नेपाल पत्रकार महासंघले नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता सौरभ यादवलाई स्थानीय केही युवकहरूले निर्घात कुटपिट गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
भाद्र १ गते शुक्रबार पत्रकार यादवलाई ती युवकहरूले टेलिफोन गरेर सप्तरीको राजविराजस्थित राजदेवी चोकमा बोलाएर निर्घात कुटपिट गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ।
‘कुनै पनि बहानामा पत्रकारमाथि कुटपिट हुनु प्रेसविरोधी काम हो’ महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा विशेष ध्यान दिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ।’
यसैगरी केही दिनयता डोटीको पत्रकारिता क्षेत्रलाई असर पुर्याउने गरी जिम्मेवारी राजनीतिक दलका जिल्ला नेतृत्व तहमा बसेका तथा स्थानीय निकायका जिम्मेवार व्यक्तिले राजनीतिक आग्रह र पूर्वाग्रही भई सामाजिक सञ्जाफमार्फत अनावश्यक र अर्मादित टीकाटीप्पणी भइरहेकोप्रति पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘अभिव्यक्ति स्वतन्त्रताको नाममा कुनै पनि पक्षलाई आघात पुग्ने गरी अस्वस्थ्य र अमर्यादित ढंगबाट सामाजिक सञ्जालमा प्रस्तुत हुनु अत्यन्त निन्दनीय, अशोभनीय र अनुचित काम हो’ महासंघले भनेको छ।
Shares

प्रतिक्रिया