ad ad

समाज


बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटे, १८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटे, १८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
साउन ३१, २०८० बुधबार २०:२६, काठमाडौँ

ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन्।

जिल्ला अदलात काठमाडौंले बुधबार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बुधबार म्याद थपका लागि उनीहरुसहित २० जनालाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। दुवै जनाले न्यायाधीश समक्ष आफू वृद्ध रहेको र रोगी पनि रहेको भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए।

असार १२ गते नै पक्राउ परेका गौतम सुरुदेखि नै अस्पतालमा थिए। उनी गम्भीर बिरामी पनि हुन्। नियमित औषधि सेवन गर्छन्।

यस्तै घिमिरे पनि ७५ वर्ष माथिका हुन्। उनी अस्पतालमा नभएपनि आफू बृद्ध रहेको भन्दै न्यायाधीश समक्ष अनुरोध गरेका थिए।

यससँगै बालुवाटार जग्गा प्रकरणमा ५ जना थुनाबाहिर र १८ जना थुनामा रहेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

यो मुद्दामा सीआईबीले अनुसन्धान गरेको ५१ दिन पुगिसकेको छ। अब केही दिनमा प्रहरीले अनुसन्धान टुंग्याउने छ। मुद्दा अदालतमा बुझाउँदा भने हाल थुनाबाहिर रहेका ५ जनालाई पनि सँगै लगिने छ। अदालतले सोही शर्तमा रिहा गर्न भनेको छ।

यसअघि तीन जनालाई रिहा गरिएको थियो।  समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, सिद्धिका खेतान र सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ। उनीहरु ५१ दिनदेखि हिरासतमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .