

भेटमा अस्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप–मूल्य र मान्यतालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उपप्रमुख डंगोलले जानकारी दिइन्।

भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरूसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र संस्कृतिक महत्व बोकेको मूर्त तथा अमूर्त संस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो।

‘सन् १९७१ पछि नेपालबाट गैरकानुनी रुपमा हटाइएको पद्मपनिको मूर्तिलाई न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीले सन् २०१० मा धेरै चरण लगाएर खरिद गरेको रहेछ। उक्त ऐतिहासिक महत्व बोकेको पद्मपनिको मुिर्तलाई नेपाल फर्काउने आवश्यक पहल र प्रक्रिया बारे कुराकानी भयो,’ डंगोलले भनिन्, ‘त्यसैगरी सिड्नी लोर्डका उपप्रमुख रोबर्ट कोकसँग भेटवार्ता भयो। भेटमा नेपाल र अस्ट्रेलियाका स्थानीय तहबीचको समानता र भिन्नता, स्थानीय न्यायिक समिति, सहरी योजना र विकासका प्राथमिकताको बारे छलफल भयो।’

भ्रमणकै सिलसिलामा उपप्रमुख डंगोलले (उत्तर सिड्नीको) अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा आयोजित महिला नेतृत्व र कार्यालयमा महिलाको सहभागिताबारे कार्यशालामा सहभागी भएकी थिइन्।

‘अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा ठूलो संख्यामा नेपाली विधार्थीहरू रहेको र विभिन्न क्षेत्रहरुमा नेपालको स्थानीय तहसँग साझेदारी र समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्न इच्छुक रहेको पाइयो,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिका र अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयबीच गर्न सकिने साझेदारी बारे प्राध्यापक, पुर्वविधार्थी संगठन र महिला उद्यमीसँग सकारात्मक छलफल भयो।’  

भ्रमणका सिलसिलामा न्यू साउथ व्हेल्सको निर्देशक र पुर्व अष्ट्रेलियन राजदुत क्रिसपिन कोनरोय र संयुक्त राष्ट्रसंघ महिलाकी प्रतिनिधि जेन रोनफेल्डसँग पनि भेटवार्ता भएको थियो। भेटमा दुई देश बीचको दुईपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र अनुभव आदानप्रदान गर्ने विषयमा केन्द्रित भएको थियो।

युनेस्को क्रिएटिभ सिटी अफ फिल्म सिड्नीको निर्देशक क्यास हेपवोर्थसँग पनि भेट भएको डंगोलले जानकारी दिइन्। ‘काठमाडौं महानगरपालिकालाई पनि युनेस्को क्रिएटिभ सिटीले पुरस्कार प्रदान गरेको हुँदा सिटी अफ फिल्म सिड्नीसँग गुणस्तरीय चलचित्र प्रवद्र्धन गर्न सम्भावित राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीबारे विस्तुत रुपमा छलफल भयो,’ उनले भनिन्, ‘उक्त भेट काठमाडौं महानगरपालिकालाई चलचित्र विकासलाई आर्थिक सहयोग गर्न, मार्गनिर्देशन प्रदान गर्न र चलचित्र मेला आयोजना गर्न थप सिकाई भयो। भेटले नयाँ र नविन कला, संस्कृति र नवीनता उद्योग सम्बन्धी नीति तयार गरि स्क्रिन पर्यटनको सम्भावनालाई समेत साकार बनाउन मद्दत गर्ने अनुमान गरेका छौँ।’

क्यानबेरा सहरसँगको दुईपक्षीय साझेदारीलाई सुदृढ गर्न विभिन्न अस्ट्रेलियाली सरकारी पदाधिकारीसँग पनि भेट भएको थियो। त्यसैगरी मिडल्याण्ड साउथ र केन्द्रीय एशिया शाखाका सहसचिव स्टिभेन बराक्लोग र एपीएस एयनबीका निर्देशक जो फ्रेडेरीकसेनसँग भेट भएको थियो। 
भेटमा नेपाली विधार्थीको लागि कर्जा, आवास, मूर्त तथा अमूर्त संस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्दन र आदिवासी जनजातिको हित र विकासबारे बृहत छलफल भएको उनले जानकारी दिइन्।

‘भ्रमणका क्रममा अस्ट्रेलियाली संघीय सरकारका माननीय पिटर खलिलसँग भेट भयो। उक्त भेटमा दुई देश बीचको संघीय प्रणालीबारे छलफल भयो,’ डंगोलले भनिन्, ‘भेटमा संघीय अभ्यास प्रभावकारिता र पारदर्शितालाई थप सशक्तिकरण गर्नका लागि सम्भावित साझेदारी र समन्वय बीच छलफल भयो।’ 

भ्रमणका सिलसिलामा अस्ट्रेलियाली राष्ट्रिय पुंजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँग पनि उपमेयर डंगोलले भेट गरेकी थिइन्।

‘भेटमा सहरी योजनाको प्राथमिकताहरुको प्रभावकारी ढंगले पहिचान गर्ने पद्धति, निलो – हरियो संजाल, आर्थिक पहँुचको विकास, अवसरको बिस्तार, सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजनातर्जुमा र सम्भावित साझेदारीबारे छलफल भयो,’ उनले भनिन्। 

उक्त कार्यक्रमभित्र विभिन्न अन्य कार्यक्रमहरुमा सहभागी हुन लागेको सम्पूर्ण खर्च अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले बेहोरेको महानगरपालिकाले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .