ad ad

समाज


चितवनबाट कोशी टप्पु पुगे ‘पुष्पा’ र ‘अञ्जली’

चितवनबाट कोशी टप्पु पुगे ‘पुष्पा’ र ‘अञ्जली’

कोशी टप्पु पुगेका दुई पोथी गैंडा। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १०, २०८० बुधबार ११:४४, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका दुईवटा गैंडा ‘पुष्पा’ र ‘अञ्जली’लाई सप्तरी र सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा पुगेका छन्। उनीहरुलाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पुर्‍याइएको हो। 

चितवन राष्ट्रिय निकुञ्जबाट काठे खोरमा हालेर लगिएका ‘पुष्पा’ र ‘अञ्जली’आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा बनाइएको इक्लोजरमा बस्ने भएका छन्।

उनीहरुलाई केही समय त्यहाँ राखेर घुलमिल गराएपछि आरक्षको क्षेत्रमा छाड्ने तयारी गरिएको छ। 

ती गैंडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी पुगेको हो। 

वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैंडासँगै कोशी पुगेको छ। उनीहरुले त्यहाँ केही दिन उनीहरुको निगरानी गर्ने भएका छन्। 
 

प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि दुई गैंडा लगिएको हो। 

विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो। 
 
सुरुमा यहाँबाट लगिएका दुवै पोथी गैंडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ। कोशीको पथरी सेक्टर कार्यालयनजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टसँगै गैंडा राखिँदैछ। प्रकृतिमा छाड्ने समयमा गैंडा थप गरिने छ।  

केही वर्षअघि उक्त निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो। तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैंडा ल्याउनुपर्ने माग गरेका थिए। त्यहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो। 
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैंडा कोशी पुर्‍याइएको हो।

ती गैंडा चितवन निकुञ्जको तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो। 

तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको छ। अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका छन्। ती गैंडाले अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेकाले पठाइएको हो। 
     
पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ९४ गैंडा रहेको तथ्याङ्क छ। पछिल्लो गणनाका क्रममा यी गैंडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन। 

गणनाअनुसार देशभर सात सय ५२ गैंडा छन्। हाल पठाउन लागिएका गैंडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ। 

निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैंडा पठाइएको थियो। 

यस निकुञ्जबाट सन् १९८६ देखि गैंडा स्थानान्तरण गर्न थालिएको हो। सुरुवातमा तीन भाले र एक पोथी गैंडा पठाइएको थियो। सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैंडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले बताए।

उनका अनुसार सन् १९९१ मा २५, सन् १९९९ मा चार गैंडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो। 

यस्तै सन् २००० मा २० वटा गैंडामध्ये १६ वटा बर्दिया राष्ट्रिय निकुञ्ज र चारवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो। 

सन् २००१ मा पाँच, सन् २००२ मा दस, सन् २००३ मा दस, सन् २०१६ मा पाँचवटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो। 

यस्तै सन् २०१७ मा पाँचवटा शुक्लाफाँटा र तीनवटा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। पठाइएकामध्ये ४५ भाले र ५५ वटा पोथी गैंडा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .