ad ad

समाज


सरकारको निष्कर्ष : नेपालगन्जको धार्मिक तनाव फेसबुक स्टाटसले मात्रै होइन

सरकारको निष्कर्ष : नेपालगन्जको धार्मिक तनाव फेसबुक स्टाटसले मात्रै होइन

सिंहदरबारमा बसेको सुरक्षा परिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असोज १७, २०८० बुधबार १९:४, काठमाडौँ

सरकारले बाँकेको नेपालगञ्जमा तीन दिनदेखि देखिएको दुई समुदायबीचको धार्मिक तनावमा भित्री कारण हुन सक्ने निष्कर्ष निकालेको छ।

पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

सिंहदरबारमा बसेको बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारे लामो छलफल गर्दै नेपालगञ्जको धार्मिक तनावको कारण अर्कै हुन सक्ने जनाएको हो। 

सम्बन्धित समाचार

‘एउटा फेसबुक स्टाटसकै आधारमा यति ठूलो संकट नआउनुपर्ने हो’, बैठकमा भएको छलफलबारे एक अधिकारीले नेपालखबरसँग भने, ‘यसको भित्री अरु केही कारण हुन सक्छ।’

नेपालगञ्जमा केही दिनअघि फेसबुकबाट लेखिएको एउटा स्टाटसका कारण तनाव भएको बताइएको थियो।

असोज ११ गते मुस्लिम समुदाय मोहम्मद डेमा व्यस्त रहेका बेला नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर फेसबुकमा आपत्तिजनक कुरा लेखेका थिए।  

जार्बुद यादव नामको फेसबुक आइडीबाट धार्मिक निन्दासहित उक्त पोस्ट लेखिएपछि मुस्लिम समुदाय आक्रोशित भएको थियो। 

उक्त टिप्पणीबाटै तनाव चुलिएर यही मंगलबार नेपालगञ्जमा दुई समुदायबीच झडपको अवस्था आएको थियो। त्यसपछि त्यहाँ दुई दिनदेखि कर्फ्यु छ। 

तर यता सुरक्षा परिषद्ले भने उक्त फेसबुक स्टाटसबाट मात्रै तनाव नफैलिएको निष्कर्ष निकालेको हो। त्यही निष्कर्षपछि सुरक्षा परिषद्ले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन भनेको हो। 

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .