समाज


प्राडा अधिकारी एक सातादेखि सम्पर्कविहीन

प्राडा अधिकारी एक सातादेखि सम्पर्कविहीन

नेपालखबर
भदौ ७, २०८० बिहिबार १४:१९, काठमाडौँ

काठमाडौंको बूढानीलकण्ठ निवासी प्राध्यापक डा. दलबहादुर अधिकारी एक सातादेखि सम्पर्कविहीन छन्।

बूढानीलकण्ठ नगरपालिका–१ स्थित पञ्चकन्या कोलोनी निवासी अधिकारी साउन ३२ गते बिहान ११ बजे मुहानपोखरीतर्फ निस्किएका थिए। अधिकारीलाई अल्जाइमर (बिर्सने ‍रोग) छ।

‘बुबा ११ बजेतिर निस्किनु भएछ, त्यसपछि फर्कनु भएन’ प्राडा अधिकारीकी छोरी बन्दनाले भनिन्, ‘त्यसपछि खोजिरहेका छौं। सामाजिक सञ्जालमा समेत कसैले भेटे देखे सम्पर्क गरिदिनु हुन अनुरोध गरेका छौं। अझै कुन अवस्थामा हुनुहुन्छ भन्ने जानकारी छैन।’

परिवारको आग्रहअनुसार अधिकारीको खोजीमा आफन्त, छरछिमेक, उनले अध्यापन गराएका विद्यार्थी लागिपरेका छन्। प्रहरीमा पनि अधिकारी हराएको जानकारी गराइएको छ।

साउन ३२ गते अधिकारी बिहान ११ बजेतिर घरको गेटबाट निस्केका हुन्। अल्जाइमर रोगी अधिकारी कोलोनी भित्रमात्र हिँडडुल गर्ने गर्थे। बिहानै मर्निङ वाक गरे पनि बुबाले त्यो बिर्सिएर हिँडेको हुन सक्ने बन्दनाले बताइन्। सीसीटीभी फुटेज अनुसार त्यस दिन उनी साढे १२ बजे शिवपुरी जाने बाटोमा देखिएका थिए।

गहुँगोरो वर्ण, जन्मजात ओठ फाटेका दलबहादुरले घरबाट निस्कँदा हल्का सेतो सर्ट, खरानी रङको सुरुवाल र कालो मोजा लगाएका थिए।

‘मेरो बुबालाई बिर्सने रोग छ, व्यक्ति र ठाउँ चिन्न सक्नु हुन्न। त्यहीकारण उहाँ फर्केर आउन सक्नुभएको छैन। कसैले देखेमा हामीलाई खबर गरिदिनुहोला भनेर विभिन्न माध्यमबाट आग्रह गरिरहेका छौं,’ बन्दनाले भनिन्।

प्राध्यापक अधिकारी त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक हुन्। उनले लामो समय त्रिचन्द्र क्याम्पस र त्यसपछि काठमाडौं विश्विविद्यालयमा अध्यापन गराएका थिए।

उनी नेसनल कलेजका चियरम्यान थिए। गणित विषयका विज्ञ उनका केही किताब प्रकाशित छन्। अधिकारीले रुसबाट गणितमा विद्यावारिधी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad