ad ad

समाज


धरान–१५ का वडाध्यक्ष भन्छन् : मेयर ‘राजा’ बन्न खोज्दा अशोकले अनाहकमा दुःख पाए

धरान–१५ का वडाध्यक्ष भन्छन् : मेयर ‘राजा’ बन्न खोज्दा अशोकले अनाहकमा दुःख पाए

नेपालखबर
भदौ २४, २०८० आइतबार १०:१०, काठमाडौँ

आफूसँग सवाल–जवाफ गरेकै रिसमा धरान उपमहानगरपालिका वडा नम्बर १५ का युवक अशोक लिम्बुलाई प्रहरीको हिरासत पुर्‍याएकामा वडाध्यक्ष नरेश इवारामले मेयर हर्क साम्पाङको कडा आलोचना गरेका छन्। 

उनकै पहलमा शनिबार साँझ अशोक छुटेपछि आइतबार बिहान नेपालखबरले राखेको जिज्ञासामा वडाध्यक्ष इवारामले ‘मेयर साम्पाङ राजा बन्न खोज्दा’ स्थानीय युवक अशोकले अनाहकमा दुःख पाएको टिप्पणी गरेका हुन्।  

गत शुक्रबार डेंगीविरुद्ध अभियान सञ्चालन गर्दै धरान–१५ पुगेका मेयर साम्पाङलाई अशोकले आफ्ना वडाका जल्दाबल्दा समस्यामा चाहिँ ध्यान नदिएको, डेंगीविरुद्ध अभियान चलाएर फोटो खिचाएको भनी आलोचना गरेपछि नगर प्रहरी लगाएर उनलाई पक्राउ गरिएको थियो।  

‘विचरा (अशोक लिम्बु) ले केही गरेको थिएन, सिधा मान्छेको सिधा कुरा, त्यो मान्छे दुबईबाट आएको रहेछ एक महिनाको छुट्टीमा। उसको घर छेउमा एउटा किड्नीको बिरामी रहेछ। दुवै किड्नी फेल भएको। आमाचाहिँ अपांगता भएको, गरिब मान्छे’, वडाध्यक्ष इवारामले भने, ‘उसको कुरा सही थियो, छिमेकी रहेछ त्यो भाइको। ‘हर्क दाइ! तपाईं यहाँ बिरामी छ, एकपल्ट नआउने, यहीँ माथ्लोपट्टि खानेपानीको पाइप फुटेको नहेर्ने, बत्ती बिग्रेको छ नबनाउने, अनि तपाईं लार्भा (डेंगी फैलाउने लामखुट्टेको) भन्दै फोटो खिच्दै हाल्ने’ भनेर राम्रै कुरा गर्‍या हो। उसलाई बुझाउनुपर्ने हामी जनप्रतिनिधिले।’

तर मेयर साम्पाङ एकैचोटि आवेशमा आएर नगर प्रहरी लगाएर ती युवकलाई पक्राउ गर्न लगाएको उनले बताए। 

‘खानेपानी बोर्डको अध्यक्ष पनि हर्क साम्पाङ आफैँ हो, नगरप्रमुख पनि आफैँ, दुइटै हातमा लड्डु, शक्ति छ, त्यो शक्तिको उपयोग गरिहाले’, वडाध्यक्ष इवारामले भने। 

उनका अनुसार उनको जिम्मेवारीमा धरान इलाका प्रहरी कार्यालयले अशोकलाई शनिबार साँझ ५ बजे रिहा गरेको हो। ‘आवश्यकता परेका बेला हाजिर हुनेगरी जिम्मा लिएर छुटाइयो’, उनले भने।   

जनप्रतिनिधि जनताको शासक होइन, सेवक हो भन्ने नबुझ्दा त्यस्तो घटना भएको उनको टिप्पणी छ। 

‘मानवअधिकारको अर्थ नबुझ्ने, अनि जनप्रतिनिधि शासक होइन, सेवक हो भन्ने नबुझ्ने’, उनले भने, ‘राजा हुन खोजेपछि यस्तै शक्ति र पदको दुरुपयोग गरेर (हिरासतमा) हाल्न लगाए।’ 

यसैबीच मेयर साम्पाङले भने अराजकतालाई लोकतन्त्र भन्न नसकिने टिप्पणी गरेका छन्। 

‘अराजकतालाई लोकतन्त्र भन्दिनु पर्ने हो’, मेयर साम्पाङले भनेका छन्, ‘प्रश्न सोध्ने समय हुन्छ। तरिका हुन्छ। स्थान हुन्छ। विधिको शासन पालना गर्छु र गराउँछु। जनताको दुःख म बुझ्छु।’

 

धरान–१५ का वडाध्यक्ष नरेश इवारामले नेपालखबरसँग व्यक्त गरेको विचार जस्ताको तस्तै

फाइल तस्बिर : धरान–१५ का वडाध्यक्ष नरेश इवाराम

लोकतन्त्रको अर्थ, गणतन्त्रको अर्थ मूल्यमान्यता नबुझ्नले चाहिँ काम अनर्थपूर्ण गर्छ, त्यो थाहै छ। यो विषयमा अहिले धेरै नबोलौँ। मानवअधिकारको अर्थ नबुझ्ने, अनि जनप्रतिनिधि शासक होइन, सेवक हो भन्ने नबुझ्ने, अनि एकात्मकताको अन्त्य कसरी भो? फेरि एकात्मककालको राजा हुन खोजेपछि यस्तै शक्ति र पदको दुरुपयोग गरेर (हिरासतमा) हाल्न लगाए।

विचरा (अशोक लिम्बुले) केही गरेको थिएन, सिधा मान्छेको सिधा कुरा, त्यो मान्छे दुबईबाट आएको रहेछ एक महिनाको छुट्टीमा। उसको घर छेउमा एउटा किड्नीको बिरामी रहेछ। दुवै किड्नी फेल भएको। आमाचाहिँ अपांगता भएको, गरिब मान्छे। उसको कुरा सही थियो, छिमेकी रहेछ त्यो भाइको। हर्क दाइ! तपाईं यहाँ बिरामी छ, एकपल्ट नआउने, यहीँ माथ्लोपट्टि खानेपानीको पाइप फुटेको नहेर्ने, बत्ती बिग्रेको छ नबनाउने, अनि तपाईं लार्भा (डेंगी फैलाउने लामखुट्टेको) भन्दै फोटो खिच्दै हाल्ने भनेर राम्रै कुरा गर्‍या हो। उसलाई बुझाउनुपर्ने हामी जनप्रतिनिधिले। बुझाउन नसकेर डाइरेक्ट आवेशमा आएर...।

उसको सुझाव सकारात्मक छ, खालि नगरप्रमुख महाराज! भन्न बिर्सेछ। ‘हर्क दाइ’ भन्यो। नगरप्रमुख हुनुभन्दा पहिला हर्क साम्पाङ र अशोक लिम्बु एउटै अभियानमा रहेछन्। त्यही भएर ‘हर्क दाइ, हर्क दाइ’ भन्ने बानी रहेछ त्यो भाइको। हर्कजी टेम्पु व्यवसायी भएकाले कताकता हिँडिरहने, ल्याङ्वेज पढाउने मान्छे पनि हुन्– विभिन्न खालको बौद्धिक मान्छे हुन्। अनि उनीहरू भेटघाट रछ।

दुबईबाट आएको मान्छे, उन (हर्क) को सपोर्टर नै रहेछ (अशोक)। साह्रै रिस उठेछ, खानेपानी बोर्डको अध्यक्ष पनि हर्क साम्पाङ आफैँ हो, नगरप्रमुख पनि आफैँ। दुइटै हातमा लड्डु। शक्ति छ, त्यो शक्तिको उपयोग गरिहाले। अब पानी बिग्रेको थ्यो त– ठीकै छ भाइ, मलाई थाहा थिएन, म भन्दिन्छु भन्दा त भइहाल्थ्यो नि, त्यो भाइले कुरो बुझिहाल्थ्यो। अनि बल्ब बनेन भने वडासँग समन्वय गर्ने, म भन्दिहाल्छु नि भन्दा भइहाल्थ्यो नि। अनि बिरामीको कुरामा– ठीक छ, बिरामी रहेछन्, म हेरुँला नि त, आज भ्याइएन, अर्काे दिन। डेंगुको महामारी छ भनेर भन्दा भइहाल्थ्यो नि।   

‘कार्यक्रम बिथोल्ने तिमी, को हो तिमी को हो?’ भनेपछि रिस उठिहाल्छ जसलाई पनि। 

म पनि वडाध्यक्ष हो, मलाई भोट द्योस् नद्योस् १५ नम्बर वडाको ३० हजार जनताको प्रतिनिधि म भएपछि मलाई ३ हजार ६ सय मत आयो, भोटलिस्टचाहिँ १५ हजार छन्, तर मैले ३६ सयको मात्रै नेतृत्व गर्ने होइन, १५ हजार मतदाता र ३० हजार जनताको नेतृत्व मैले गर्ने हो नि त। सबै खालका मान्छे एकै हुन् नि त मैले हेर्दा। लिम्बुलाई, बाहुनलाई अनि दलितलाई...फरक फरक धर्मलाई फरक फरक व्यवहार गर्न त हुँदैन। विदेशबाट आको युवक, ठाडै बोल्यो भनेर नगर प्रहरीलाई हाल भनेर भनियो। अब नगरप्रमुख, सरकार प्रमुखले भनेपछि प्रहरीले लगेर हाल्दियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .