ad ad

समाज


आज धान दिवसः वर्षा नहुँदा रोपाइँमा समस्या

आज धान दिवसः वर्षा नहुँदा रोपाइँमा समस्या

नेपालखबर
असार १५, २०७६ आइतबार ३:२९,

आज १५ असार। १६ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव।

विभिन्न संघसंस्थाले धान रोपाइँ गरेर यो दिवस मनाउँदैछन्। तर, पर्याप्त पानी नपर्दा किसानले भने रोपाइँ गर्न पाएका छैनन्।

धान दिवस मनाइरहँदा देशभर १२ प्रतिशत मात्रै रोपाइँ भएको छ। गत वर्ष यति बेला २२.०७ प्रतिशत धान रोपाइँ सकिएको थियो।

चालू आर्थिक वर्षमा राम्रो मनसुनी वर्षा हुँदा धान उत्पादन राम्रो भएको थियो। तर, यस वर्ष साविकभन्दा झन्डै १० दिनपछि मनसुन सुरु भएको छ।

उच्च पहाडी तथा पहाडी क्षेत्र, काठमाडौँ उपत्यकालगायतका भूभागमा समयमा पानी पर्दा असार १५ सम्म लगभग रोपाइँ सकिन्छ। तराईमा भने साउनभरी पनि रोपाइँ चल्छ। गत वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो।

सरकारले पाँच वर्षमा धानको उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ।

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यो नेपालको इतिहासमा हालसम्मकै सबैभन्दा बढी हो।

गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

विश्व बैङ्कले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ।

आगामी आर्थिक वर्षका लागि सरकारले बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। त्यो लक्ष्य पूरा गर्न अहिले गरिरहेको धान रोपाइँको ठूलो महत्व छ।

धान उत्पादनसँगै उत्पादकत्व पनि बढिरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो वर्ष धान उत्पादन प्रतिहेक्टर ३.५१ मेट्रिक टन थियो।

चालू वर्ष सात दशमलव २७ प्रतिशतले बढेर तीन दशमलव ७६ प्रतिहेक्टर पुगेकाे कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.युवकध्वज जीसीले जानकारी दिए।

नेपालको मुख्य खाद्यान्न बाली धानको कुल खाद्यान्नमा ५८–६० प्रतिशत योगदान छ। कृषिजन्य कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान २० प्रतिशत छ।

नेपालमा १५ लाख हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। त्यसमध्ये करिब २५ प्रतिशतमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ।

धान उत्पादनको दृष्टिले उर्वर मानिने क्षेत्रमा अझै सिँचाइ पुग्न सकेको छैन।

नेपालमा नयाँनयाँ जातको धान विकास भइरहको छ। नेपाल कृषि अनुसन्धान परिषद् नार्कंका अनुसार हालसम्म नेपालमा बढी उत्पादन दिने ८३ उन्नत धानका जात छन्।

त्यसमा ४८ हाइब्रिड धानका जात सिफारिस भइसकेको छ। तीमध्ये धेरै धान नार्क आफैँले उन्मोचन गरेको हो। कतिपय परम्परागत धान भने लोप भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .