ad ad

समाज


सरदर स्थान आसपास आयो मनसुनको रेखा, मंगलबारसम्म वर्षाको सम्भावना

सरदर स्थान आसपास आयो मनसुनको रेखा, मंगलबारसम्म वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन १४, २०८० आइतबार ६:५९, काठमाडौँ

वर्षाको मात्रा तुलनात्मक रूपमा बढेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनको न्यून चापको अक्षीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान आसपास आएकाले हिजोअस्तिको तुलनामा अहिले वर्षा हुने क्रम केही बढेको हो। 

यसअघि उक्त रेखा सरदर स्थानभन्दा दक्षिणतिर थियो। न्यून चापको अक्षीय रेखा सरदर स्थानभन्दा दक्षिण सर्दा नेपालबाट अझ टाढा हुने भएकाले बदली र वर्षा केही कम हुने र उत्तरतिर सर्दा त्यो रेखा नेपालतर्फ नजिकिने भएकाले यहाँ बदली र वर्षाको मात्रा बढ्ने हुन्छ। 

‘मनसुनको न्यून चापको अक्षय रेखा एउटा काल्पनिक रेखा हो, भारतका कलकत्ता, अल्लाहवाद र गंगानगर क्षेत्रलाई उक्त रेखाको सरदर स्थान मानिन्छ’, उनले भने, ‘अहिले यो रेखा दक्षिणबाट सरेर सरदर स्थान आसपास आएकाले नेपालमा तुलनात्मक रूपमा वर्षा बढेको हो।’

मौसमविद् प्रधानांगका अनुसार अहिले (आइतबार बिहान) पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

‘यतिबेला गण्डकी, लुम्बिनीको पूर्वी भाग, कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ’, उनले भने, ‘काठमाडौं उपत्यकामा भने यतिखेर वर्षा भएको देखिन्न, दिउँसोचाहिँ हुने सम्भावना छ।’

मौसम महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ, ‘कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। मेघगर्जन/चट्याङसहित भारी वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाका अनुसार आज बिहानदेखि मंगलबार रातिसम्म देशभर विभिन्न स्थानमा वर्षा जारी रहने देखिएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबारसम्म यस्तो छ वर्षाको सम्भावना

साउन १४ गते आइतबार (आज)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

साउन १५ गते सोमबार
दिउँसो : देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

साउन १६ गते मंगलबार
दिउँसो : देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .