विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ।
सिंहदरबारमा सरकारका चारजना मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको हो।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी छन्।
त्यसैगरी सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित छन्।
आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन्।
गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट छ्न् । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।
आन्दोलनरत पक्ष र सरकारबीच बिहीबार बिहान पनि वार्ता भएको थियो। तर सहमति हुन् नसकेपछि वार्ता भाँडिएको थियो।
Shares

प्रतिक्रिया