ad ad

समाज


कञ्चनपुरमा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

कञ्चनपुरमा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार ८:१२, कञ्चनपुर

कञ्चनपुरको स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गएराति सकुशल उद्धार गरिएको छ। 

भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र  ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो। चुरे क्षेमा अत्यधिक वर्षा हुँदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका उनीहरु फसेका हुन्।

नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति डोरीको सहायताले उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले जानकारी दिए।

‘भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ,’ उनले भने, ‘नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भएपनि सकुशल उद्धार गर्न सफल भयौँ।’

यसैबीच शुक्लाफाँटा –१२ तिलकीमा गएराति दोदा नदीमा आएको बाढीले स्थानीय किसानले लगाएको सखरखण्ड, धान र उखु बालीमा क्षति गरेको छ। 

नदीको बाढीले पटान गर्दा किसानले लगाएको बालीमा क्षति पुगेको विपद् व्यवस्थापन समिति तिलकीका अध्यक्ष मङ्गलप्रसाद चौधरीले जानकारी दिए।

चौधरीका अनुसार दुई दर्जन बढी किसानले पाँच बिघा जग्गामा लगाएको सखरखण्ड, सात बिघामा लगाएको धान र आठ बिघामा लगाएको उखुखेतीमा बाढी पसेपछि बगरमा परिणत भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .