ad ad

समाज


नगर प्रहरीलाई मेयर शाहको निर्देशन- बुद्धि, विवेक पुर्‍याएर काम गर्नू

नगर प्रहरीलाई मेयर शाहको निर्देशन- बुद्धि, विवेक पुर्‍याएर काम गर्नू

नेपालखबर
भदौ १४, २०८० बिहिबार १७:४९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन्।

बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन्। 

संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गर्दै उनले नगर प्रहरीलाई हिम्मतले काम गर्नपर्ने बताए। 

उनले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताए। 

‘एउटा मात्रै व्यक्तिमा बुद्धि–विवेक, इमान्दारिता र हिम्मत तिनवटै गुण भएको खासै पाइदैनँ। यो तिनवटै गुण राखेर काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भुमिका निभाउनुभएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘साथसाथै नगर प्रहरी बलले बुद्धि–विवेक पुर्‍याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्‍याउनुहोला। संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला। हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला।’ 

महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गालाई संरक्षण गर्ने क्रममा १५० रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाका सबै क्षेत्रहरुमा पार्किङको व्यवस्थापन गर्न नगर प्रहरी लागिपरेको थियो,’ उनले भने, ‘साथसाथै सुशासनको क्रममा अवैधानिक व्यापारहरू, अवैध संरचनाहरू हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरी नै यो कुरा निर्णय गर्न सफल हुनुभएको छ । तपाईहरुले देशलाई नै उदाहरण दिन सक्षम हुनुभएको छ । त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु।’

काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए।

‘इमान्दार त सधैँ हुनु नै पर्नेछ। यसरी नै बितेको वर्षमा तपाईहरुले काम गर्नुभएको छ । त्यसको लागि म लगायत हामी सबै जनप्रतिनिधिहरु धेरै नै खुशी छौँ। यसरी नै खुशी राखिरहनु होला। हाम्रो नगर प्रहरी बलले कुनैपनि नातावाद, कृपावाद र कुनैपनि राजनीतिक दबाब बिना काम गरिरहेको छ,’ मेयर शाहले भने, ‘सुशासनको लागि कुनैपनि राजनीतिक दबाब बिना नै काम गर्न सफल भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि यसरी नै कुनै राजनीतिक दबाबमा नआइकन काम गरिदिनु भयो भने नेपाल प्रहरी, हाम्रो नगर प्रहरी, सशस्त्र प्रहरी, सिडिओ कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौँ। यहाँहरूले पनि यो चिजमा ध्यान दिनुभयो भने हामी सबै मिलेर काम गर्न सक्छौँ। सहकार्यमा काम गर्नसक्छौँ।’

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआइकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .