ad ad

समाज


राष्ट्रपतिले माफी दिएर ‘गुन्डा नाइके’ छुट्दा उत्सव, गाडीको लस्करसहित कारागारमै पुगे समर्थक

राष्ट्रपतिले माफी दिएर ‘गुन्डा नाइके’ छुट्दा उत्सव, गाडीको लस्करसहित कारागारमै पुगे समर्थक

कारागारबाट छुटेपछि फूलमालासहित देखिएका रिगल। तस्बिरहरू : टिकटकबाट


नेपालखबर
असोज ४, २०८० बिहिबार ११:१८, काठमाडौँ

नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन्।

२०७२ असार २८ गते स्थानीय २९ वर्षीय युवा मानन्धरलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत बाँकेले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

तर ४० प्रतिशत मात्रै सजाय काटेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुको दबाबमा कारागार प्रशासनबाट सिफारिस भएसँगै उनलाई असोज ३ गतेको संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले आममाफी दिएलगत्तै उनी दाङ कारगारबाट छुटेका छन्।

रिगललाई जन्मकैद हुँदा उक्त हत्याकाण्डमा अन्य अभियुक्तहरुलाई पनि ३ देखि १० वर्षसम्मको सजाय भएको थियो।

जेल सजाय हुनुपहिले रिगल कांग्रेसको भ्रातृसंगठन तरुण दलका क्षेत्रीय सभापतिसमेत थिए। सर्वस्वसहित जन्मकैद भोगेका उनलाई ५० प्रतिशत सजाय पूरा गरिनसके पनि आममाफी मिलेको हो। 

राष्ट्रपतिबाट आममाफी दिइएको पत्र प्रशासनमा पुगेलगत्तै रिगलको स्वागतका लागि दर्जनौँ गाडी लिएर उनका समर्थकहरु बुधबार अपरान्ह दाङ कारागार परिसरमा पुगेका थिए। 

रिगल दाङ कारागारबाट निस्किँदै फूलमालाले पुरिएका थिए। भित्रैबाट भव्य बिदाइको व्यवस्था मिलाएर छुटेका गुन्डा नाइके रिगललाई बाहिरसमेत कुनै भीआईपी नेता या मन्त्रीको भन्दा सानो स्वागत थिएन।

गाडीको लावा लस्करसहित आएका समर्थकहरुले रिगललाई फूलमाला र अबिर लगाइदिएका थिए। रिगल बाहिरिएपछि कुनै चुनावमा जितेको उम्मेदवारको भन्दा ठूलो उत्सवको माहोल समर्थकहरुले बनाएका थिए। 

रिगल छुटेपछि उनलाई कम्तीमा दुई दर्जन गाडीको स्कर्टिङ गराएर उनलाई दाङबाट नेपालगन्ज पुर्‍याइएको छ। त्यसरी स्वागत गरिएका दर्जनौँ भिडिओ अहिले टिकटकमा भाइरल भइरहेका छन्।

नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानेर ज्यान लिएपछि रिगलले केही महिना भूमिगत बसेर घटना मिलाउन कोसिस गरेका थिए। तर, कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा मुछिएका उनलाई त्यसबेला कांग्रेसले जोगाउन सकेन।

त्यसपछि उनले २०७२ भदौमा अदालतमा आत्मसर्मपण गरेका थिए। अदालतबाट दोषी ठहर हुनुअघिसम्म तरुण दलका क्षेत्रीय सभापति रहेका उनलाई बुधबार जेलबाट छुट्दा पनि स्वागतमा कांग्रेसका कार्यकर्ता पार्टीको झन्डासमेत बोकेर आएका थिए। 

सजाय 
मानन्धरको हत्यापछि बाँकेका जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले रिगललाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो। 

उक्त फैसला अनुसार अन्य अभियुक्तहरु प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैदको सजाय भएको थियो। अर्का अभियुक्त सोहनसिंह ढकाललाई १० वर्ष, दिपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्ष कैद सजाय तोकिएको थियो।

अन्य अभियुक्तहरु माधव नेपाली, विवाद पाठक, हरि वली, मनिष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई ३/३ वर्षको कैद सजाय तोकिएको थियो। अर्का भियुक्त दीपक केसीले भने सफाइ पाएका थिए। 

त्यसबेला जिल्ला प्रहरी कार्यालय बाँकेले मानन्धर हत्याकाण्डमा मुख्य अभियुक्त रिगलसहित १५ जना विरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दा परेपछि मुख्य अभियुक्त ढकाल फरार थिए। त्यसबेला प्रहरीले गुन्डा नाइकेहरुलाई खोजी–खोजी इन्काउन्टर गर्न थालेपछि उनी भागेका थिए।

तर उनले २०७२ भदौ ७ गते जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका थिए। जिल्ला अदालतको फैसलापछि आफूहरुले न्याय पाएको पीडित चेतन मानन्धरका आफन्तजनले बताएका थिए। तर उनै रिगललाई अहिले आधा सजाय पनि पूरा हुन नपाएको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी मिलेको छ। 

रिगल छुटेपछिको उत्सव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .