सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई छाडिएको छ।
उनलाई विमानस्थल अध्यागमन कार्यालयले आज (शनिबार) बिहान छाडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
‘खोजेका बेला उपस्थित हुने सर्तमा अध्यागमनले उनलाई बिहान ११ बजे रिहा गरेको हो’, उनले भने।
सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि भनेर ३० वर्षीय रोहनलाई शुक्रबार पक्राउ गरिएको थियो।
अदुकियालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले अध्यागमन विभागमा पत्र पठाएको थियो।
राजस्वको पत्रअनुसार अध्यागमनले अदुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो।
तर उक्त प्रकरण अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई अध्यागमनले छाडिदिएको हो।
सुन तस्करी प्रकरणमा आफूहरूको खोजीको सूचीमा नरहेको भन्दै राजस्व र सीआईबी दुवैले उनलाई जिम्मा लिन अस्वीकार गरेका थिए।
त्यसपछि विमानस्थल अध्यागमन कार्यालयमै लगिएका रोहनलाई आज बिहान रिहा गरिएको हो।
Shares
प्रतिक्रिया