ad ad

समाज


सातै प्रदेशमा वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

सातै प्रदेशमा वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २९, २०८० शुक्रबार ७:४५, काठमाडौँ

आज (शुक्रबार) देशभर मौसम बदली र सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले बिहान भने कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सामान्य बदली र देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। 

काठमाडौं उपत्यकाको मौसम
यतिबेला (शुक्रबार बिहान) काठमाडौं उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको मौसमविद्ले बताएका छन्। 

मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो/अपराह्नतिर उपत्यकामा क्षणिक वर्षाको सम्भावना छ। ‘राति पनि काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छ तर दिउँसोको भन्दा कम पानी पर्ने देखिन्छ’, उनले भने।  

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका केही स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिलाई भारी वर्षाको सम्भावना भने कतै देखिएको छैन।  

महाशाखाले आगामी  २४  घण्टा (शनिबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श  पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही  स्थान साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने,  गेग्रान बहाव,  बाढी,  पहिरो,  भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .