ad ad

समाज


अक्टोबर २ मा नबाहिरिने भयो मनसुन, ४ दिनका लागि झन् बढ्यो वर्षाको सम्भावना

अक्टोबर २ मा नबाहिरिने भयो मनसुन, ४ दिनका लागि झन् बढ्यो वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असोज १२, २०८० शुक्रबार २०:३७, काठमाडौँ

नेपालबाट मनसुन (वर्षा गराउने मौसम प्रणाली) औसत मितिभन्दा केही दिन ढिला बाहिरिने भएको छ। बरु आगामी ३/४ दिन देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। आज सेप्टेम्बर २९ तारिख भएकाले उक्त मिति आउन अब २ दिन मात्र बाँकी छ।  

तर यसपटक मनसुन अक्टोबर २ तारिखभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको मौसम महाशहाखाले जनाएको छ। 

हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले आज साँझ ६ बजे विशेष बुलेटिन जारी गरी जानकारी दिएको छ। 

बुलेटिनमा सजग गराउँदै भनिएको छ, ‘यस अवस्थामा, पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्नसक्ने, दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना भएको तथा बाली भित्र्याउने बेला पनि भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।’

हेर्नुहोस् बुलेटिन-

यस वर्ष नेपालमा मनसुन भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिलो जुन १४ तारिख अर्थात् जेठ ३१ गते भित्रिएको थियो। मौसमविद्का अनुसार नेपालको पूर्वबाट भित्रिने मनसुन पश्चिमबाट क्रमश: हट्दै पूर्वबाटै बाहिरिन्छ। 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ। यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। डिसेम्बरदेखि विन्टर (हिउँद) लाग्ने मौसमविद् बताउँछन्।  

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .