ad ad

समाज


काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो काञ्जी हाउस

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो काञ्जी हाउस

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार २०:४९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आजदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ। 

महानगरपालिकाका विभिन्न स्थानका सार्वजनिक ठाउँबाट नगर प्रहरी बलबाट खटिएका प्रहरीहरुले बाच्छाबाच्छी संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पुर्‍याएका छन्। 

काठमाडौँका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन्। यस्ता वेवारिसे चौपायाको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पूरा गर्दै महानगरपालिकाले काम थालेको हो। 

सडकमा भोक लाग्दा खान नपाउने, तिर्खा लागेका बेला पानी नपाउने, रोग लाग्दा उपचार नपाउने चौपायाले अब यस्तो करुण अवस्था भोग्नु नपर्ने महानगरपालिकाले बताएको छ। 

चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ। हेरचाह गर्न स्थानीय २ जनालाई दैनिक ज्यालादारीमा जिम्मेवारी दिइएको छ। 

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको जनाइएको छ। 

सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो। ‘प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोभिड लगायत समस्याबाट नियमित हुन सकेन,’ महानगरले भनेको छ, ‘यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो।’ 

यस ठाउँमा १२६ रोपनी जमिन छ। यो जमिनमा चौपाया पालनका लागि डाले तथा भुइँ घाँस लगाउन र क्षेत्र बारेर चरन बनाउन सकिने महानगरले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .