ललितपुरको बुङ्मतीस्थित बालबालिका हेरचाह केन्द्रका सञ्चालक बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन्।
हुम्लाको सिमिकोट गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मतीमा ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्ने ४१ वर्षीय दत्तसिंह बुढालाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो।
उनले गत असारदेखि साउन २६ गतेसम्म सोही चाइल्ड केयरमा बस्ने ८ वर्षीया बालिकालाई संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा समाउने, सुमसुम्याउने गरेको र बालिकाले अस्वीकार गर्दा दत्तसिंहले उनलाई निलडाम हुने गरी कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ।
शारिरीक यातना दिई बालयौन दुरुपयोग गरेको जाहेरी दरखास्तका आधारमा ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्तसिंह बुढालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
आइतबार उनलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ।
पीडित बालिकालाई संरक्षण गृहमा राखिएको छ।
Shares
प्रतिक्रिया