ad ad

समाज


पाँचपटक डिभोर्स गर्नुस् तर अन्यायविरुद्ध बोल्न नछाड्नुस् : जानकी पाण्डे

‘छोरीले बुबाको माया पाओस् भनेर बिहे गरेँ, अहिले सुरेन्द्र मेरो श्रीमान् हो भनेर मुचुल्का उठाउँदै हिँड्नुपर्‍यो’
पाँचपटक डिभोर्स गर्नुस् तर अन्यायविरुद्ध बोल्न नछाड्नुस् : जानकी पाण्डे

तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
मंसिर १६, २०८० शनिबार ८:५, काठमाडौँ

छोरी भएर जन्मिएपछि सहनु पर्छ। श्रीमानले अन्याय गरेपनि बोल्न हुँदैन। सहेर बस्नु पर्छ, श्रीमानको घर छोडेर निस्कनु हुँदैन। छोरीले घर छोडेर हिँडे माइतीको इज्जत जान्छ। अरु थुप्रै छोरीहरुलाई जस्तै जानकी पाण्डेलाई पनि यही सिकाइयो। त्यसैले आफू कानुन व्यवसायी भइसकेपछि पनि एक हदसम्म अन्याय सहेर बसेको जानकी बताउँछिन्।

प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन्। तर, त्यो पहिलो वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन। उनले ४ वर्षकी छोरी साथमा लिएर २०७१ सालमा पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन्। त्यसका लागि ४ वर्ष लामो मुद्दा खेप्नु पर्यो।

सम्बन्धविच्छेदका बेला भोगेका कानुनी अल्झन सम्झिएर जानकी दिकदार हुन्थिन्। उनका दाजु डिल्ली आचार्य कानुन र न्यायकै क्षेत्रमा थिए। उनले एक दिन दाजुलाई भनिन्, ‘दाजु म कानुनका कुरा बुझ्दै बुझ्दिनँ।’ 

दाजुले भने, ‘कानुन पढ्नु पर्छ नानु।’

त्यसपछि कलेज पढाउँदै गरेकी जानकी कानुनकी विद्यार्थी भइन्। 

एलएलबी पास गरेपछि उनलाई एलएलएम पनि गर्ने रहर लाग्यो। त्यतिबेला उनको एउटै सपना कानुन व्यवसायी बनेर दुःखी महिलाका लागि काम गर्ने थियो। कलेज भर्ना भइन्, तर उनको नियमित कजेल जानसक्ने अवस्था थिएन। एक्ली आमा, छोरीको जिम्मेवारी, आफ्नै जीवन निर्वाह पनि गर्नुथियो। जानकी कलेजमा छुटेका कुरा राम्रोसँग बुझाएर सिकाउन सक्ने मास्टरको खोजीमा थिइन्। त्यही क्रममा उनकी साथी निर्मला दंगालले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले कानुन राम्रोसँग बुझाउन सक्ने बताइन्।

 

त्यसपछि जानकीले सुरेन्द्रलाई सामाजिक सञ्जालमा खोजेर एड गरिन, अनि म्यासेज गरिन्, ‘सर म तपाईंसँग सिक्न चाहन्छु।’ त्यसबेला सुरेन्द्र रुसमा थिए। सामाजिक सञ्जालमै उनीहरुको नियमित कुराकानी हुन्थ्यो। जानकी आफ्नै काममा व्यस्त हुन्थिन्। 

सुरेन्द्रले अनौठा म्यासेज गर्न थालेपछि उनले उनका दाजु डिल्ली आचार्यलाई भनिन्। डिल्लीले भने, ‘उनी राम्रो मान्छे हुन्।’ दाजुले राम्रो भनेपछि पक्कै राम्रो होला भन्ने विश्वास जानकीलाई भयो। उनी पनि राम्रै रेस्पोन्स गर्न थालिन्। प्रेमकै जस्ता कुरा आउन थालेपछि पुनः दाजुलाई भनिन्। 

‘जीवनसाथीका रुपमा एक–अर्काको साथी भयौ भने पनि तिमीहरुको जीवन राम्रो हुन्छ,’ डिल्लीले जानकीलाई सुझाए। सुरेन्द्र पहिला नै दुई वटा सम्बन्धविच्छेद गरेर बसेका थिए। जानकीले दाजुलाई फेरि प्रश्न गरिन्, ‘उसको दुई पटक सम्बन्धविच्छेद कसरी भयो त?’

उनका दाजुले सजिलै भने ‘केटी खराब परेर हो।’

६ वर्षअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसँग जानकीले विवाह गरिन्। अहिले जानकीलाई यही विवाह गलाको पासो भएको छ। ‘ऊ मेरो श्रीमान् हो भनेर समाजको मुचुल्का उठाएर हिँड्नु परेको छ,’ जानकीले सुनाइन्।

जानकीका अनुसार उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो। बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन्। केही समय सम्बन्ध सुमधुर रहे पनि लामो समय जानकी र सुरेन्द्र सहयात्रामा खुसी रहन सकेनन्। उनीहरुको वैवाहिक जीवनमा यो ६ वर्षमा थुप्रै उतार–चढाव आए।

सुरेन्द्रको व्यवहार बिस्तारै परिवर्तन हुँदै गएको थियो। उनी बेलामा घर नआउने, म काममा हुन्छु मलाई फोन नगर भन्ने, खाना खाने बेलामा अनेक बहाना निकालेर निहुँ खोज्ने गर्न थालेका थिए। जानकी अचम्ममा पर्थिन्। उनलाई रिस उठ्थ्यो तर रिस मार्थिन्। कारण सुरेन्द्र उनकी छोरीलाई असाध्यै माया गर्थे। छोरी बुबासँग खुसी थिइन्। ‘छोरीलाई दिएको माया हेरेर म उसलाई केही भन्न सक्दिनथेँ। मलाई चाहिएको पनि श्रीमानभन्दा छोरीको बाबा थियो,’ जानकीले सुनाइन्। 

एकदिन सुरेन्द्र ‘गोविन्द केसीको मुभमेन्ट छ, म असाध्यै व्यस्त हुन्छु, घर आउन ढिला हुन्छ, मलाई फोन नगर्नू’ भनेर घरबाट निस्किए। जानकी खाना कुरेर बसिन्। राति ११ बजे सुरेन्द्र घर फर्किए। 

‘सुरेन्द्रजीलाई खाना खान दिएँ। लुगा फोहर भयो भनेर निहुँ खोजिराख्नु भएको थियो, बिहान लुगा धुन पर्छ भनेर उनको ब्याग खोले। ब्यागमा युज गरेको कन्डम भेटियो। त्यो दिन घरमा ठूलो झगडा पर्यो। हात हालाहालै भयो। हाम्रो सम्बन्धमा दरार सुरु भएको त्यहीँबाट हो,’ जानकीले सुनाइन्। 

त्यसपछि पनि जानकीले आफ्ना दाजुलाई सबै कुरा भनिन्। उनका दाजुले बुझाइ गलत भयो होला भनेर सम्झाए। पहिलो घर बिग्रिसकेको र फेरि घर बिग्रिएको खण्डमा इज्जतमा धक्का लाग्ने उनका आफन्तको तर्क थियो। जानकीले पनि एक पटकलाई माफ दिने सोचिन्। उनलाई लागेको थियो, ‘गल्ती थाहा पाएर पनि माफ दिएपछि श्रीमान् सुध्रिनेछन्। जीवनमा खुसी फर्किने छ।’

तर त्यस्तो भएन। सम्बन्धमा थुप्रै प्रकारका समस्या देखा परे। समस्यै समस्यामा कहिले बेग्लै, कहिले सँगै रहेर सुरेन्द्र र जानकीको वैवाहिक जीवन अघि बढिरहेकै थियो।

सबैले सहनु पर्छ भन्थे। जानकीलाई यो शब्द मन पर्न छाडिसकेको थियो। उनलाई लाग्थ्यो, ‘सहनु भनेको के हो? कहाँसम्म र कहिलेसम्म सहने? मैले एकपटक सम्बन्ध विच्छेद गरिसकेको छु, त्यसैले सहने? उसोभए दुई पटक सम्बन्धविच्छेद गरिसकेको लोग्नेले सम्बन्ध बचाउन, आफ्नो कारणले मात्रै दुई वटा सम्बन्ध बिग्रिएको होइन भनेर प्रमाणित गर्न इमान्दार हुनु नपर्ने?’ 

झण्डै ८ महिनाअघि जानकी स्विट्जरल्यान्ड जानुपर्ने भयो। जानकीको पासपोर्टको म्याद सकिन लागेको थियो। उनले नवीकरणको प्रक्रिया थालेकी थिइन्। पासपोर्ट बनाउन अहिले राष्ट्रिय परिचय पत्र चाहिन्छ। त्यहाँ वैवाहिक स्थिति पनि खुलाउनुपर्ने भएपछि उनले सुरेन्द्रलाई विहे दर्ताका लागि आग्रह गरिन्। 

गएको चैतमा सुरेन्द्रले बिहे दर्ताको फारम भरे पनि बिहेको मिति भने ६ वर्षअघिको राख्न मानेनन्। बरू २०८० सालमा बिहे गरेको भनेर दर्ता गरौं भने। जानकीले बिहे भएकै मितिमा बिहे दर्ता गर्ने अडान लिइन्। ‘जहिले बिहे भएको हो त्यही मिति राखेर बिहे दर्ता गर्न मिलिहाल्छ। यत्रो वर्ष तिमी र म पतिपत्नी नै भएर बसेपछि अहिले बिहे गरेको किन बनाउने भनेर मैले प्रश्न गरेपछि उनले त्यसो भए मैले बिहे दर्तै गर्दिनँ भनेर हिँडे,’ जानकीले भनिन्।

त्यसपछि उनी ललितपुर महानगरपालिका–२५ को वडा कार्यालयमा बिहे दर्ताका लागि गइन्। वडा कार्यालयलाई नै सुरेन्द्रलाई सनाखतका लागि बोलाउन आग्रह गर्‍यो। वडाले बोलाए पनि सुरेन्द्र गएनन्। त्यसपछि जानकी महिला आयोग गइन्। 

‘बिहे दर्ता गरिदिनु भन्दा उल्टै मार्छु भन्ने धम्की आयो। मसँग मार्छु भनेर दिएको धम्कीको प्रमाण छ, आवश्यक परेको खण्डमा उपलब्ध गराउन सक्छु,’ जानकीले सुनाइन्। 

त्यसपछि जानकी श्रीमानले बिहे दर्ता अस्वीकार गरेको र मार्नेसम्मको धम्की दिएको उजुरी बोकेर महिला आयोग पुगिन्। आयोजमा उजुरी परेपछि सुरेन्द्रसँग आयोगले जवाफ माग गर्यो। सुरेन्द्रले महिला आयोगले मागेको जवाफमा २० पन्ना लामो जवाफी पत्र पठाएका छन्। उक्त जवाफी पत्रमा सुरेन्द्रले ‘आफ्नो छोरालाई घर निकाला गरेको, पूर्वपतिसँग अंश नलिएसम्म विवाह दर्ता नगर्ने भनेर जानकी आफैँले भनेको, जानकीसँग विवाह नगरी टीकाटालो मात्रै गरेको, जानकीले आफूलाई पटकपटक कुटपिट गरेको’ लगायतका आरोप लगाएका छन्।

तर, आफूले सुरेन्द्रसँग विवाह गर्नुअघि नै सुरेन्द्रका छोराले अंश लिएर गैसकेको जानकी बताउँछिन्। जानकी सुरेन्द्रलाई बेलाबेला कुटेको कुरा भने स्वीकार गर्छिन्। भन्छिन्, ‘म माफ दिन्थेँ, ऊ गल्ती दोहोर्‍याइ रहन्थ्यो!’

महिला आयोगमा सुरेन्द्रविरुद्ध उजुरी छ। जानकीलाई सुरेन्द्रका साथीहरु उजुरी फिर्ता लिन र नबोल्न धम्की सहितका म्यासेज पठाउँछन्। जानकी भने हिम्मत गरेर बाहिर आएकी छिन्। भन्छिन्, ‘मभन्दा अघि पनि दुई जना केटी उबाट मजस्तै भिक्टिम भैसके। उनीहरु बोल्न नसक्दा तेस्रो व्यक्ति मैले भिक्टिम हुनु पर्यो। म पनि बोलिनँ भने अर्को चौथो महिलाले भिक्टिम हुनु पर्छ। त्यसको दोषी म पनि हुन्छु। त्यसैले पनि मैले बोल्नु पर्छ।’

जानकीको माग विवाह गरेकै मितिको विवाह दर्ता हो। उनलाई थाहा छैन, सुरेन्द्रले त्यही मितिको विवाह दर्ता किन गर्न मानिरहेका छैनन्। 

भन्छिन्, ‘ऊ इमान्दार मानिस थियो, सम्बन्धमा रहेका बेला पनि अरु केटी लिएर हिँडेको थिएन, मलाई माया दिएको थियो भने म उसले जुन मितिमा भन्यो त्यही मितिमा विवाह दर्ता गर्थेँ। तर मलाई उसको विश्वास छैन। मेले विवाह दर्ता २०८० को गरौँला त्योभन्दा अघिको मितिमै अर्को कसैसँग विवाह गरिसकेको रहेछ भने मलाई बहु–विवाहको केस लाग्छ। फेरि २०८० को बिहे दर्ता गरेर यतिका वर्ष म उसँग के साइनोले बसेँ भनौँ? आफ्नो आत्मसम्मानको पनि त कुरा आउँछ।’

सुरेन्द्रले विवाहको नाममा ठगी गरेको आरोप लगाउँछिन्। आफूमाथि मानसिक हिंसा भएकोमा जानकी नमिठो महसुस गर्छिन्। उनकी छोरी १० कक्षा पढ्ने भइन्। ‘जुन छोरीले बुवाको माया पाओस् भनेर विवाह गरेँ, यो हालतमा देख्दा उसलाई के भएको होला?’ जानकीको चिन्ता छ।

जे भए पनि छोरीहरुले अन्यायका विरुद्धमा बोल्नु पर्छ भन्ने कुरामा जानकी विश्वस्त छिन्। भन्छिन्, ‘५ पटक पारपाचुके गर्नुस् तर अन्यायका विरुद्धमा बोल्न नछोड्नुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .