लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो।
समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले यस उपन्यासले समाजको वास्तविकतालाई उजागर गरेको बताइन्।
‘समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेख्नुभएको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको छ,’ उनले भनिन्।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए। उनले पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने पनि बताए।
अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताइन्।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले दुई वर्षको अन्तरालपछि आफूले उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।
उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो।
कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० रहेको छ।
Shares

प्रतिक्रिया