ad ad

समाज


दसैँ मनाउन माइत जाजरकोट गएकी थिइन् सुवर्णा, ‘भूकम्पले मुटु चुँडालेर लग्यो’

दसैँ मनाउन माइत जाजरकोट गएकी थिइन् सुवर्णा, ‘भूकम्पले मुटु चुँडालेर लग्यो’

रुपनी जिएम/रासस
कात्तिक २०, २०८० सोमबार २०:२, जानकी (बाँके)

‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ। अचानक घर हल्लायो। सपनाजस्तै लागेको थियो। उठ्न नभ्याउँदै घर भत्कियो। हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो। रुवाबासी मच्चियो। माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ। आमा र दाइ च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा यसरी सुनाइन् भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले। 

२६ वर्षीया यमुनाको भनाइअनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुतेका थिए भने तल उनको तीन जनाको परिवार। भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो। जब अचानक घरको माथिल्लो भाग खस्यो, त्यसपछि सबै घर भत्कियो। 

भाग्न नपाउँदै घरले उनको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो। उनले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाइन्, ‘‘हामी भाग्नै पाएनौँ। म, मेरो श्रीमान् र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो।’’ 

शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमान्‌लाई खाना बोकेर जाँदै गरेकी यमुनाले श्रीमान्‌को दाहिने कोखामा काठले चोट लागेको बताइन्। भूकम्पमा परेर उनको दाहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ। 

यमुना बिस्तारै हिँडडुल गर्न सक्छिन् भने उनका श्रीमान्‌लाई नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ। छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाडेकी छन्। एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनुपर्दाको पीडाले सताएको त छ नै। नसोचेको घटना भयो। आमा र दाइलाई गुमाउनुपर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताइन्। 

उनी भन्छिन्, “अस्पतालसम्म श्रीमान्‌लाई ल्याएपछि उहाँलाई केही हलुको भएको छ। अब त उहाँलाई केही हुँदैनजस्तो लागेको छ।” 

छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगन्ज श्रीमान्‌को उपचारमा आएकी यमुना भूकम्पले अझै तर्साइरहेको बताउँछिन्। उनी बेलाबेला एकोहोरो हुने, डराइरहेको जस्तो देखिन्छिन्। 

नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ। भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उनका परिवारका सबै सदस्य सकुशल नै छन्। छोराको टाउकोमा भने चोट भने लागेको छ। 

“भूकम्प जाँदा होस नै भएन। बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो। अस्पतालसम्म आइपुगेका छौँ। केही दिनमा ठीक होला भन्ने विश्वास छ”, उनी भन्छन्। 

छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्छन्- यादव। सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिँढीमा बसेर रोइरहेका यादवले उपचारमा खटिएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ। 

‘‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौँ। भूकम्प गएको क्षणभरमै घर भत्कियो। मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ। तर मेरा साढे ३ वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’’ यादवले रुँदै सुनाए। 

यादवजस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उनीहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शीघ्र उपचारको आशामा पर्खाइमा छन्। यमुना र यादवजस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा छिन्। ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ। 

दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नी सानीआमाका दुई दिदीबहीनीसँगै रातिको खाना खाएर सुतेकी थिइन्। आफ्नी छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाइन्। 
“हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ। आइतबार फर्कने हाम्रो तयारी थियो। तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर लग्यो”, सुवर्णाले रुँदै भनिन्। 

उनका एक छोरी र एक छोरी छन्। सपरिवार नै दसैँ मनाउन जाजरकोट गएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाइते भएको उनले बताइन्।

“चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ। छोरीलाई केही पनि नहोस्, चाँडै निको होस् भनी भगवान्‌सँग प्रार्थना गरिरहेको छु। भाग्यले उनलाई बचाएको छ। अब डाक्टरले पनि बचाइदिनुहुनेछ भन्ने आशा छ”, सुवर्णाले रुँदै भनिन्। 

चन्दा शाह पनि भूकम्पमा परी घाइते भएका श्रीमान् चाँडै नै निको हुने आशामा छिन्। भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीया चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाहिने खुट्टा भाँचिएको छ। विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुगेका पहिलो बिरामी हुन्। 

परिवारबाट १० वर्षदेखि अलग बसेका कार्कीलाई उनकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पुर्‍याएकी हुन्। चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्‌को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ छ। 

“भूकम्पले मेरो श्रीमान्‌लाई घाइते बनाए पनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ”, चन्दाले रुँदै भनिन्। विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्थे चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्थिन्। आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागेजस्तै भएको छ। 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगन्जको भेरी अस्पतालमा उपचार भइरहेको छ। अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। 

शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। प्रजिअ पोखरेलका अनुसार शनिबार राति साढे १२ बजेसम्म थप ६ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ। उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उनले जानकारी दिए। 

भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शय्या तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ। पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ। हेलिकप्टरबाट आउने बिरामीका लागि राझा विमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुईरदुईवटा एम्बुलेन्स तैनाथ गरिएका छन्।

बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात छ। अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए। 

जाजरकोट र रुकुमपश्चिममा गरी अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .