नेपाल चिकित्सक संघले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले डा रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ।
संघघले आज प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई सीआइबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको मागसमेत गरेको छ।
सङ्घका आजीवन सदस्य डा यादवलाई सिआइबीले चिकित्सकविरुद्ध चलाएको ‘अपरेसन फोक्सट्रोट’मा गत साउन २५ गते पक्राउ गरेको थियो। सीआइबीले एसएलसी र प्लस टूको मार्कसिटमा कीर्ते गरेर नम्बर थपघट गरेर एमबीबीएस अध्ययन गरेका नक्कली चिकित्सकमाथि अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरेको थियो।
‘कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्याउने तथा चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ’, प्रेस विज्ञप्तिमा उल्लेख छ। रासस
Shares
प्रतिक्रिया