ad ad

समाज


सुनको जलहरीमा कसरी भयो घोटाला? हेर्नुस् अख्तियारले औंल्याएका यी ८ तथ्य

सुनको जलहरीमा कसरी भयो घोटाला? हेर्नुस् अख्तियारले औंल्याएका यी ८ तथ्य

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १८:३६, काठमाडौँ

पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्दा भएको भनिएको भ्रष्टाचार प्रकरणले ठूलै तरंग पैदा गरेको थियो।

यस प्रकरणमा सत्ता र प्रतिपक्षीबीच चर्काचर्की भएको केही महिनापछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

आमसञ्चार र महालेखापरीक्षकको प्रतिवेदन हुँदै संसद्‍मा समेत यो विषय उठेपछि सत्ता र प्रतिपक्षी गम्भीर आरोप–प्रत्यारोपमा उत्रेका थिए।

आफूमाथि आरोप लगाएको भन्दै प्रतिपक्षी एमालेले केही दिन सदन नै अवरोध गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस प्रकरणमा एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै संलग्नता नरहेको स्पष्टीकरणसमेत संसद्‍मा दिएका थिए।

विवादपछि यो प्रकरण अख्तियारलाई छानबिन गर्न दिने सहमतिमा दलहरु पुगे। साथमा यस विषयलाई फेरि संसदमा नउठाउने तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्‍मा बोलेको कुरा पनि अभिलेखबाट मेट्नेसम्मको सहमति सत्ता र प्रतिपक्षबीच भएको थियो।

त्यसपछि तातेको अख्तियारले पशुपतिनाथको गर्भगृहबाट जलहरी नै झिकेर पुनः नापजाँच गरेको थियो। अन्ततः अख्तियार पनि जलहरीमा घोटाला भएको निष्कर्षमा पुगेका छ, उसले आइतबार विशेष अदालतमा मुद्दा नै दायर गरेको छ। यसमा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँबराबरको हिनामिना भएको अख्तियारको निष्कर्ष छ।

अख्तियारले जलहरी बनाउन पशुपतिको गर्भगृहमा प्रयोग भएकोमध्ये १४ सय ९१.७१८ ग्राम सुन हिनामिना भएको भनेको छ।

यसमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव प्रदीपकुमार ढकाल, कोषाध्यक्ष एवं जलहरी निर्माण समितिका संयोजक एवं तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई दोषी किटान गरेर प्रतिवादी बनाइएको छ।

कहाँकहाँ बदमासी भयो? कसरी गरियो त यो घोटाला? 

अख्तियारले औँल्याएका प्रमुख तथ्यहरु यस्ता छन् :

१. सुनको जलहरी बनाउनेजस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिमार्फत् मात्र कार्य अगाडि बढाउनुपर्ने, त्यसो नगरी सुनसम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट इजाजत नलिएको अनधिकृत व्यक्तिमार्फत् कालिगढको रुपमा काममा लगाएको,

२. नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम (शुद्ध सुन १०२६१४.० ग्राम)को जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा बाँकी रहेको सुनसमेत गरी शुद्ध सुन १०१,०४८.५  ग्राम घटाउँदा १५६५.६ ग्राम शुद्ध सुनको परिमाण कम देखिएको, 

३. नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्डअनुसार ०.०७२५ ले हुन आउने ७३.८८२०८ ग्राम कम हुनु स्वाभाविक मान्न सकिए पनि १४९१.७१८ ग्राम (१ किलो ४९१ ग्राम ७१८ मिलिग्राम) सुन प्रदीप ढकाल र मिलनकुमार थापाले हिनामिना गरेको,

४. २०७७ माघ २९ देखि विभिन्न मितिमा प्राप्त हुन आएका सुनलाई रुद्रगाडेश्वरस्थित नेपाली सेनाको सुरक्षामा श्रीपशुपतिनाथको सुनको पीठिका (जलहरी) निर्माण भइरहेको थियो। फागुन ११ गते राति ८ बजे निर्माण कार्य सम्पन्न भयो भनी मुचुल्का गरियो। त्यही मुचुल्कामा जलहरीका सामानहरुको जोखतौल गरी सम्पन्न भएको र जलहरी बनाएर टुक्राटाक्री अवस्थामा १०९७६ ग्राम सुन बाँकी रहेको लेखिएको छ।

तर फागुन ११ कै राति ११ः०० बजे गरिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई पशुपतिनाथको मन्दिरमा अर्पण गरियो भनी मुचुल्का टुंग्याइसकिएको अवस्थामा बाँकी रहेको सुनका टुक्राहरु रिङ बनाई जलहरीमा लगाइयो भनी वाक्यांश थप गरिएको। यसमा प्रदीप ढकाल र मिलनकुमार थापाको मुख्य भूमिका रहेको।

५. २०७७ फागुन ११ गतेपछि रिङ बनाउने क्रममा कुनै पनि मुचुल्काहरु नगरी अनधिकृत रुपमा रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाली प्रयोगमा ल्याएको, सुनको हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा १४९१.७१८ ग्राम घटाई चाँदी र तामाको मात्रा बढाएको।

६. सुनको जलहरी निर्माणको क्रममा बदनियतपूर्वक हानिनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मूल्य १ करोड १७ ला १ हजार ७८१ रुपैयाँबराबर हिनामिना गरिएको।

७. पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठ कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार व्यक्ति रहेकोमा सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको र जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनबाट रिङमा प्रयोग गरिएको सुनको उचित हिसाब नराखेको, बिनामुचुल्का गैरजिम्मेवार तवरले कार्य गरेको।

८. पशुपतिमा सुनको जलहरी लगाउने कार्यमा अन्य दाताहरुबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख पारदर्शीरूपमा दुरुस्त राख्नुपर्नेमा नराखेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .