समाज


मंसिर ७ गते माइतीघर–बानेश्वर हाम्रै मान्छेले भरिन्छन्, ५० हजार उतार्छौं : महेश बस्नेत

शीर्ष नेताले सम्बोधन नगर्ने, पुरानो राष्ट्रियगान गाउनेलाई निगरानी
मंसिर ७ गते माइतीघर–बानेश्वर हाम्रै मान्छेले भरिन्छन्, ५० हजार उतार्छौं : महेश बस्नेत

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:१९, काठमाडौँ

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा देशभरबाट मानिस ल्याएर कार्यक्रम गर्न लागेकै दिन नेकपा एमाले निकट युवा संघले काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछ। 

मंसिर ७ गते गणतन्त्रको पक्षमा माइतीघरमा युवा संघले प्रदर्शन गर्ने एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले जानकारी दिए। प्रदर्शनमा ५० हजार मानिस उतार्ने बस्नेतले दाबी गरे। 

२३ वटा जनसंगठन, पेशाकर्मी, सहकारी पीडित, भूपु सैनिक प्रहरीसहित एमालेको उपत्यकाका तीनै जिल्ला, उपत्यका आसपासका जिल्लाबाट मानिसलाई काठमाडौं उतार्ने उनको भनाइ छ।

‘माइतीघर–बानेश्वर सडकखण्ड हाम्रै मानिसले भरिनेछन्,’ बस्नेतले नेपालखबरसँग भने, ‘युवा र अखिलका १५ हजारलाई परिचालन गरिनेछ। पहिलो, बीच र अन्तिम घेरामा उनीहरूलाई राखिएको छ।’

कार्यक्रमबारे प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षानिकायलाई जानकारी गराइएको उनले बताए।

‘कुनै घुसपैठ हुन दिइनेछैन, सबै व्यवस्था मिलाउँछौँ,’ बस्नेतले जिकिर गरे, ‘कार्यक्रम हुनु अघिदेखि नै प्रहरीसँग समन्वय गरेका छौँ।’

प्रसाईँ पक्ष र एमालेको युवासंघ पक्षबीच एकै ठाउँमा कार्यक्रम हुन लागेको छ। तर, बस्नेतले युवासंघबाहेक अरुको कार्यक्रम नहुने बताए।

‘हामीले एक/दुईदिनदेखि भेला र कार्यक्रम गरिरहेका छौँ, पर्सी ५ गते पाँच हजार स्वयंसेवकले काठमाडौंमा मार्चपास गर्छन्, ६ गते काठमाडौं उपत्यकाका ५० ठाउँमा एकैसाथ मशालजुलुस निकालिन्छ,’ बस्नेतले थपे।

उनका अनुसार कार्यक्रममा ठूला नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छैन। उपत्यकाका तीनै जिल्ला अध्यक्ष, बागमती प्रदेश अध्यक्षले सम्बोधन  गर्नेछन्।

व्यवस्था विरोधी र पुराना राष्ट्रिय गान गाउनेलाई बहिस्कार
युवा संघले व्यवस्था विरोधी, गणतन्त्र विरोधी नारा लगाउनेलाई हेरेर प्रहरी प्रशासनलाई जानकारी गराउने, बुझाउने भएको छ।

पुरानो राष्ट्रियगान गाउनेहरूलाई पनि निगरानी राखेर प्रहरी प्रशासनलाई सूचना दिने नीति लिएको छ।

‘अवैध रुपमा चन्दा उठाउने फेला पारे पक्राउ गरेर प्रहरीमा बुझाउँछौंँ, आज बिहान पनि काठमाडौं उपत्यकाका होटलमा सर्च अभियान चलायौं, अवैध रकम उठाएको, क्युआर कोडमार्फत रकम लिएको जानकारी पाए प्रहरी प्रशासनलाई जानकारी दिन्छौँ,’ बस्नेतले भने।

प्रसाईँले अहिलेसम्म काठमाडौंमा गर्न लागेको प्रदर्शनबारे सरकारी निकायलाई जानकारी दिएका छैनन्।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत युवासंघको कार्यक्रमबारे जानकारी गराउँदै उक्त दिन हुन आन्दोलनको स्वामित्व एमालेले लिने बबताएका छन्। साथै, उनले पार्टी कार्यकर्ताहरूलाई सो दिनको प्रदर्शनमा सहभागी हुन समेत आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .