ad ad

समाज


वीरको भेन्टिलेटरमा सुत्केरी पत्नी, आर्थिक अभावले छटपटिँदै पति

वीरको भेन्टिलेटरमा सुत्केरी पत्नी, आर्थिक अभावले छटपटिँदै पति

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १०:४०, काठमाडौँ

दोलखाको शैलुङ्ग गाउँपालिका-४ की २७ वर्षीया प्रतिमा थुलुङ (सुवेदी) ले यही कात्तिक ८ गते काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृहमा छोरालाई जन्म दिइन्। 

अप्रेसन गरेर छोरालाई जन्म दिएको तीन दिनपछि उनलाई थापाथलीका चिकित्सकले डिस्चार्ज गरे। 

त्यसपछि प्रतिमा आफ्ना पति अमृत सुवेदीसँगै तीन दिनको छोरालाई साथमा लिएर घर दोलखा फर्किन्।  

घर पुगेको केही दिन पछिदेखि नै उनलाई अचाक्ली पेट दुख्न थाल्यो। स्थानीय स्वास्थ्य संस्थामा ठिक हुन्छ कि भनेर केही दिन धाए। तर, ठिक भएन। त्यसपछि फेरि अमृतले सुत्केरी पत्नीलाई दोलखाबाट थापाथली अस्पतालमै ल्याएर भर्ना गरे। 

परीक्षणको क्रममा उनमा इन्फेक्सन देखियो। उनमा निमोनिया र एलर्जीको ममस्या पनि थप भएको चिकित्सकले बताए। केही दिन थापाथलीकै आईसीयूमा राखेर उनको उपचार भयो। 

यही कात्तिक २१ गते थापाथली अस्पतालले उनलाई वीर अस्पताल रेफर गर्यो। विगत तीन दिनदेखि उनको वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

‘थापाथली र वीरमा गरेर अढाई लाख रुपैयाँ खर्च भइसक्यो,’ प्रतिमाका बेरोजगार पति अमृतले भने, ‘अहिलेसम्म ऋणपान गरेर खर्च जुटायौँ, अब त ऋण दिने पनि कोही छैनन्, कसरी उपचार गर्ने होला?’

भेन्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ३०/३५ हजार औषधिमै खर्च भइरहेको उनले बताए। 

‘यति धेरै खर्च गरेर उपचार गर्नसक्ने हाम्रो आर्थिक अवस्था छैन,’ सुवेदीले भने, ‘बेच्ने जायजेथा पनि केही छैन।’

उनले आर्थिक अभावकै कारण पत्नीको उपचारमा समस्या सिर्जना भएपछि दाताहरुसँग सहयोगको लागि आग्रह गरेका छन्। 

‘अब परोपकारीहरुको साथ नपाए मैले पत्नीलाई बचाउन नसक्ने भएँ,’ निरास हुँदै सुवेदीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .