ad ad

समाज


पिताले गरे यौन हिंसा, आमाले घरनिकालाः समाजको पेलाइले बलियो बनेकी अनामिका

पिताले गरे यौन हिंसा, आमाले घरनिकालाः समाजको पेलाइले बलियो बनेकी अनामिका

नेपालखबर
मंसिर २१, २०८० बिहिबार २१:४६, काठमाडौँ

अनामिका सन्धु मोटिभेस्नल स्पिकर हुन्। उनले नृत्य प्रशिक्षण पनि दिन्छिन्। अनामिकाले आफ्नै पिताबाट यौन दुव्र्यवहारमा खेपेको तथ्य सार्वजनिक गरेकी छन्। 

उनको कथा पञ्जाबको पटियाला सहरबाट सुरु हुन्छ।

परिवार धेरै खुशी थियो। आमाबुवा र दुई बहिनी थिए। उनले भनेकी छन्, ‘मेरो परिवार कुनै शाही परिवारभन्दा कम थिएन। मेरो घरमा संसारको हरेक विलासिता थियो। र, मेरो जीवनमा त्योभन्दा भयंकर डर हाबी थियो।’

बाल्यकालका धेरै सम्झना पीडादायी रहेको उनले बताएकी छन्।

पीडादायी हुनुको कारण उनका पिता थिए। उनले बाल्यकाल सम्झँदै भनेकी छन्, ‘बुवा मेरो कोठामा आउँदा मलाई निकै डर लाग्थ्यो। मलाई लाग्थ्यो, आमा कतैबाट मेरो लागि आउनुहोस्, मलाई बचाउनुहोस् र यहाँबाट लैजानुहोस्।’

आमा नभएको बेला बुवाले पटकपटक हिंसा गरेको अनामिकाले स्मरण गरेकी छिन्। भनेकी छिन्, ‘एक दिन बुवा मेरो कोठामा आएर मलाई अनुचित ढंगले छुन थाल्नुभयो। मलाई पीडा भएको थियो। नराम्रो लागेको थियो। म डराएकी थिएँ र आफ्नो पीडा कसलाई सुनाऊँ भएको थियो।’

बुवाको अनुचित हर्कतबाट अनामिका भित्रैबाट टुटेकी थिइन्। आमा बहिनीलाई लिएर मामाघर गएको दिन बुवाले यौन हिंसा गरेको उनले उल्लेख गरेकी छन्। 

‘त्यो दिन बाबाले बुवाछोरीको सम्बन्धका सबै सिमाना बिर्सनुभयो,’ उनले भनेकी छन्, ‘म यति धेरै चिच्याएँ कि बुवा डराउनुभयो र पछि हट्नुभयो। आमा हजुरआमाको घरबाट फर्केर आउँदा मैले बुवाको कालो कर्मको बारेमा सुनाएँ।’

उनकी आमाले छोरीमाथि भएको अन्यायका बारेमा बुझ्न खोज्दा आमाले नै शारीरिक हिंसा खप्नुपरेको नमिठो पलबारे अनामिकाले भनेकी छन्, ‘आमालाई लात हानेर तिम्री छोरी झुट हो भन्नुभयो।’

उनले आमाले सहेको ठूलो हिंसा पनि सार्वजनिक गरेकी छिन्।

उनका बुवा हरेक दिन रक्सीले मातेर आउँथे। ऋामामाथि हिंस्रक व्यवहार गर्थे।

एक दिन उनका बुवाले कुटेर आमाको हात भाँचिदिए। आमाको शरीरभरिका घाउबाट रगत बगेको थियो। त्यसको भोलिपल्ट आमाले अनामिकाका ३ दिदीबहिनी च्यापेर घर छोडेर हिँडिन्। 

अनामिकाकी आमा ३ छोरी लिएर माइत गएकी थिइन्। उनीहरूले केही समय सामान्य जीवनयापन गरे। तर, गाउँमा उनीहरूको टीकाटिप्पणी हुन थाल्यो। उनकी हजुरआमालाई आफन्तले सोध्न थाले, ‘चार छोरीको खर्च कसरी जुटाउछेस्।’

त्यसपछि उनीहरूलाई त्यहाँबाट पनि घर निकाला गरियो। अनामिकाकी आमा छोरीमाथि भएको हिंसा सम्झेर श्रीमानको घर फर्किनन्। 
जीविकाका लागि उनकी आमाले अरूको घरमा काम गरिन्। काम गरेवापत् उनीहरूले एक छाक खान पाउँथे। अनामिका आमालाई पढ्ने रहर सुनाइरहन्थिन्। घरधनीले भनिन्, ‘सहरमा एउटा अनाथालय छ, त्यहाँ पढ्न पठाऊ।’

अनामिका अनाथालय गइन्। त्यहीँ बसेर १० कक्षाको पढाइ पूरा गरिन्। उनको सपना डाक्टर बन्ने थियो। भन्छिन्, ‘सपना एउटा, भाग्यको योजना अर्कै थियो।’

उनको जीवनले १७ वर्षको उमेरमा अर्कै मोड लियो। १० कक्षाभन्दा बढी पढ्न नसकेर विवाह गरिन्। 

विवाहको समय सम्झँदै उनी भन्छिन्, ‘सबैले बिहे गर, जिन्दगी सहज हुन्छ भन्थे। विवाहको एक वर्षसम्म सबै कुरा राम्ररी चल्यो। तर, जब मेरो छोरो १० महिनाको भयो, त्यो व्यक्तिले आफ्नो स्वभाव देखाउन थाल्यो। श्रीमानको विवाहेतर सम्बन्ध सार्वजनिक भयो।’

श्रीमानको अर्को महिलासँगको सम्बन्ध थाहा पाएपछि उनले श्रीमानका विरुद्ध आवाज उठाइन्। त्यसपछि श्रीमानले पिट्न थाले। श्रीमानको दमन सहन नसकेर उनले पनि आमाले झैं घर छोडिन्।

विडम्बना, त्यसबखत उनलाई आमाले पनि साथ दिइनन्। भनिन्, ‘तँ यसरी आएपछि तेरा बहिनीहरूलाई कसले विवाह गर्छ?’
‘आमाका यी कुरा सुनेर मलाई लाग्यो, म यहाँ बसेँ भने दिदीबहिनीको जीवन पनि बिग्रन्छ। मैले मेरो छोराको बारेमा सोचें। पतिलाई पनि

मौका  दिनुपर्छ भन्ने लाग्यो। श्रीमानकै घर फर्किएँ।’

दाम्पत्य सुध्रिन नसक्ने बिन्दुमा पुगिसकेको थियो। स्थिति झन् बिग्रिँदै गयो।

११ वर्ष श्रीमानसँग बसेकी अनामिकाले हरे दिन दुव्र्यवहार सहेको बताएकी छन्। भन्छिन्, ‘दैनिक दुर्व्यवहार र कुटपिट सहनुपर्थ्यो। यी ११ वर्षको दौरान मलाई अनैतिक सम्बन्धको आरोप लगाइयो। पैसा कमाएर घरायसी काम गरे पनि मेरो चरित्रको आलोचना हुन्थ्यो। यार, गलत ऊ थियो, चरित्र मेरो प्रभावित भएको थियो।’

उनको धैर्यको बाँध फुट्यो।

यो सन् २०१६ को कुरा हो। उनको चरित्रमाथि उठेका प्रश्नलाई सहन सकिनन्। छोरो १० वर्षको भएको थियो। उनले यो नरकमा नबस्ने निर्णय गरिन्। भन्छिन्, ‘अब म यो नरकमा निसास्सिएर बाँच्न चाहन्न भन्ने निर्णय गरेकी थिएँ। मैले छोरालाई लिएर त्यो घरको ढोका सदाको लागि छोडिदिएँ।’

घर छोड्ने निर्णय उनका लागि सजिलो थिएन। घर छोडेपछिका दिन झन् असहज भए। जागिर खोज्न जाँदा पनि आफूले दुर्व्यवहार खेप्नुपरेको उल्लेख गरेकी छन्। विगतका पाना पल्टाउँदै उनले भनेकी छन्, ‘मानिसहरूलाई थाहा थियो कि म एक्लो र असहाय महिला हुँ। अवस्था यति नाजुक थियो कि मैले १० वर्षको बच्चालाई एक हप्तासम्म अचार र रोटी मात्र खुवाएँ।’

मानिसहरूको तीतो शब्द र नराम्रो हेराइले उनलाई बलियो बनायो। उनले पढेर ठूलो कम्पनीमा जागिर खाने र मानिसहरूलाई जवाफ दिने अठोट गरिन्, पढिन्। एक दिन भटिण्डाको एउटा ठूलो विद्यालयमा मार्केटिङ प्रमुखको रूपमा नियुक्त भइन्। उनी भन्छिन्, ‘क्यानडाको एक टिभी च्यानलबाट प्रस्तोताको प्रस्ताव आयो। जसमा म जोडिएँ। यो मेरो लागि ठूलो कुरा थियो। निकै दुःखद् जीवन बिताएकी केटी आज अन्तर्राष्ट्रिय टिभी च्यानलमा देखिनु गर्वको कुरा थियो।’

अनामिका अहिले ‘छोरी बचाउ’ अभियानमा जोडिएर जीवन जिउन प्रेरणायुक्त प्रशिक्षण दिने गर्छिन्। 
 

दैनिक भास्करबाट साभार
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .